पोखरा, २८ जेठ – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि २४ घण्टा समय दिएर आह्वान गरेकी छन् । जेठ २९ गते दिनको ३ बजेसम्म भित्र संविधानको धारा १६८ उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वाना गरेकी हुन् ।
बैशाख २९ गते संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत नपाएसँगै पदमुक्त भएका थिए । ६० सदस्यीय प्रदेश सभामा उनले जम्मा २७ मत पाएका थिए । मुख्यमन्त्री पदमुक्त भएको खबर शुक्रबारमात्रै प्रदेश कार्यालयमा पुगेको सचिवालयले जनाएको छ ।
पत्र प्राप्त भएको २४ घन्टामात्रै समय दिएर उनले नयाँ सरकार गठनका लागि समय दिएकी हुन् । यसअघि बैशाख २६ गते अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । त्यतिबेला प्रदेश प्रमुखले ७२ घन्टे समय दिएकी थिइन् ।
उक्त समयवधिमा विपक्षी गठबन्धनले बहुमत पेश गर्न नसकेको भन्दै पुनः गुरुङलाई नै मुख्यमन्त्रीमा दोहो¥याएकी थिइन् । गुरुङ सरकारको विकलपमा विपक्षीले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्र्रस्ताव गरेका छन् । विपक्षी गठबन्धनले बहुमत पु¥याएर आजै प्रदेश प्रमुखकोमा जाने योजना बनाएको वताएका छन् ।






