बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङको दक्षिण जोड्ने काठेखोला पुल खुलाउने प्रयास थालियो

बागलुङको दक्षिण जोड्ने काठेखोला पुल खुलाउने प्रयास थालियो


  • ढोरपाटन सम्वाददाता
  • असार ४ २०७८, शुक्रबार

बागलुङ, ४ असार– सातादेखिको बाढी र पहिरोले गाउँ गाउँका सडक अवरुद्ध छन् । साना पहिरो स्थानीय तहबाटै मर्मत गर्ने काम भैरहेका छन् । केही स्थानमा उपभोक्ता समितिले मर्मत गरेका छन् भने मालढुंगास्थित काठेखोला पुल भने सडक डिभिजन कार्यालयबाटै मर्मत थालिएको छ ।
दक्षिण बागलुङ संगको सम्पर्क टुटेपछि बिहिबार दिउँसोबाटै मर्मतको काम थालिएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताए । ‘कालीगण्डकी करिडोरले हस्तान्तरण गरेको र सडकले छुट्टै पुल बनाउने योजनासमेत बनाएकाले तत्काल सडक खुलाउने गरी काम थालिएको छ’ ढुंगानाले भने, ‘बिरामी ल्याउनुपरेमा पनि सडक छैन, त्यसैले आपतकालिन रुपमा काम भएको हो ।’
यो पुलको मालढुंगातर्फको स्पर तथा पर्खाल लगाउने कामका लागि स्टिमेट समेत गरिएको छैन । बरु जति खर्च लाग्छ सो व्यहोर्ने गरी काम थालिहाल्न सरकोकारवालाले निर्देशन दिएपछि काम थालिएको उनले बताए । बिहिबार प्रमुख ढुंगानासहित प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र प्राविधिक पुगेर तत्काल काम थाल्नुपर्ने निष्कर्ष निकालेका थिए । दक्षिण बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासम्म पुग्ने यो एकमात्रै पुल हो ।
करिडोरले चौडा सडक बनाइसकेकोले अब भने कालोपत्रे लगायतको तयारी छ । सडकको जिम्मामा आइसकेकोले स्तरीय बनाउने र कालोपत्रे गर्ने कामको थालनी भैरहेको डिभिजन इन्जिनियर रामेश्वर लम्सालले बताए । ‘केन्द्रीय योजनामार्फत यो सडक बनाउने हो, तत्कालका लागि मर्मत गरेर आवागमन खुलाउन लागिएको हो’ उनले भने, ‘करिडोरको लागि उक्त पुल साँघुरो हुने भएकोले छुट्टै आवस्यक पर्ने देखिन्छ ।’ मर्मत गरेर चलाउने र नयाँ बनेपछि सहज हुने उनले बताए ।
करिडोर र बागलुङ कुश्मीसेरा खण्डको धेरै स्थानमा पहिरो खसेको छ । ती पहिरो मर्मतका लागि पनि पुल संचालन गर्नु पहिलो प्राथमिकता भएकोले सबै तर्फको सहयोग जुटाएर काम गर्न पहल भएको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताए । ‘पुलको बिचमा खसेको ढुंगा फोड्ने मेसिन पोखराबाट झिकाएका छौं, आएपछि काम थाल्छ’ उनले भने, ‘त्यसअघि जाली बुनेर खाडल पुर्ने र भत्केको पर्खाल लगाउने काम भने शुरु भैसकेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->