बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भत्केका सडक बनाउने, बिस्थापितलाई फर्काइने

भत्केका सडक बनाउने, बिस्थापितलाई फर्काइने


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार

बागलुङ, ५ असार– बाढी पहिरोले क्षतबिक्षत भएका ग्रामीण सडकसहितका संरचनाहरु पुननिर्माण गर्न बागलुङ नगरपालिकाको बिपत् व्यवस्थापन समितिले अगुवाई गरेको छ ।
शुक्रबार समितिकी अध्यक्ष लक्ष्मी बोहोराको अध्यक्षतामा बसेको बैठकले क्षतिको विवरण संकलन गरेर प्राथमिकतको आधारमा पुननिर्माण गर्ने निर्णय गरिएको समितिका सदस्य नारायण शर्मा पौडेलले बताए । हरेक वडा अध्यक्षको अध्यक्षतामा रहेको बिपत व्यवस्थापन समितिको निगरानीमा उपभोक्ता समितिमार्फत क्षतबिक्षत पूर्वाधारहरु बनाउने निर्णय गरिएको उनले जानकारी दिए ।
झण्डै एक सातासम्मको लगातारको झरीपछि आएको बाढीपहिरोले बागलुङका अधिकांस ग्रामीण सडक, मालढुंगा कुश्मीसेरा सडक, कालीगण्डकी करिडोर, सिगाना, तित्याङ, भकुण्डे र रायडाँडासम्म पुग्ने अधिकांस सडक अबरुद्ध भएका छन् ।
गाउँ गाउँबाट ढुवानी हुने दूध, तरकारी र अत्यावस्यक सेवा प्रवाह पनि रोकिएका छन् । मालढुंगास्थित काठेखोला पुल भत्केपछि पैदलयात्रा समेत रोकिएको छ । त्यसैले टेण्डर लगायतका प्रक्रियाबाट जाँदा ढीला हुने भएकोले उपभोक्ता समितिमार्फत मर्मत गर्ने निर्णय भएको अर्का सदस्य जीवन आचार्यले जानकारी दिए ।
बैठकले पहिलो प्राथमिकतामा ग्रामीण सडक मर्मतको एजेण्डा राखेको छ । घरगोठ भत्केर बिस्थापित भएकालाई दोश्रो समूहमा राखेर पुनस्थापना गर्ने योजना छ । ती सबै कामका लागि वडा तहको बिपत व्यवस्थापन समितिका रहेको पैसा खर्चने निर्णय गरिएको हो । त्यस्तै नगरपालिकाले आवस्यक बजेट बिनियोजन गर्नेगरी श्रोतको खोजी समेत भैरहेको छ ।
‘बैशाखदेखि असारसम्म संचालन गर्ने भनिएपनि नभएका सफ्टवेयरको कार्यक्रमको बजेट पनि बिपतमा खर्चने कुरा भएको छ’ आचार्यले भने, ‘मानिस जम्मा गरेर सचेतना र अधिकार प्राप्तीका कार्यक्रम गर्न सकिने अवस्था पनि छैन, त्यसलाई पनि बिपतमा खर्चनु पर्छ ।’
जिल्लाका अन्य पालिकाले पनि अबरुद्ध भएका सडक खुलाउने प्रयास थालेका छन् । उपभोक्ता समितिको सक्रियतामा सडक मर्मतको काम भैरहेको हो । केही स्थानमा पालिकाबाट रकम जुटाइएको छ भने कतिपय स्थानमा श्रमदान लगाइएको छ ।
बडिगाड गाउँपालिकाले जलजला, दर्लिङ र रणसिंकिेटेनी जाने सडक मर्मत गरेर खुलाउने काम थालेको अध्यक्ष मेहरसिंह पाइजाले बताए । ढोरपाटन नगरपालिका वडा नं. ६ का उपभोक्ताले पनि श्रमदानमार्फत सडक मर्मतको काम थालेको वडा अध्यक्ष लक्ष्मण पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->