बागलुङ, ७ असार– वैशाख दोश्रो सातादेखि बडिगाड गाउँपालिका कोरोनाको हटस्पट बन्यो । जेठ अन्तिमसम्म वडिगाडका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना नियन्त्रणमा चौबिसै घण्टा खटिएका थिए ।
वडिगाडको वडा नं। ४ मा अत्याधिक धेरै संक्रमित देखिए । गाउँका धेरैले ज्यान पनि गुमाए । शनिबारसम्म पनि बडिगाडका कोरोना संक्रमितको मृत्युको क्रम रोकिएको छैन । तर नियमित परीक्षण र नियन्त्रण प्रयासले सफलता पाउँदै गएको छ ।
अहिले यो पालिकाभर सक्रिय संक्रमित २६ जना मात्रै छन् । आइतबार गरिएको एन्टिजेन्ट परीक्षणमा सबैजना नेगेटिभ भेटिए । डेढ महिनापछि परीक्षणको क्रममा पोजेटिभ केश शुन्य भएपछि स्वास्थ्यकर्मी र जनप्रतिनिधिले सन्तोषको सास फेरेका छन् । आइतवार वडा नं। २ को दनियामा गरिएको २३ जनाको परीक्षणमा सबैजना नेगेटिभ भेटिएको स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले बताए ।
वडिगाडमा यो अबधिमा ३ सय ५४ पिसीआर र २ सय ९२ एन्टिजेन्ट परीक्षण भए । तीमध्ये १ सय ७६ जना संक्रमित भए । घर घरमा खोजपड्ताल गरेर संक्रमितलाई समयमा उपचारमा ल्याउन सक्दा यो सफलता मिलेको कंडेलले बताए । ‘भूगोलको समस्याले घरघरमा पुग्न धेरै कठिन भयो, तर लक्षण देखिएका र शंकास्पद सबैलाई परीक्षण गर्दा नियन्त्रणमा सफलता मिल्दै गएको छ’ कंडेलले भने, ‘हटस्पटबाट अब सामान्य क्षेत्र बनाउन सकिएको छ ।’
‘हामीले दुई महिना कोरोनाको संक्रमितकै उपचार र ओसारपसारमा समय लगायौं, सर्तकताका लागि पनि धेरै मेहेनत गर्नुप¥यो’ अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘कहिले कर्मचारी, कहिले जनप्रतिनिधि संक्रमित भएर झनै कठिन भयो ।’ धेरै मेहेनतपछि मात्रै यो अबस्था आएको उनले बताए । आइतबारसम्म वडिगाडका आइसोलेसनमा १ जना मात्रै बिरामी छन् ।
कोरोना संक्रमणबाट बागलुङमा ५० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म जिल्लामा १७ हजार ६ सय ६९ पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ४ हजार २ सय ३५ संक्रमित भेटिएका थिए । एन्टिजेन्टबाट थपिएका ४ सय ३१ समेत गर्दा ४ हजार ७ सय ६६ जना संत्रमितमध्ये अहिलेसम्म ४ हजार ३ सय २१ जना निको भएका छन् । बागलुङमा २ सय ९५ जना सक्रिय संक्रमित छन् । ताराखोला र तमानखोलामा शुन्य भैसकेका छन् । बडिगाडले पनि केही दिनमै शुन्य बनाउने लक्ष राखेको छ ।





