पोखरा, ३० जेठ– नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली पहिलो पटक वैशाख २ गते औपचारिक रुपमा मुख्यमन्त्रीको उम्मेदवार बने । कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजावादी पार्टीको गठबन्धन बनाएर तत्कालिन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध उनले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा चार दलीय गठबन्धनको तर्फबाट उनलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।
अविश्वास प्रस्तावमा मतदान गर्ने बेला अचानक सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक स्थगित गरिदिए । त्यसपश्चात मुख्यमन्त्रीबाट गुरुङले राजिनामा दिए । अविश्वास प्रस्ताव पारित गरेर मुख्यमन्त्रीमा निर्वाचित बन्ने नेपालीको धोको अधुरो रह्यो ।
मुख्यमन्त्रीबाट राजिनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ उपधारा २ अनुसार बहुमतको सरकार गठन गर्न आह्वान गरिन् । नेपाली फेरी मुख्यमन्त्रीका उम्मेदवार बने । ४ दलीय गठबन्धनले पार्टीको समर्थन पत्र बोकेर नेपालीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरे ।
पार्टीको निर्देशन विपरित जनमोर्चाका सांसद कृष्ण थापाले मुख्यमन्त्रीका उम्मेदवार नेपालीलाई आफ्नो समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाए । त्यही पत्रलाई मान्यता दिएर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा फेरी एमाले नेता गुरुङलाई नै नियुक्त गरे । संविधानको धारा १६८ उपधारा ३ ठुलो दलका नेताका हैसियतमा गुरुङ मुख्यमन्त्री नियुक्त भएपछि नेपालीको मुख्यमन्त्री बन्ने दोस्रो प्रयास पनि असफल भयो ।
ठुलो दलका नेताका हैसियतले मुख्यमन्त्री नियुक्त गुरुङले सोही धाराको उपधारा ४ अनुसार ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपथ्र्यो । उनले गत २७ गते मागेको विश्वासको मतमा बहुमत जुट्न सकेन । प्रदेश प्रमुखले फेरी संविधानको सोही धाराको उपधारा ५ अनुसार बहुमत जुटाउन सक्ने सांसदलाई मुख्यमन्त्री दाबी गर्न आह्वान गरिन् ।
मुख्यमन्त्री बन्ने नेपालीको चाहना पुरा गर्ने यो अन्तिम बाटो थियो । विपक्षी गठबन्धनले बहुमत जुटाउन हरसम्भव प्रयास गरेका थिए । जसको प्रतिफल गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेका दीपक मनाङेलाई नै आप्mनो कित्तामा ल्याउन सफल भए । मनाङे आउनुअघि सत्तापक्ष र विपक्षी दुबै अल्पमतमा थिए, यसको विकल्प संसद विघटन मात्र रहेको दुबै पक्षका सांसदले बताउन थालेका थिए ।
जब संसदबाट मुख्यमन्त्रीमा गुरुङले विश्वासको मत पाएनन्, त्यसपछि राजनीतिक घटनाक्रम फेरियो, मनाङे कांग्रेस गठबन्धनमा आए । जसले मुख्यमन्त्रीमा नेपालीलाई निर्णायक मत दिए । यसरी तेस्रो पटकको प्रयासबाट नेपाली मुख्यमन्त्री नियुक्त भए ।
प्रदेश प्रमुखको कार्यालयमा शनिबार जनमोर्चाका थापा र जनता समाजावादी पार्टीले मुख्यमन्त्रीमा गुरुङलाई नै समर्थन गरहेको पत्र दिएका थिए । तर जसपाका सांसदद्धय हरिशरण आचार्य र धनमाया लामा पोखरेल विपक्षी गठबन्धनमा थिए । गठबन्धनले बहुमत ३१ सांसद सहित शनिबार प्रदेश प्रमुख कार्यालय अगाडि मुख्यमन्त्री नियुक्ति माग्दै धर्ना दिएका थिए ।
एमाले नेता गुरुङले मुख्यमन्त्रीमा फेरि दाबी गरेको जानकारी पुगेपछि उनीहरु धर्ना दिन पुगेका थिए । सदन विघटन गर्न मुख्यमन्त्री लागेको आरोप लगाउँदै उनीहरुले असंवैधानिक कदम चालिएमा राजनीतिक र कानुनी लडाइँ लड्ने बताइरहेका थिए । साँझ पर्दै जाँदा सांसदसहित पुगेका विपक्षी गठबन्धनका कार्यकता नाराबाजी गर्न थालेका थिए ।
सडकमा धर्ना बसिरहेकै अवस्थामा मुख्यमन्त्री नियुक्त भएको सूचना पाएपछि मात्रै नेपाली सहित अन्य सांसद उठे । कार्यकर्ताले नाराजुलुस लगाउन छाडेर खुशीयाली मनाए ।
उनको समर्थनमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुख बाहेक) जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ जना सांसद सदनमा मात्रै नभई सडकमै उत्रिएका थिए ।
नवनियुक्त मुख्यमन्त्री नेपाली सहित मन्त्रीहरुमा काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले शनिबार नै सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई कुन जिम्मेवारी दिने सहमति भइनसकेका कारण तत्कालका लागि बिना विभागीय मन्त्री बनाएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।
प्रदेश प्रमुखले शुक्रबार सरकार गठन गर्न आह्वान गरेपछि शुक्रबार नै नेपाली सहित विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेर मख्यमन्त्री दाबी गरेका थिए । शनिबार सत्तारुढ एमालेले पनि मुख्यमन्त्री दाबी गरेका थिए, जुन प्रदेश प्रमुखले उल्लेख गरिनन् । एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री दाबी गरेको खबर पाएपछि विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुख निवास अगाडि धर्ना बस्न पुगेका थिए ।
गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले समर्थन गर्ने पत्र सहित मुख्यमन्त्रीमा दाबी गरेको उल्लेख गरेका थिए । जबकी, थापालाई जनमोर्चाले फेरी सांसद पदबाट मुक्त गरिसकेको छ भने जसपाका २ जना सांसद नै विपक्षी गठबन्धनमा उत्रिएका थिए ।
यही जेठ २७ गते मात्र संसदबाट विश्वासको मत पाउन नसकेका गुरुङले यसरी फेरी मुख्यमन्त्रीमा दाबी गरेको भन्दै विपक्षी गठबनधन आक्रोशित बनेका थिए । उनीहरुले सडकमा धर्ना दिएर असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक दाबी भनेर आलोचना गरेका थिए ।
प्रदेश प्रमुख निवासअगाडि धर्नामा बसेका सांसदहरु समेत अब प्रदेश सभा विघटनतर्फ जान सक्ने भन्दै कानुनी लडाई लड्ने बताइरहेका थिए । प्रदेश प्रमुख पौडेलले पनि आवश्यक निर्णय दिन ढिलाई गरिरहेको थियो । तर साँझ विपक्षी गठबन्धनका कार्यकर्ताले नाराबाजी गर्न थालेपछि एक्कासी मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गरेको जानकारी प्रदेश प्रमुखले गराइन् ।
उक्त जानकारी पाएपछि धर्नाबाट नवनियुक्त मुख्यमन्त्री नेपालीसहित सांसदहरु उठे । कार्यकर्ताले नाराबाजीका ठाउँमा नेपालीलाई बधाइ दिन थाले ।
मुख्यमन्त्रीमा एमाले नेता गुरुङको दाबी के भयो त ? गुरुङ निकट एमाले सांसद धनञ्जय दवाडीले मुख्यमन्त्रीमा आप्mनो पार्टीबाट दाबी नै नगरेको बताए । ‘हाम्रा सांसद यति जना छौं, भनेर हामीले प्रदेश प्रमुखलाई जानकारी गराएका हौं,’ उनले भने । जबकी, गुरुङकै मन्त्री विकास लम्सालले समेत सरकारमा आफुहरुको दाबी रहेको शनिबार दिउँसो जानकारी गराएका थिए ।
अन्तिममा आफ्नैले छाडे साथ
सरकारको दाबीबाट एमाले नेता गुरुङ पछाडि हट्नुमा माधव नेपाल पक्षले दिएको चेतावनी कारक मानिएको छ । गण्डकी प्रदेशका नेपाल पक्षका एकमात्र सांसद इन्द्रलाल सापकोटाले प्रदेश सभा विघटनतर्फ गए आप्mनो समर्थन नरहने र विद्रोह गर्ने चेतावनी गुरुङलाई दिएका थिए ।
‘मैले विश्वासको मत लिँदा पनि तपाईलाई समर्थन जनाएकै हो, विघटनको बाटोमा लाग्नुभयो भने साथ दिन सक्दिन’, सापकोटाले गुरुङलाई भनेका थिए, ‘प्रदेश सभा विघटन भयो भने तपाईकै हाइट पनि घट्छ, असंवैधानिक पनि हुने भएकाले यस्तो बाटोमा नजानुस्, जानु भयो भने म विद्रोह गर्छु ।’
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा दाबी गर्न दिएको समय सकिएर विपक्षी गठबन्धन सडकमा धर्ना बसिरहेका बेला सापकोटाले मुख्यमन्त्रीलाई आप्mनो धारणा बताएका थिए । उनले एमाले गण्डकीका संसदीय दलका मुख्य सचेतक मायनाथ अधिकारीलाई पनि उक्त जानकारी दिएको बताए ।
‘केन्द्रमा जे भएपनि यहाँ मैले मुख्यमन्त्री ज्युलाई साथ दिएकै हो, कहीं कतै अब्जेक्सन गरेको छैन’, सापकोटाले ढोरपाटनलाई भने, ‘विघटनको बाटोमा जान नदिन मैले आप्mनो पोजिसन भन्नैप¥यो ।’ प्रदेश सभा विघटन भए विपक्षी गठबन्धनसँगै आफु पनि आन्दोलनमा जान बाध्य हुने उनले बताएका थिए ।
माधव नेपाल पक्षका एकमात्र सांसद सापकोटाले उक्त अडानमा आफु सहित चार जना एमाले सांसद रहेको दाबी गरे । सापकोटासँग उक्त अडानमा यसअघि ओली पक्षका सांसद मानिएका रोशन गाहामगर र महेन्द्र थकाली पनि रहेको उनले बताए ।
आप्mनै पार्टीभित्र विग्रह देखिने भएपछि गुरुङले मुख्यमन्त्रीको दाबीबाट पछाडी हटेको बताइएको छ । त्यसपछि गुरुङले प्रदेश प्रमुख पौडेललाई फोन गरेर जबरजस्ती सत्तामा बस्न नचाहेको भन्दै संविधान अनुसार नै निर्णय गर्न आग्रह गरेको गुरुङको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीका २ निर्णय
नवनियुक्त कृष्णचन्द्र पोखरेल नेपालीले कार्यभार सम्हालेसँगै २ वटा निर्णयमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीस्तरीय निर्णयमा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचार र बाढीपहिरो पीडितको उद्दार र राहतको लागि छुट्टै कोषको व्यवस्था गर्ने रहेको छ ।





