बागलुङ, ४ असार– बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि अर्को लामो पुल निर्माणको प्रक्रिया अघि बढेको छ । सस्पेन्सन ब्रिज डिभिजनले बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर र पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाग्लीवाङ जोड्नेगरी लामो झोलुंगे पुल निर्माण गर्न अध्ययन थालेको हो ।
पुलको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न जिम्मेवारी पाएको कम्पनीले बुधबारबाट काम थालेको छ । कम्पनीको प्राविधिक समुह अध्ययनका लागि बागलुङ आएको हो । ‘हामीले तीन महिनामा सबै काम सक्नेगरी काम थालेका छौं, अहिले स्थलगत अध्ययनमा छौं’ डिपिआरको जिम्मेवारी पाएको नेसनल सिनर्जी कम्पनीका इन्जिनियर बिजय चौहानले भने ‘५६७ मिटर लामो झोलुंगे पुल बन्न सक्नेगरी अध्ययन गर्न अनुमती लिएका छौं ।’
सिंगल स्पान प्रविधिको संसारकै लामो बाङ्गेचौर अदुवारी पुल निर्माण सफल भएपछि उपल्लाचौर नाग्लीवाङ जोड्नेगरी झोलुंगे पुल निर्माणका लागि अध्ययन थालिएको सस्पेन्सन ब्रिज डिभिजनका सिनियर डिभिजन इन्जिनियर हुमकान्त मिश्रले बताए । डिपिआर तयार भएपछि पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने उनले जानकारी दिए । ‘यसअघि पनि यहाँ लामो पुल निर्माणका लागि अध्ययन भएको हो तर त्यतीबेला ३ सय ६० मिटरभन्दा लामो पुल बनाउन सकिने प्रविधि थिएन’ मिश्रले भने ‘त्यो समयको प्रविधि अनुसार सम्भाव्यता नरहेको प्रतिवेदन आयो ।’
अहिले ५६७ मिटर लामो पुल बागलुङ र पर्वत जोड्नेगरी सफलतापूर्वक सञ्चालनमा रहेकाले पुनः अध्ययन थालिएको हो । पाङ अदुवाबारी लामो पुलको उद्घाटनकै समयमा उपल्लाचौर–नाग्लीबाङ पुल बनाउने घोषणा भएको थियो । पुलको उद्घाटन गर्दै राष्ट्रिय सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले उक्त पुल बनाउने घोषणा गरेका थिए । उनकै निरन्तरको दबावमा डिभिजनले दोस्रो पटक सम्भाव्यता खोज्न थालेको छ ।
अध्ययनका लागि बागलुङ आएको प्राबिधिक समुहले बुधबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र निर्वतमान प्रतिनिधिसभा सदस्य डा.सूर्य पाठकसँग छलफल गरेको छ । ‘सिधा आँखाले हेर्दा पाङ अदुवाबारीको पुलभन्दा छोटो दुरी नै छ, हामीले प्राविधिक समुहलाई सोही अनुसारको ठाउँ देखायौं’ नगरप्रमुख पौडेलले भने ‘यो पुल बहुआयामिक हुने छ, निर्माण गर्नैपर्छ ।’ निर्वमान सांसद पाठकले समयमा विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पुल निर्माणको ठेक्का प्रक्रियालाई सहयोग गर्न आग्रह गरेका थिए ।
उपल्लाचौर क्षेत्र र जलजला गाउँपालिकाकै घनाबस्ती रहेको नाग्लीबाङ गाउँ जोडिँदा सर्वसधारणको लागि धेरै सुबिधा हुने पौडेलले बताए । यो पुल बन्दा नाग्लीबाङबाट कालीगण्डकी किनारमा निस्केर बागलुङ बजार उक्लिनुपर्ने बाध्यता अन्त्य हुनेछ । पुलले बागलुङ नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणको आउजाउका लागि धेरै सहज हुने पौडेलले बताए । ‘अहिले नेपाल सरकारले पक्कि र झोलुंगे पुल प्राथमिकतामा राखेको छ, त्यसैले बजेटको अभाव नहोला’ पौडेलले भने ‘डिपिआर तयार भएपछि तत्काल काम थाल्नुपर्छ ।’
कालीगण्डकी नदीमाथि पछिल्लो समय लामा पुल बन्ने क्रम बढेको छ । पर्वतको सदरमुकाम कुश्मा बजार र बागलुङको नारायणस्थान कुकुरगाडेमा अर्को पुल निर्माणका लागि समेत सरोकारवालाले दबाव दिईरहेका छन् । यो पुल बनेमा बागलुङ जिल्लाभित्र कालीगण्डकी नदीमाथि बनेका पुलको संख्या ५ पुग्ने छ ।





