बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोलाका वडा कार्यालय सिसिक्यामेराको निगरानीमा !

काठेखोलाका वडा कार्यालय सिसिक्यामेराको निगरानीमा !


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७८, बुधबार

बागलुङ, ९ असार– दुई वर्षअघि वडा कार्यालयमा आएका सेवाग्राही र कर्मचारीबीच भनाभन भएपछि हातपात नै भयो । टाढाबाट आएका सेवाग्राहीले समयमा काम नदिएको भन्दै आक्रोस पोखे । कर्मचारीले विधि अनुसारका कागजात नपुगेको भनेर काम रोकेका थिए ।
विवाद बढेपछि भएको हातपातमा कस्को कति गल्ती भयो । हात कस्ले पहिला छोडेको हो भनेर खुट्यान त्यहाँ साँची थिएनन् । पक्ष विपक्षका समान दाबी थिए । जिल्ला प्रहरी कार्यालयमा पुगेको घटना मिलापत्रमा टुंगो लाग्यो । घटना हो काठेखोला गाउँपालिका–७ रेश वडा कार्यालयको ।
नागरिकताको लागि सिफारिस लिन पुगेका सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिबीच भएको घटना वडाले सम्झिरहेको छ । तर त्यसको न कुनै लिखत छ न कसैले दृष्य खिचेर राखेको छ । अब भने काठेखोला गाउँपालिकाका वडाहरुमा घटना पछिको प्रमाणको खाँचो हुनेछैन । वडामा हुने गतिविधिलाई श्रव्यदृष्य संचित गरेर राख्नका लागि गाउँपालिकाले वडा कार्यालयहरुमा सिसिक्यामेरा जडान गरेको छ ।
गाउँपालिकाका सबै वडालाई सुरक्षित गर्नका लागि सिसि क्यामेराको निगरानीमा राख्न थालिएको प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले बताए । ‘निगरानीको गलत अर्थ नलागोस्, वडाले नै आफ्नो कार्यालयको निगरानी गर्न सक्नेगरी क्यामेरा जडान भएका छन्’ कार्की भन्छन् ‘सरकारी दस्तावेज र सम्पत्ती सबैको सुरक्षाका लागि हामीले काम थालेका हौं ।’
वडामा आउने समस्या र सरकारी कार्यालयमा हुनसक्ने चोरीको निगरानी तथा समस्या आएपछिको निदानका लागि प्रमाण जुटाउन वडामा सिसिक्यामेरा जडान भएको हो । गाउँपालिकाले आफ्नै वडा कार्यालय भवन रहेका चार वडामा क्यामेरा जडान गरिसकेको छ । वडा नं. ७ रेश, वडा नं. ८ लेखानी, वडा नं. २ भिमापोखरा र वडा नं. ३ धम्जामा क्यामेरा जडान भएका छन् । वडा नं. १ पालमा भवन रंगरोगनको काम चलिरहेकाले काम सकिएपछि क्यामेरा जडान हुनेछ भने वडा नं. ६ को भवन निर्माणाधिन अबस्थामा छ ।
वडा नं. ५ र ४ को भवन निर्माण भएपछि क्यामेरा जडान हुने गाउँपालिकाले जनाएको छ । ‘क्यामेराले धेरै सहयोग गर्छ, सबैको मत एकै खालको र व्यवहार एकै खालको हुँदैन’ वडा नं. ७ का अध्यक्ष प्रेम लामिछाने भन्छन् ‘सजग रहन बाध्य बनाउन सके मात्रै मानिस अनुशासित हुन्छ भन्ने लाग्यो ।’
चालु आर्थिक बर्षमा जडान भएका क्यामेरा तथा जडान खर्चसमेत गरेर दुई खाल रुपैयाँ खर्च भएको छ । गाउँपालिकाले कार्यालयहरुलाई प्रविधिमैत्री र जनउपयोगी बनाउने अभियान चलाई रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->