बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निशेधाज्ञा र झरी छल्दै काम गर्दै

निशेधाज्ञा र झरी छल्दै काम गर्दै


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७८, आइतबार

बागलुङ, ६ असार– निशेधाज्ञा र झरी छल्दै बागलुङका बिकास आयोजना असारमा सक्न धमाधम काम भैरहेका छन् । घाम लागेको बेला काम गर्ने, बर्षातमा रोकेर ओतमा बस्ने क्रम समेत आयोजनामा चलिरहेको छ ।

मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा काम गर्ने प्राविधिक र मजदुरको यो दैनिकी जस्तै भएको छ । अन्य योजनामा पनि सिमित मजदुरले काम गरिरहेका हुन् । बर्षात र त्यसपछि आउने बाढीले धेरै सामाग्री बगाएको छ । तर पनि काम भने रोकिएको छैन । निशेधाज्ञामा पनि नियमित काम गर्न ल्याइएका ४० मजदुर परिचालन गरेर कामलाई निरन्तरता दिएको मध्यपहाडी लोकमार्ग अन्र्तगत बिहुँ खण्डका ठेकेदार रामकाजी श्रेष्ठले बताए ।

चालु बर्ष भित्रै ७ किमी सडक कालोपत्रे गर्ने गरी तयारी छ । केही खण्डमा कालोपत्रे भैसकेको छ । घोडाबाँधेको सैनिक व्यारेक देखि इनारपानी तर्फको ७ किमी खण्ड असार भित्रै कालोपत्रे गर्ने योजना उनले सुनाए । तल्लो खण्डमा संचरना निर्माण भैरहेको छ । बर्षातपछि पनि काम गरेर सक्ने योजना उनको रहेको छ ।

कोरोना संक्रमणले दुइमहिनादेखि बागलुङमा निशेधाज्ञा जारी छ । निशेधाज्ञाले दैनिक जनजीवनमा असर परेपनि मुख्य सडक लगायतका आयोजना भने धमाधम काम भैरहेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बिकास योजना निर्माणमा अनुमति दिएकोले केही आयोजना सम्पन्न हुने चरणमा पुगिसकेका छन् । ‘मापदण्ड पु¥याएर मजदुर परिचालन गरिएको छ, काम भने रोकिएको छैन’ सडक डिभिजन कार्यालय बागलुङका डिभिजन इन्जिनियर रामेश्वर लम्सालले भने, ‘कोरोना संक्रमणबारे सचेत बनाएर काम गरेकै स्थानमा बस्ने, अत्यावस्यक काम नपरेसम्म घरपरिवारमा पनि नभेट्ने व्यवस्थापन गरिएको छ ।’ प्रशासनले निर्माण सामाग्री ढ्ुवानीमा पनि सहजीकरण गरेकोले काम अगाडि बढेको उनले बताए ।

निशेधाज्ञाकै समयमा मालढुंगाा देखि कुश्मीसेरा जाने सडक, बुर्तिवाङ देखि ढोरपाटन जाने बैकल्पिक सडक लगायतका ठूला आयोजनामा नियमित काम भएको उनले बताए । ‘असार मसान्त भित्रै केही खण्ड कालोपत्रे भैसक्ने गरी काम गरेका छौं’ लोकमार्ग आयोजनाका इन्जिनियर उज्वल शर्माले भने, ‘तुलनात्मक रुपमा कामले गति लिएको छ ।’ सडकमा सवारी चाप नभएकोले यतिबेला काम गर्न केही सहज भएको उनले बताए । यहाँको ढोरपाटन नगरपालिका ५ को गादिखोला देखि छेन्टुङ हुँदै ढोरपाटन जाने सडकमा पनि मजदुरको क्वारेन्टाइन बनाएर काम भएको हो । ‘यो खण्डमा पहिला पनि रामै्र काम भएको देखियो, यति गतीले काम गर्दा समयमा सकिन्छ’ जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भुषालले भने, ‘सुरक्षा मापदण्ड मिलाएर काम नियमित बनाउनु पर्ने देखियो ।’ निर्माण सामाग्री ढुवानी गर्दा उत्पादन गर्ने मजदुरको सुरक्षामा भने अलीबढी ध्यान दिनुपर्ने उनले बताए । सवारी साधन र काम गर्ने मजदुरले दुरी कायम गरेपनि खोला किनारमा गिटी वालुवा संकलन गर्नेले मापदण्ड पालना नगरेको उनले बताए ।

ढोरपाटन तर्फको छेन्टुङ सडक पनि असार भित्रै सक्ने लक्ष बनाएको इन्जिनियर श्याम भण्डारीले बताए । ‘२५ करोड २६ लाख ८० हजार रुपैया“मा सम्झौता गरेको ठेकेदार कंपनीले असारसम्म ग्राभेल गरिसक्ने लक्ष राखेको छ’ गाडिखोला छेन्टुङ सडक आयोजनाका इन्जिनियर भण्डारीले भने, ‘समयमा काम हस्तान्तरण गर्ने लक्षण देखाएको छ ।’ कोरोेना संकटको समयमा मजदुरलाई नियमित खटाएर काम गरिएको उनले जानकारी दिए ।

चालु बर्ष ५ करोड बजेट बिनियोजन भएको एक निर्वाचन एक सडक कार्यक्रममा पनि काम भैरहेको हो । क्षेत्र नं. १ को कुश्मीसेरा देखि राङखानी हुँदै बरेङ जाने सडक र गलकोट स्थित वडा नं. २ को छुक्टीखोला मोटरेबल पुल समेत निर्माण भैरहेको हो । ३ करोड ४८ लाख लागतको यो पुल असार भित्रै सक्ने वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ढोरपाटनको खर्सुबोट खोलामा पनि स्टिल ट्रस्ट पुल निर्माण भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->