बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका अधिकांस योजना ८० प्रतिशत मात्रै सकिने

बागलुङका अधिकांस योजना ८० प्रतिशत मात्रै सकिने

बाढी र कोरोनाको प्रभाव बिकासे योजनामा देखियो ।


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार

बागलुङ, ५ असार– चालु वर्षको सुरुवातमा कोरोनाले प्रभाव पा¥यो । तिहारपछि मात्रै सहज बनेको वातावरणमा योजना सम्झौता, निर्माण थालनीले निकै उत्साह थप्यो । तर यो धेरै समय टिक्नै सकेन ।
बैशाख पहिलो साताबाट बागलुङको बलेवामा कोरोना संक्रमणले सतायो । थालिएका विकास निर्माण रोकिए । सडक, खानेपानी, सिंचाइसहित पर्यटन प्रवद्र्धनका कार्यक्रम बढी प्रभावित भएका छन् ।
बैशाखदेखि निशेधाज्ञा सुरु भएकोले भएका कामको मूल्यांकन र फरफारकमा समेत असर परेको छ । बैशाखदेखि असारसम्म जिल्लाका अधिकांस पालिका कोरोना संक्रमणबाट बन्द भए । जसले गर्दा योजना फरफारकमा सास्ती भयो । भुक्तानी लिन मात्र नभई कतिपय योजना सम्झौतामा पनि त्यसको असर देखियो ।
निसीखोला गाउँपालिका पनि दुइपटकसम्म बन्द भयो । त्यहाँका प्रमुख प्रशासकीय अधिकृतबाहेक सबैजना कोभिड प्रभावित भए । सबै संक्रमित भएकोले कार्यालय ठप्पै भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताए । बडिगाडमा पनि कर्मचारी र समुदायमा व्यापक कोरोना देखिँदा कामले गति लिन नसकेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले बताए ।
पालिकाहरुमा कहिले इन्जिनियर, कहिले प्रशासन र स्वास्थ्य शाखाका कर्मचारी पालैपालो संक्रमणमा परेपछि कार्यालय संचालन जोखिम भएको, सेवाग्राही पनि आउन नसकेको, काममा खटिनुपर्ने कर्मचारी आइसोलेसनमा परेका थिए । उनीहरुको कारण मात्र नभई उपभोक्ताहरु नै बढी प्रभावित भएपछि कामै हुन नसकेको हो ।
पालिकाहरुले काम ठप्प भने बनाएका थिएनन् । तर ढुवानी, मजदुर परिचालन जस्ता काम पनि कोरोनाकै कारण प्रभावित भएको शाक्यले गुनासो गरे । ‘स्वास्थ्य मापदण्ड पालना गर्दै गरेको कामले ७५ प्रतिशत सफल हुने आश गरिएको छ’ उनले भने, ‘महामारीमा यो पनि उपलब्धीनै हो भन्नुपर्ने भएको छ ।’ अहिले पनि संक्रमण बा“की भएकोले योजना फरफारक गर्न नसकेको उनले बताए ।
बडिगाडका अध्यक्ष मेहरसिंह पाइजासहित धेरै कर्मचारी र जनप्रतिनिधि पनि संक्रमित छन् । कतिपय कर्मचारीले अभिभावक समेत गुमाएकोले काममा लाग्नै सकेका छैनन् । गाउँ गाउँमा जोखिम बढेपछि विकास निर्माण ठप्पै भयो । बैशाख र जेठभर कुनैपनि काम गर्न नसकेको सुवेदीले बताए । समस्याका बाबजुत बित्तिय र भौतिक प्रगती ८० प्रतिशतभन्दा बढीनै हुने उनले बताए ।
कोरोना संक्रमणबाट गलकोट बढी प्रभावित छ । यहाँ १६ जनाको मृत्यु भयो । ३ सयबढी संक्रमित छन् । संस्थागत आइसोलेसनमा पनि बिरामी राखिएको प्रवक्ता हिमबहादुर भण्डारीले बताए । उपभोक्ता समितिका पदाधिकारीहरु संक्रमित भएर होम आइसोलेसन परेपछि काम रोकिएको उनले बताए । ‘केही ठूला आयोजना क्रमागतमा छन्, तर मझौला योजना सक्न हम्मे हम्मे छ’ भण्डारीले भने, ‘रातदिन स्वास्थ्य सेवा र विकासमा खटिंदा पनि शतप्रतिशत प्रगती गर्न नसकिने भयो ।’
ग्रामीण सडक, खानेपानी र सिंचाइका आयोजनाहरुको ८० प्रतिशत प्रगती निकाल्ने तयारी गरको उनले बताए । निर्माणाधिन नरेठाँटीको मोटररेवल पुल यो बर्ष थालनी मात्रै भएको छ । आगामी बर्ष मात्रै काम सक्ने गरी एउटा पिलर मात्रै ठडिएको छ ।
बागलुङ नगरपालिकाले निर्माणाधिन बसपार्क, बलेवा बिमानस्थल लगायतका आयोजनामा सफलता पाउन नसकेको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘ठूला आयोजनामा निशेधाज्ञाले धेरै सूचक पुरा गर्न सकिएको छैन’ पौडेलले भने, ‘नगरस्तरीय योजना भने अधिकांस पुरा भएका छन् ।’ बजार क्षेत्रमा कालोपत्रे तथा सडक मर्मत भएको, पञ्चकोटस्थित अग्लो कलसको लागि ५० लाखको काम गरिएको, भैरवस्थान जाने सडक स्तरीय बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->