बागलुङ, ३ असार– पटक पटक म्याद थपिएपछि निर्माण गरिएको बागलुङ बसपार्क अन्तिम चरणमा पुगेको बसपार्कको सिंगो परिसरमा नाली भने कतैपनि बनेको छैन ।
नाली अभावमा पानीको आहाल बस्ने जोखिम भएको छ । केही दिनदेखिको झरीले पनि पानी जमेर यहाँ आहाल बनिसकेको स्थानीयले बताए । दुइपटकसम्म लागत संशोधन र स्टिमेट गरिएपनि बसपार्कमा नाली भने नबनेकोले करोडौको काम गुणस्तरहिन हुने स्थानीयले टिप्पणी गरेका छन् ।
‘बसपार्क भनेपछि नाली त हुनैपर्ने हो, किन बनेन खोजीको कुरा हो’ स्थानीय नन्दलाल सापकोटाले भने, ‘विकास निर्माण गुणस्तर नभए जनताको कर त्यसै खेर जान्छ ।’ लोकमार्ग छेवैमा घर भएका सापकोटाले सडक बनाउँदा पनि नाली र पर्खाल समयमा नबनेको कारण धेरै पहिरो भोगेको बताए ।
बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माका अनुसार यहाँ ८० वटा बस राख्न सकिने गरी निर्माण गरिएको हो । त्यसबाहेक झण्डै १ सय बढी घडेरी बनाउने जमिन पनि छ । उक्त क्षेत्रफलको पानी तर्कने ठाउँ नभएपछि बसपार्क बर्षात्मै भत्कने खतरा भएको सापकोटाले गुनासो गरे । घडेरी बनाउने स्थानको भलबाढी समेत बसपार्कमै झर्छ । गाडी सरसफाई गरेको पानी समेत जम्ने अवस्था छ ।
डेढ महिनाअघिनै अलकत्र छर्केर राखिएको बसपार्कमा कालोपत्रे भैसकेको छैन । बागलुङ नगरपालिका ४ उपल्लाचौरको बसपार्क निर्माण ढीलाई हुँदा आर्थिक अनियमितता र गुणस्तरहिन काम भएको टिप्पणी समेत बढेको छ । नगरपालिकाका इन्जिनियर मनोज शर्माले भने नाली बिनाकै बसपार्क भएको दाबी गरे । ‘पानी बग्ने गरी बसपार्कको ढल्काइ भएकोले नाली नचाहिने भएको हो’ इन्जिनियर शर्माले भने, ‘केही स्थानमा भने भलबाढी पस्ने, पानी जम्ने देखिइसकेकोले त्यसको निकास बनाउन लागेका छौं ।’
पानी जमेर अलकत्र छर्केको बाहेक केही स्थानमा अहिले पनि हिलाम्मे छ । यहाँ अनियमितता भएको उजुरीपछि अख्तियारले छानविन समेत थालेको थियो । बसपार्क बनाउन स्थानीयले अठार वर्षअघि जग्गा दिएका थिए । घडेरीको रुपमा बिक्री समेत गर्न नपाएको गुनासो गरे । बसपार्क बनाउन ठेक्का दिएको बागलुङ नगरपालिका र नगर विकास कोषले ठेकेदारसँग हरेक ६÷६ महिनामा म्याद थपिरहेको छ । अन्तिम पटक असार मसान्तमा काम सक्ने जिम्मा पाएको ‘आशिष फेवा संयुक्त निर्माण कम्पनी’ले असार मसान्तमा काम सक्ने प्रतिवद्धता जनाएको थियो ।
नगरविकास कोषका इन्जिनियर सुन्दर भण्डारीले बसपार्क भनेपछि नाली हुनुपर्ने बताए । ‘मैले एकपटक बुझ्नै पर्ने भयो, नाली त हुनुपर्ने हो’ उनले भने, ‘डिजाइन फेरेर लागतसमेत बढाइएकोले नाली फेरी किन छुटेछ, अध्ययन गर्छु ।’ असार मसान्तमा काम सक्नुपर्ने उनले बताए । बसपार्कको टर्मिनल भवन, बसको पार्किङ, भूमिगत ट्याक्सी पार्क समेत अझै बनिनसकेको हो ।
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पनि समयमा काम सक्न निर्देशन दिएको बताए । ‘किन काम पुरा नभएको, किन नाली लगायतका संरचना नभएको खोजी गर्छु’ उनले भने, ‘भर्खरै आएकोले त्यसको सबै डिजाइनबारे मलाई थाहा भएन ।’ उनले नगरपालिकाको प्रत्यक्ष निगरानीमा गर्ने काममा समेत लापरबाही भएको टिप्पणी गरे ।
निर्माण कम्पनीले ७ करोड ६६ लाख ९९ हजारबाट काम थालेको थियो । लागत स्टिमेट परिवर्तन पछि ११ करोडमा ठेक्का पुगेको छ । बसपार्कमा व्यवस्थापन समितिको नाउँमा पनि नगरपालिकाले थप ४० लाख बिनियोजन गरेपछि महालेखा परीक्षकले बेरुजु निकालेको थियो । बसपार्क निर्माण समितिले बेरुजु मध्येको १० लाख रुपैयाँ फिर्ता गरेको छ ।
बसपार्ककालागि जग्गा दिएकाहरु अहिलेसम्म भोगचलन गर्न नपाएर चिन्तामा परेका छन् । ‘भएको जग्गा दियौं, अहिले न बेच्न पाइन्छ, न उपयोग गर्न पाइन्छ’ स्थानीय सन्तोष क्षेत्रीले भने, ‘जनप्रतिनिधिदेखि ठेकेदार सम्मले मिलेमतोमा काम अलपत्र पार्दा जनताले दुःख पाएका छन् ।’ जग्गादाताले एकएकवटा घडेरी पाउने शर्तमा ५९ रोपनी जमिन बसपार्क समितिलाई दिएका थिए ।





