बागलुङ, २९ जेठ– बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ध्रुव बहादुर केसीले नगरको प्रशासनिक भवनमा ताला लगाउने चेतावनी दिएका छन् । वडा नं. ४ मा रहेको कुँडुले माविको भवन निर्माणका विषयमा विवाद भएपछि केसीले तालाबन्दी गर्ने चेतावनी सामाजिक संजाल फेसबुकमार्फत दिएका हुन् ।
केसीले प्रमुख प्रशासकीय अधिकृतलाई पदमा नबस्न भन्दै उनी र लेखा अधिकृतको कार्यकक्षमा तालावन्दी गर्ने भन्दै धम्किपुर्ण अभिव्यक्ति सार्वजनिक गरेका हुन् । बिहिबार बागलुङ नगर कार्यपालिकाको बैठकमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्र्तगत उक्त विद्यालयमा विनियोजित बजेट कार्यान्वयनका बिषयमा केसी र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीबीच विवाद भएको थियो ।
स्रोतका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत कार्यक्रम कार्यान्वयन हुनुपर्ने भएपनि केसीले उपभोक्ता समिति गठन गरेर योजना सम्झौताका लागि दवाव दिँदै आएका थिए । केसीको अनुरोध अनुसार काम गर्न नसकिने भन्दै प्रमुख प्रशासकीय अधिकृतले कानुन बाहिर गएर काम लगाउने अधिकार जनप्रतिनिधिलाई नभएको बताएका थिए ।
‘विधिभन्दा बाहिर गएर मैले काम गर्न सक्ने कुरा भएन’ ज्ञवालीले भने ‘उहाँहरुले विधि पु¥याएर आउँदा मैले काम रोक्ने कुरा हुँदैन् ।’ बैठक सकिएको केही समयपछि फेसबुकमार्फत केसीले ज्ञवालीको व्यवहार नसुध्रिए उनको कार्यकक्ष र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने भन्दै धम्कीपूर्ण भाषामा स्टाटस लेखेका छन् । ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्र्तगत कुँडुले माविमा भवन निर्माणको लागि चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ विनियोजन भएको छ ।
विद्यालय व्यवस्थापन समिति (विव्यस)ले योजना बनाएर नआएको भन्दै नगरपालिकाले उक्त बजेटको पहिलो किस्ताको रकमसमेत निकासा रोकेको छ । गत असारमा विव्यसको कार्यकाल सकिएको र नयाँ समिति गठन नभएकाले उपभोक्ता समितिमार्फत काम गर्न पाउनुपर्ने केसीको माग छ । केसी र विव्यस तथा विद्यालयका प्रधानाध्यापकको बिचमा बेला बेलामा विवाद आउने गरेको छ ।
‘विव्यस निक्रिय छ, उपभोक्ता समितिमार्फत जाउँभन्दा कानुनी कुरा गरेर मेरो अपमान गरियो’ केसीले भने ‘कार्यपालिका बैठकको कार्यसूचिमै नभएको विषय प्रबेश गराएर काम हुन नदिने गरी कुरा आए ।’ गत असोज महिना पछि व्यवस्थापन समितिको बैठक बस्न नसकेकाले त्यो समिति निस्क्रिय भएको केसीको दावी छ । उनले यसअघिका प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गरेका र बजेटमार्फत रातो कितावमा परेका योजनामा समेत प्रमुख प्रशासकीय अधिकृतले भुक्तानीमा आनाकानी गर्ने गरेको आरोप लगाए । विद्यालयको योजना पनि उपभोक्ता समितिमार्फत हुनुपर्नेमा उनको जोड छ ।
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ कार्यविधिको बुँदा नं. ६ (कार्यक्रम कार्यान्वयन बिधिको ८) भनिएको छ ‘छनौट भएका सार्वजनिक शैक्षिक संस्थाहरुको पूर्वाधार विकाससँग सम्बन्धित कार्यहरु विद्यालय व्यवस्थापन समितिको निर्णयबाट उपभोक्ता समिति वा ठेक्कापट्टाद्वारा कार्यान्वयन गर्नु गराउनुहुन ।’ यही बुँदालाई आधार मानेर कार्यालयले योजना सम्झौतामा आनाकानी गरिरहेको छ ।
‘एक महिनाअघि हुनुपर्ने काम रोकेर राखेका छन्, कोभिड महामारी नियन्त्रणमा पनि प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरे’ केसीले ढोरपाटनसँग भने ‘जनप्रतिनिधिको अपमान भएपछि म आक्रोशित भएर अभिव्यक्ति दिएकै हो ।’ उनले ताला लगाउने बिषयमा भने सरसल्लाह भैरहेको बताए ।
बागलुङ नगरपालिकामा १९ विद्यालयमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्र्तगत बजेट विनियोजन भएको छ । जसमध्ये १८ विद्यालयले सम्झौता गरेर भुक्तानी लिएका छन् । यस कार्यक्रमअन्र्तगत बजेट पाउने बिद्यालयका लागि कार्यसम्पादनका आधारमा तीन किस्तामा भुक्तानी हुन्छ । सरकारले पठाउने बजेटको कार्यान्वयन सम्बन्धित स्थानीय तहले गर्ने व्यवस्था छ ।





