बागलुङ, ५ असार– इलाका प्रहरी कार्यालय नारायणस्थान बलेवा बागलुङको भवन पुननिर्माण थालिएको छ । द्वन्दको समयमा तत्कालिन विद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको इलाका प्रहरी कार्यालयको भवन पुननिर्माण थालिएको हो ।
यो भवन भत्किएको झण्डै २० वर्षपछि पुननिर्माण थालिएको प्रहरीले जनाएको छ । तत्कालिन विद्रोही पक्ष माओवादीले २०५९ सालमा बम विष्फोट गरी भवन ध्वस्त बनाएको थियो । स्थानीय उमानाथ शर्माका अनुसार, अघिल्लो दिन प्रहरीले भवन छोडेर जिल्ला मुकाम हिँडेको भोलिपल्ट भवनमा बम विष्फोट गरिएको थियो ।
भवनको शुक्रबार जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण बहादुर पल्लीमगरले शिलन्याश गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा नयाँ भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । एक वर्षभित्रै निर्माण सम्पन्न हुनेगरी भवनको काम सुरु भएको पल्लीमगरले बताए ।
तीन करोड ४५ लाख ५७ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण थालिएको हो । स्याङ्जाको गीता कन्ट्रक्सनले भवन निर्माणको जिम्मेबारी पाएको छ । ‘एक वर्षभित्र काम सक्नेगरी चैत महिनामा नै सम्झौता भएको हो, हामीलाई आवश्यक प्रशासनिक, आवास र शौचालय सहितको भवन बन्ने सम्झौता छ’ मगरले भने ‘निर्माणको काम समयमा सक्न भनेका छौं ।’
भवन अभावका कारण बलेवा इलाका प्रहरी बलेवा विमानस्थलको सुरक्षागार्ड भवनमा बस्दै आएको थियो । ‘द्वन्दमा भत्काईएका अन्य संरचनाको काम धमाधम हुँदा समेत प्रहरी कार्यालयको भवन बनेको थिएन्’ बागलुङ नगरपालिका–१४ नारायणस्थानका अध्यक्ष चक्रबहादुर खत्रीले भने ‘विमानस्थल सञ्चालनमा आउँदा प्रहरी राख्ने ठाउँनै थिएन ।’
पहिले प्रहरी कार्यालय रहेकै ठाउँमा नयाँ भवन थालिएको हो । पुरानो भवनको भग्नावशेष नयाँ भवन बन्ने भएपछि पन्छाईएको छ । जिल्लाभर रहेका अधिकांश प्रहरी चौकी र इलाका प्रहरी कार्यालयहरु भाडाको घरबाट सञ्चालनमा छन् । कुश्मीशेरा प्रहरी चौकी, बेलबगर प्रहरी चौकी, अक्षेते, नरेठाँटी बोंगादोभान लगायतका प्रहरी चौकी भाडाको घरमा रहेको मगरले बताए ।
बुर्तिबाङमा रहेको प्रहरी आफ्नै भवनमा छभने धम्जा बिहुँ प्रहरी चौकीको नयाँ भवन निर्माणाधिन छ । ‘आउँदो आर्थिक वर्षमा अरु ठाउँमा पनि भवन बन्नेछन्, कतिपय ठाउँमा जग्गा प्राप्त भएको छ, कतिपय ठाउँमा जग्गाको खोजीमा छौं’ उनले भने । बरेङ गाउँपालिकामा रहेको प्रहरी चौकी भवन भने अपायकमा रहेको भन्दै आफ्नो भवन र भाडाको भवन दुवै ठाउँबाट कार्यालय सञ्चालन हुँदै आएको थियो । आफ्नै भवन नहुँदा सुरक्षाका लागि खटिने प्रहरीनै असुरक्षित तरिकाले बस्न बाध्य थियो ।





