
बागलुङ, ६ असार– असारको पहिलो दिननै घरमा बस्न नसक्नेगरी पानी आयो । घर वरिपरि छियाछिया परेको जमिन छ । आधा भत्केका घरहरु गाउँभरी छन् । गतवर्षको वर्षामा भत्किएको जमिन कहीँ टालिएको छैन् । न जोखिममा परेका घरको व्यवस्थापन भयो । विस्थापित भएकाहरु गाउँ छोडेर हिँडे । अरु अवस्था उस्तै छ । समस्या हो बागलुङको निसीखोला गाउँपालिका १ र २ नम्बर वडामा पर्ने हुल्दी बाहुनगाउँको ।
पोहोर साल पानी पर्दा लत्ताकपडा र खाद्यान्न पोको पारेर घर छोडेका हुल्दीबासीले अहिले पनि उही सास्ती भोग्दै छन् । पहिरो पीडितलाई समयमा व्यवस्थापन गर्न नसक्दा अहिलेको वर्षामा समेत उनीहरु घर न घाटका हुने अवस्था आएको हो । घरगाउँ नै मासिने गरी पहिरो गएको भएपनि कोही कसैले सहयोग नगरेको स्थानीय पूर्ण कार्की बताउँछन् । हुल्दी र बाहुनगाउँमा गएको पहिरो नयाँ भने होइन ।
केहीवर्ष पहिलेदेखि चलेको पहिरोले गतवर्ष सबैभन्दा धेरै क्षति पु¥यायो । निसीखोला–१ मा २७ घर पूर्ण क्षति भएका थिए । १५ सय ९ घर उच्च जोखिममा छन् भने ७५ घर जोखिममा रहेको तथ्यांक गाउँपालिकासँग छ । वडा नं. २ मा ५९ घर पूर्णक्षति, उच्च जोखिममा १९ घर र जोखिममा १५० घर रहेको तथ्यांक छ । वडा नं. ३ मा १० घर पूर्ण क्षति, उच्च जोखिममा २५ घर छन् ।
गाउँपालिकाभरि नै वर्षापछि पहिरोको समस्या भएपनि स्रोत साधनको अभावले व्यवस्थापन चुनौतीपूर्ण रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउँछन् । हिउँदमा चुपचाप बस्ने र बर्षा लागेपछि चिन्ता गर्ने परिपाटीले बस्ती स्थानान्तरण र व्यवस्थापन हुन नसकेको निसीखोला–२ का वडाध्यक्ष कुम्बीर विश्वकर्मा बताउँछन् । दुई वर्षअघि भूगर्वविद मनिका झाको नेतृत्वको टोलीले गाउँलाई रातो सूचिमा राखेर बस्ती सार्न भनेको थियो ।
तर, बस्ती स्थानान्तरणका लागि कोहीकसैले तदारुकता देखाएका छैनन् । हुल्दी र बाहुनगाउँमा लामो समयदेखि बस्दै आएकाहरु खेतीपाती र वनपाखो छोडेर हिँड्न नमानेका कारण पनि बस्ती स्थानान्तरणमा समस्या रहेको गाउँपालिका अध्यक्ष पौडेल बताउँछन् ।
यस्तै, गतवर्ष भदौ २९ गतेको पहिरोले गाउँनै हल्लाएको महशुस गरेका जैमिनी नगरपालिका–१ कुश्मीशेराका कृतिनाथ शर्मा यो वर्ष घरमा बस्नै नसकेर असारको १ गते राती घर छोडे । चितवनको रत्ननगर नगरपालिकामा भाडाको घर खोजेर उनी बसाई नै सरे । गतवर्ष दुई जनाको ज्यान लिनेगरी आएको पहिरो उनको घरमाथि आएको छ । पहिरोको व्यवस्थापन नभएका कारण जीवनभर कमाएर परिपाठ पारेको घर बुढेसकालमा छोड्नु परेको उनको गुनासो छ ।
‘पहिरो रोक्न र भल बाढी तर्काउन कसैले चासो देखाएनन्’,शर्मा भन्छन् ‘एक्लैले गरेर नहुने रहेछ, विपत्मा ज्यान जोगाउनु नै ठुलो कुरा .भयो ।’ शर्मा जस्तै टुनिबोटका ६ परिवारले यो वर्षको बर्खा लागेपछि पहिरोको त्रासले घर छोडे । केहीले छाड्ने तयारी गर्दैछन् । हिउँदभरी पहिरोको रोकथाम र पीडितको व्यवस्थापन नभएपछि टुनिबोटबासी बर्खा लागेपछि भागाभाग गर्न थालेका हुन् ।
समस्या नीसिखोला र जैमिनीको मात्रै होइन, गतवर्ष बाढी पहिरोका कारण विस्थापित भएका ढोरपाटन नगरपालिकाका झण्डै १ सय ३० परिवारको पनि अवस्था उस्तै छ । तमानखोला, काठेखोला, जैमिनी नगरपालिका र गलकोट तथा बरेङ गाउँपालिकामा विस्थापित भएका घरसमेत बनेका छैनन् ।





