बागलुङ, ३० जेठ– सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा उनको चुल्हो बल्छ । परिवारमा अरु कोही छैनन् । खेती खगेर खाने जमिन छैन, उमेरले पनि डाँडा काटेकाले उनले काम गरेर खानसक्ने कुरै भएन् । बिहे गरेको महिना नबित्तै श्रीमानको मृत्यु भएपछि बिहेपछिका झण्डै ८० बर्ष उनले एकल जीवन बिताईन् ।
बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी बसुन्धरा शर्मा ९४ बर्षकी भईन् । उनको जिउने आधार एउटा सानो कुटी थियो । गत बर्षको बर्षा याममा त्यही कुटीमा समेत विपत्ति आईलाग्यो । भदौ २८ र २९ गतेको अत्याधिक वर्षापछि घरको जगनै भाँसिसएपछि उनको घर जमिनमुनी पुग्यो । एकल बृद्धा बसुन्धराले एक वर्ष समय निकै कष्टले बिताईन् । भएको घर समेत भाँसिएपछि उनमा पीडाको सिमा रहेन् । छिमेकीको घरमा आश्रय लिएर बसेकी बसुन्धारको खुसी एक बर्षपछि फर्किएको छ ।
‘बास समेत हिँड्यो, अहिले नयाँ घर बनेको छ, पानी ओत्ने भो’ बसुन्धराले खुशी व्यक्त गर्दै भनिन् ‘आफ्नै झुप्रो प्यारो लाग्छ नि !’
जैमिनीले उनको भाँसिएको घर पुननिर्माण गरिदिएपछि बसुन्धराको आँखामा अहिले हर्षका आँसु देखिन्छन् । ‘बास समेत हिँड्यो, अहिले नयाँ घर बनेको छ, पानी ओत्ने भो’ बसुन्धराले खुशी व्यक्त गर्दै भनिन् ‘आफ्नै झुप्रो प्यारो लाग्छ नि !’ उनको घर बनाउन नगरपालिकाले ७० हजार रुपैयाँ अनुदान दिएको थियो । स्थानीय युवाहरुले उनको घर बनाउनका लागि सहयोग अभियान घोषणा गरेका थिए । नगरपालिकाले जिम्मेबारी लिएपछि युवाहरुले अभियान रोके । घर बनाउन डकर्मी र सिकर्मीको ज्याला ५० हजार र २० हजारको जस्तापाता उपलव्ध गराईएको वडा सदस्य रुद्रनाथ शर्माले बताए ।
स्थानीय काठ र बाँस तथा ढुंगा माटोले उनको लागि एकछाने नयाँ घर बनेको छ । एकल भएकाले खानाका लागि सामाजिक सुरक्षा भत्ता र एक दुईवटा अंशमा पाएका बारीमा फल्ने उपजले पुग्छ । ‘कसैलाई एक्लो छु भन्ने नपारोस्, विपत्मा सरकार साथमा छ’ शर्माले भने “हामी घरबास नभएका सबैको घर बनाउने अभियानमा छौं, बिपत्को सिकार भएकालाई राहत पुराएका छौं ।’ जैमिनीले विपत् व्यवस्थापन कोषबाटै उनको घर बनाउनका लागि सहयोग गरेको हो ।





