
बागलुङ, ४ असार– दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न अम्भाव्यता अध्ययन गर्नेगरी गण्डकी प्रदेश सरकारले बजेट बिनियोजन गरेपछि चर्चामा आएको हो ।
बागलुङमा बलेवा र ढोरपाटन विमानस्थल छन् । लामो समयदेखि बन्द रहेका दुवै विमानस्थल बेला बेलामा चर्चामा आउँछन् । बलेवा विमानस्थल कालोपत्रेको काम चलिरहेको छ । २६ वर्ष बन्द भएर दुई वर्षअघि सञ्चालनमा आएको यो विमानस्थल एक महिना संचालन भएर पुनः बन्द भएको छ । ढोरपाटन विमानस्थल बन्द भएको वर्षौं बित्यो तर सञ्चालनको कुनै तयारी छैन ।
भएका विमानस्थल दिगो सञ्चालन नभएको बागलुङमा पछिल्लो पटक अर्नाकोट विमानस्थल चर्चामा छ । दुई वर्षअघि नेपाल नागरिक उड्यन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको थियो । तर, त्यो डिपिआर अनुसारको काम भने अहिलेसम्म अघि बढेको छैन । पुनः प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अर्नाकोट समेटिएपछि अर्को प्रक्रिया सुरु भएको हो ।
मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन मार्गको संगम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्ट इञ्जिनियरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको थियो । डिपिआर सार्वजनिक गर्दै इञ्जिनियर गुरुप्रसाद अधिकारीले भनेका थिए ‘सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीको सुझाव छ ।’ उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तरण गरिएको थियो ।
उड्यान प्राधिकरणमा तयार भएको डिपिआर थन्काएर प्रदेश सरकारले भने यो वर्ष सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टाएको छ । ‘अर्नाकोट विमानस्थलको सम्भाव्यता अध्ययन गरिने छ’ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट भाषण गर्दै भनेका छन् । यो विमानस्थलको डिपिआर तयार गर्न भूमिका खेलेका कांग्रेस नेता दोर्ण कुँवरले संघीय सरकारले बेवास्ता गरेकाले प्रदेश सरकारले त्यसको अपनत्व दिन खोजेको बताए ।
‘के–के कुरा मिलेन, बनेको प्रतिवेदन थन्काए काम भएन’ कुँवरले भने ‘अहिले संघसँग मिलेर प्रदेशले काम गर्नेगरी बजेट कार्यक्रममा समावेश भएको जानकारी पाएको छु ।’ तर बजेट के कती छ भन्ने प्रष्ट छैन । यो स्थान बुर्तिवाङ बजारदेखि पाँच किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो विमानस्थल उपयुक्त हुने स्थानीय बताउँछन् ।
ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयको मत छ । डिपिआरले २ अर्बमा ट्वीनअटर विमान आउने स्तरीय हवाईमैदान बनाउन सकिने सुझाव पनि दिएको छ । प्रारम्भिक अध्ययनका लागि भने ४० लाख खर्च भएको प्राधिकरणले जनाएको छ ।





