
पोखरा, ४ असार -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग अनुरोध गरेका छन् । प्रदेशसभाको बैठक सुरु भएलगत्तै शुक्रबार सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका थिए ।
प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता पनि नपुगेको स्मरण गराउँदै यसबीचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्षको बजेट ल्याएको र सोही आधार कार्य सञ्चालन गर्नका लागि विश्वासको मत आवश्यक परेको वताए ।
सो अवसरमा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी स्रोत साधन उपलब्ध गराउने र महिलाहरुले भोग्नु परेको धेरै महिलाहरुमा धेरै पीडामा रहेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको उपचारमा शल्यक्रिया गर्दा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी दिए।
दुर्गममा गर्भवती र नवजात शिशुको उद्धारका लागि एयर लिफ्टिङको व्यवस्था, ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था पनि प्रदेश सरकारले गरेको उनले बताए ।
राजनीतिक घटनाक्रम परिवर्तनका सन्दर्भमा आफूहरुमाथि थप जिम्मेवारी आइपरेको भन्दै उनले संघीयतालाई मजबुत बनाउनका लागि आफू दृढ संकल्पित रहने बताए । जनताले पाँच वर्षका लागि मतादेश दिइसकेपछि त्यसअघि नै जनतामा जानु कुनै पनि दृष्टिले उपयुक्त नहुने उनको भनाइ थियो ।
आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर स्थायित्वमा जाने एकमात्र विकल्प रहेको भन्दै उनले बीचमा सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिक रुपमा पनि नरहेको प्रस्ट पारे ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् । गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।





