मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

विश्वासको मत अगावै गण्डकी सरकारमाथि विपक्षको कडा प्रहार

विश्वासको मत अगावै गण्डकी सरकारमाथि विपक्षको कडा प्रहार

मनमोहन अधिकारीको स्मरण गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई वृद्धभत्ता खाने उमेरको भन्दै व्यङ्ग्य गर्न पनि भ्याए ।


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७८, शुक्रबार

पोखरा, ४ असार – विश्वासको मत पाउनेमा ढुक्क रहेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफ्नो कार्यकालमा विपक्षीको कडा सामना गर्नुपर्ने देखिएको छ । स्थायित्वको लागि विश्वासको मत मागेपछि सदनमा बोल्न आएका विपक्षी सांसदहरुको अभिव्यक्तिले त्यो छनक दिएको हो ।
विश्वासको मतको विपक्ष बोल्न रोष्टममा उभिएका अधिकांश एमाले सांसदहरुले तर्क, उखान–टुक्का र आरोपसहित सरकार अपवित्र भएको जिकिर गरे । उनीहरुले नयाँ सरकार गठन हुुनु र प्रदेशमा आएको बाढीपहिरोको संयोगलाई पनि अपसकुनको रुपमा व्याख्या गर्न भ्याए ।
एमाले सभासद कृष्ण थापाले यो सरकार बन्नासाथ प्रदेशमा बाढीपहिरो आएको विषयमात्रै उठान गरेनन्, कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई वृद्धभत्ता खाने उमेरको भन्दै व्यङ्ग्य पनि गर्न भ्याए । भारतीय कविको कवितांश स्मरण गर्दै यो सरकारमा गुण्डाहरुलाई मन्त्री बनाइएको आरोप लगाए । उनको संकेत आपराधिक पृष्ठभूमिबाट राजनीतिमा उदाएका दीपक मनाङेप्रति लक्षित थियो । यद्यपि, मनाङेलाई उनकै पार्टी एमालेले राजनीतिमा ल्याएको थियो ।
लगत्तै सभासद मिना गुरुङले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको भएपनि कमजोर धरातलमा उभिएको टिप्पणी गरिन् । एमाले सभासद धनञ्जय दवाडीले मुख्यमन्त्रीतिर फर्कँदै भने,‘तपाइँको पार्टी( कांग्रेस)लाई दस्तावेजको हिसाबले माओवादी केन्द्रले दुश्मन मान्छ । यो गठबन्धनमा संघीयता नमान्ने पनि छन्, संघीयताका पक्षधर पनि छन् त्यसैले यो अराजनीतिक हो, अप्राकृतिक हो’, भने ।
अर्का विपक्षी सभासद मनबहादुर गुरुङले यो सरकारले कास्कीकै बाढीपहिरो पीडितको समस्याप्रति उदाशिसता देखाएको आरोप लगाए । सभासद राजिव पहारीले यो सरकार नै केन्द्रको चोचोमोचोमा बनेको जिकिर गर्दै सरकार न हाँसको न बकुल्लाको चालजस्तो भएको टिप्पणी गरे । विश्वासको मत किन छिटो लिएको भन्ने प्रश्न गर्दै उनले ११ मन्त्री बनाउने तयारीले फजुल खर्च बढाउने बताए । यद्यपि, मन्त्रालय यसअघिकै सरकारले फुटाएको तथ्यबारे भने उनले चर्चा गरेनन् ।
सत्तापक्षीय सभासदले चाहिँ विपक्षीको भनाईको बचाउ गरिरहेका छन् । विपक्षी सभासद ओमकला गौतमले विपक्षीले भनेजस्तो यो सरकार खिचडी नभएको र समयको आवश्यकता भएको बताइन् । हिजो आफ्नो गठबन्धनमा हुँदा त्यही व्यक्ति राम्रो हुने र आज अर्को गठबन्धनमा जाँदा त्यही व्यक्ति पवित्र हुने आज अपवित्र नहुने उनको तर्क थियो ।
सरकारलाई सघाएको राष्ट्रिय जनमोर्चाकी सभासद पियारी थापाले नयाँ सरकार जनताबाट चुनिएको र गठबन्धनबाट म्याण्डेट पाएको बताइन् । उनले गुण र दोषको आधारमा नयाँ सरकारलाई समर्थन वा विरोध गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->