
बागलुङ, .८ असार– निशेधाज्ञालाई खुकुलो बनाएपछि बागलुङमा चहलपहल बढेको छ । दुइ महिनादेखि बन्द भएका सबै पसल खुलेपछि मानिस र सवारी साधनको भीड समेत देखिएको हो ।
बिहानैदेखि भाँडा पसल, फेन्सी, हार्डवेयर, सबै प्रकारका किराना पसल, स्टेशनरी, मोबाइल, इलेक्ट्रीकल्स र इलेक्«टोनिक पसल समेत खुलेका थिए । ‘निशेधाज्ञाका कारण बन्द भएको ५० दिनपछि पसल खोलेको छु, व्यवसाय होला नहोला, रमाइलो भने देखियो’ मेरो टेलरिङ सेन्टरका धनबहादुर परियारले भने, ‘जोखिम भने कायमै छ, सबैले सुरक्षामा मापदण्ड अनिवार्य पालना गर्नुपर्छ ।’
डिसिसिएमसीको सोमबारको बैठकले निशेधाज्ञा खुकुलो बनाउने गरी गरेको सिफारिसपछि जिल्ला प्रशासनले सोही प्रकारको व्यवस्थापन मिलाएको थियो । बैसाख २० पछि पहिलो पटक साताभरी बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् । बित्तिय संस्था बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि खुलाइएको हो । सार्वजनिक यातायात नखुलेपनि मंगलबार बिहानैदेखि कालो प्लेटका जिपले यात्री र निर्माण सामग्री ओसारेका थिए ।
मंगलबारदेखि बस र होटल व्यवसाय मात्रै पूर्ण रुपमा बन्द भएको गण्डकी धौलागिरि बस व्यवसायी कम्पनीका अध्यक्ष उमेश केसीले बताए । उनले सामाजिक संजालमा समेत बस व्यवसायी मारमा परेको लेखेका छन् । ‘सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पुरा गरेर बस चल्न पाउनुपर्छ’ उनले भने, ‘लामो दुरीको अवस्था अझै सुधार नआएपनि छोटो दुरी चल्दा यात्रीले सहज अबस्था पाउने थिए ।’
कर तथा राजश्व तिर्ने, योजनाहरु फरफारक गर्ने, बाँकी रहेका निर्माण योजना पुरा गर्ने भएपछि नियमित बजारमा आउने, सामग्री खरिद गर्ने र यातायातका साधन चाहिन्छन् । रातो प्लेटका सवारीमा जोरबिजोर प्रणाली भनेपनि सार्वजनिक यातायातलाई बैधानिक रुपमा नखुलाएकोले बिहान बजारबाट निस्केर दिउँसो गाउँ पुग्नेगरी हिँडेको जिपका चालकले बताए ।





