बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बजेटमा सुरुङमार्ग : स्थानीयमा आशंका !

बजेटमा सुरुङमार्ग : स्थानीयमा आशंका !

कालोपत्रे भएको लामो समय बितिसक्दा समेत बागलुङ घोडाबाँधे खण्डको २७ किलोमिटर सडक कालोपत्रे छैन् । सडककै अवस्था हेर्दा सुरुङमार्ग बन्छ भन्नेमा स्थानीय ढुक्क भने छैनन् ।


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७८, बिहिबार

बागलुङ, ३ असार– गण्डकी प्रदेशको आगामि आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा ३ ठुला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङ मार्ग, अर्नाकोट विमानस्थल र धौलागिरी अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे ।
सुरुङ र विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ खण्डअन्र्तगत काठेखोला गाउँपालिकाको बिहुँको अक्षेतेदेखि गलकोट नगरपालिकाको नरेठाँटी वा हटिया जोड्ने गरी सुरुङमार्ग बनाउन अध्ययन गर्न बजेट विनियोजन भएको छ । लोकमार्गअन्र्तगत गण्डकी प्रदेशमा पर्ने यो दोस्रो सुरुङमार्ग हो । कास्कीको फेदीदेखि पर्वतको नयाँपुलसम्म सुरुङमार्ग निर्माणका लागि आउँदो वर्ष अध्ययन गर्न संघीय सरकारले बजेट विनियोजन गरिसकेको छ ।
काठेखोलाको अक्षतेदेखि बिहुँ घोडाबाँधेहुँदै गलकोटको हटिया निस्किन ३८ किलोमिटर यात्रा गर्नुपर्छ । नरेठाँटी पुग्न ३५ किमी दुरी छ । यहाँ सुरुङमार्ग बने झण्डै ५ किमीको सुरुङमार्ग बन्ला भन्ने स्थानीयको आँकलन छ । भुगोलको वास्तविक अवस्था, सडक र सुरुङको दुरी तथा त्यसका लागि हुने खर्चको विवरण भने अध्ययनले तयार गर्नेछ ।
सुरुङमार्ग अध्ययनको विषयमा स्थानीय तह पनि सकरात्मक छन् । ‘सम्भाव्यताको खोजी हो, हुने नहुने कुरा अध्ययनले भन्ला,’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने, ‘काठेखोलाको मुभमेन्ट घट्छ । मध्यपहाडीको हिसाबले यो सकारात्मक छ ।’ उनले सम्भाव्यता अध्ययन र नतिजाको आधारमा समयमा काम हुनुपर्नेमा जोड दिए ।
बजेटमा सुरुङमार्गको विषय प्रवेशले सर्वसाधारणमा पनि आशा जगाएको छ । ‘बजेटमा अध्ययनको विषय पर्नु खुसीको कुरा हो, अहिले नै नबन्ला तर बन्यो भने पश्चिम बागलुङको बाटो निकै छोटो हुन्छ,’ ढोरपाटन नगरपालिका १ बुर्तिबाङका स्थानीय चिन्तामणि शर्मा भन्छन्, ‘घुमाउरो यात्रा सोझो हुन्छ ।’
२६ वर्षअघि ट्याक खोल्न सुरु भएको बागलुङ बुर्तिबाङ मध्यपहाडी लोकमार्गमा स्तरोन्नति भएपछि स्वरुप फेरेको छ । बागलुङ बजारदेखि बुर्तिबाङ बजारसम्मको ९१ किलोमिटर दूरी छोटो बनाउन यो मार्गले सहयोग पुग्ने अपेक्षा छ । घोडाबाँधेबाट बुर्तिबाङसम्म कालोपत्रे भएको लामो समय बितिसक्दा समेत बागलुङ घोडाबाँधे खण्डको २७ किलोमिटर सडक कालोपत्रे छैन् । सडककै अवस्था हेर्दा सुरुङमार्ग बन्छ भन्नेमा स्थानीय ढुक्क भने छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->