बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरजाने बाटोको आइइइ भएन

ढोरजाने बाटोको आइइइ भएन

वातावरणीय प्रभाव मूल्यांकनको प्राविधिक काममा भने पूर्वाधार कार्यालय वा मन्त्रालयकै चासो नभएको हो ।


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७८, मंगलबार

बागलुङ, ८ असार– सालझण्डी ढोरपाटन सडकको विकल्पको रुपमा निर्माणाधिन अर्को सडक प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) नहुँदा ट्रयाक खोल्ने काम रोकिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ५ को गादीखोलादेखि वडा नं. ६ को तोगाडी छेन्टुङ हुँदै वडा नं. ९ को ढोरपाटन आरक्ष पुग्ने २० किमी सडकको माथिल्लो खण्डको निर्माण रोकिएको हो ।
अहिलेसम्म यो सडकको झण्डै १७ किमी ट्रयाक खुलीसकेको छ । आरक्षको क्षेत्रभित्र पर्ने ट्रयाकका लागि आइइइ नभएर काम रोकिएको पूर्वाधार कार्यालय बागलुङका उक्त सडकखण्ड हेर्ने इन्जिनियर प्रकाश श्रीषले बताए । ‘आइइइ रिपोर्ट नभएसम्म ट्रयाक खोल्न पाईदैन, बाँकी स्थानमा ग्राभेल र कालोपत्रेको काम समेतलाई ठेक्का भैसक्यो, यता काम अगाडि बढेन’ श्रीषले भने, ‘कालोपत्रे भैसक्यो भनेपनि देउराली खण्डमा ट्रयाक खोल्न नपाएपछि उपयोगबिहिन बन्नेछ ।’
चालु वर्षपनि यो सडकको तल्लो १० किमी खण्डमा काम भैरहेको छ । तल्लोखण्ड कालोपत्रेका लागि ठेक्कासमेत गैसकेको हो । ‘श्रेष्ठ ग्लाल्बो क्याराभान संयुक्त निर्माण कम्पनी’ले एक वर्षअघि नै सम्झौता गरेर आधा काम सकिसकेको छ । २५ करोड २६ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको ठेकेदार कम्पनीले असारसम्म ग्राभेल गरिसक्ने लक्ष राखेको छ । सम्झौता अबधिभित्रै कालोपत्रे गरिसक्ने योजना रहेको कम्पनीका इन्जिनियर श्याम भण्डारीले जानकारी दिए ।
माथिल्लो १० किमीमध्ये ७ किमी खण्डमा पनि ठेक्का भएर काम सुरु भएको छ । यो सडकले ढोरपाटन आरक्षको छेन्टुङहुँदै म्याग्दीको गुर्जासम्म जोड्ने छ । यो सडकमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम र पूर्वाधार विकास कार्यक्रमको संयुक्त बजेटबाट चालु बर्ष ५ करोड बजेट बिनियोजन भएको छ । एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रममा सूचिकृत भएर माथिल्लो खण्डमा काम भएको उपभोक्ता शेरमान बुढामगरले बताए ।
स्थानीयले पनि सडक निर्माणमा सहजीकरण गरिरहेका छन् । वातावरणीय प्रभाव मूल्यांकनको प्राविधिक काममा भने पूर्वाधार कार्यालय वा मन्त्रालयकै चासो हुनुपर्ने उनले बताए । ‘हामीले हरेक क्षेत्रमा साथ दिएका छौं, तर प्राविधिक कुरा जान्दैनौं’ बुढामगरले भने, ‘करोडौ लगानी भैसक्यो, अन्तिममा ट्रयाक खुलेन भने यो बैकल्पिक सडक बन्नै सक्दैन ।’ उनी खर्सुबोट स्टिल ट्रस्ट पुल निर्माण समितिका अध्यक्ष समेत हुन् । उनको अगुवाईमा गादीखोलामा पुल निर्माण समेत भैरहेको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले आवस्यकता भएको स्थानमा आइइइ हुनुपर्ने बताए । उनले केही कारणले ढीला भएपनि आगामी वर्ष काम सुरु हुने जानकारी दिए । ‘आइइइ मन्त्रालयले मात्रै गर्नुपर्छ भन्ने छैन, स्थानीय पालिकाले पनि गर्न सक्छ’ पौडेलले भने, ‘पत्राचार भएर मन्त्रालयबाट गर्नुपर्ने शर्त भएपनि काम सकिंदासम्म गाँठो फुक्ने काम हुन्छ ।’ वनमन्त्रालय संगको सहकार्यमा गरिने काम भएकोले समन्वयको क्रममा रहेको उनले बताए ।
ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कंडेलले संवेदनशिल क्षेत्र भएकोले समन्वयमा आइइइ हुनुपर्ने बताए । ‘सडक निर्माण गर्दा पनि वन्यजन्तुको बाटो नपार्ने, उनीहरुलाई तनाव नपर्ने क्षेत्र रोज्नुपर्छ’ कंडेलले भने, ‘आरक्षभित्र पक्की सडक भएमा पर्यटकसमेत बढ्ने देखिन्छ ।’ मुख्य गन्तव्यसम्म पक्की सडक चाहिएकोले पूर्वाधारका काममा सहजीकरण गर्ने उनले बताए । आरक्षको अधिकांस क्षेत्रमा पैदलयात्रा गर्नुपरेकोले आएका पर्यटक पनि हिँड्न नसकेर फर्केकोले सहज सडक बनाउन मन्त्रालयहरुसँग समन्वयमा ध्यान दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->