बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङको नीति तथा कार्यक्रम : कोभिड नियन्त्रण र उत्पादनमा जोड

बरेङको नीति तथा कार्यक्रम : कोभिड नियन्त्रण र उत्पादनमा जोड

मनोसामाजिक र जनचेतनामुलक कार्यक्रममार्फत रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति बृद्धि गर्ने योजना ।


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा । तस्विरः केशवराज क्षेत्री

बागलुङ, ५ असार– जिल्लाको बरेङ गाउँपालिकाले कोरोना महामारीको नियन्त्रणका लागि जनशक्ति व्यवस्थापन र पूर्वाधार बिकासमा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले शनिवार गाउँसभामा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ को दोस्रो लहरसँगको संघर्ष र सम्भावित तेस्रो लहरसँग जुध्न कोभिड लक्षित योजना सार्वजनिक गरे ।
सातौं गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष शर्माले जनशक्तिको अभावमा कोरोनासँगको लडाईं हार्न नपर्ने वातावरण बनाउने घोषणा गरे । ‘रोगलाई पालेर होइन्, फालेर जीवन जिउने’ बातावरण सिर्जना गर्ने मिठो नारा अगाडि सारे ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कोरोना महामारीको नियन्त्रणमा जुट्ने घोषणा गर्दै शर्माले त्यसका लागि आवश्यक पूर्वाधारको बिकासलाई प्राथमिकता दिएको बताए । गाउँपालिकाले औषधी र उपकरणको समेत अभावहुन नदिने नीति लिएको छ । मनोसामाजिक र जनचेतनामुलक कार्यक्रम मार्फत रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति बृद्धि गर्ने योजना पनि गाउँपालिकाले सार्वजनिक गरेको छ ।
कोभिड–१९ महामारी प्रतिकार्यलाई प्रभावकारी बनाउने नीति लिईएको अध्यक्ष शर्माले बताए । प्रतिकार्यमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मिलाई गाउँपालिकाले अतिरिक्त भत्ताको व्यवस्था गर्दै पुरस्कारको समेत ब्यवस्था गर्ने भएको छ ।
महामारीका कारण रोजगारी गुमाएका युवाहरुका लागि सहुलियत व्याजदरमा व्यवसाय गर्न ऋण उपलव्ध गराउने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको सञ्चार खर्चमा निरन्तरता र सबै स्वास्थ्य स्वयंसेविकाको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको छ । स्वास्थ्य क्षेत्रलाई जोड दिईएको नीति तथा कार्यक्रमले १ सय विपन्न घर परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाले योग तथा साधनालाई प्रवद्र्धन गर्न पालिकाको अस्पतालमा एक जना बैधको दरबन्दी स्वीकृत गर्ने भएको छ । हरेक स्वास्थ्य संस्थामा स्तनपान कक्ष निर्माण गरिने अध्यक्ष शर्माले घोषणा गरे । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चि गाउँपालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका ‘एक घर–एक महिला’ रोजगार कार्यक्रम, ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’, ‘गर्भवती र सुत्केरीसँग गाउँपालिका उपाध्यक्ष कार्यक्रम’ लगायतका कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

सातौं गाउँसभाका सहभागीहरु । तस्विरः केशवराज क्षेत्री

उत्पादन र रोजगारीमा जाँगर ल्याउनका लागि युवा तथा महिलाहरु परिचालन गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । स्वरोजगार र कृषि उत्पादनलाई नीति तथा कार्यक्रमले जोड दिएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत गाउँपालिकाले ८४ बर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई धार्मिक र सामाजिक हिसावले सम्मान तथा निशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम ल्याएको छ ।
शिक्षणमा प्रबिधिको प्रयोग, विकल्पहरुको खोजी र शैक्षिक सुधार कार्यक्रम लागु हुने भएको छ । ‘स्मार्ट गाउँपालिका’ निर्माणका लागि वडा कार्यालय तथा सबै विद्यालयमा आधुनिक प्रबिधिको प्रयोगद्वारा कार्यसम्पादन गर्ने नीति गाउँपालिकाले लिएको छ ।
बाँझो जमिनको प्रयोग र उत्पादनमा आत्मानिर्भर बनाउने कार्यक्रम गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ । पालिकाले उत्पादनसंग जोडिनेलाई अनुदान विशेष कृषी कार्यक्रम अगाडि सारेको छ । निजी आवासको व्यवस्थापन लगायतका कार्यक्रम पनि समावेश गरिएको छ ।
बालबिकास केन्द्रहरुमा अध्यापनरत सहजकर्ताहरुको पारीश्रमिक बृद्धि गरिने भएको छ । पूर्वाधार निर्माणमा क्रमागत योजनाहरुलाई निरन्तरता दिईने कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा सामाजिक सञ्जालको दुरुपयोग भएको भन्दै त्यसको नियन्त्रणमा गाउँपालिकाले चासो देखाएको छ । सञ्चार क्षेत्रलाई पनि कार्यक्रममा समेटिएको छ । पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले ‘पाहुँनाको सत्कार– गाउँपालिकाको संस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रम अन्तरगत घरबासको क्षमता बिकास, व्यवस्थापन र प्रबद्र्धन गरिने छ । गाउँपालिका उपाध्यक्ष आमा सम्मान कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ । शर्माले सातौं गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिवार नै गाउँसभाले पारित भएको छ ।
गाउँसभाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले गरेका थिए । उनले स्थानीय तहको काम कारवाहीका आधारमा अधिकारको प्रयोग गर्न नपाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->