बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोभिड नियन्त्रणमा सीमित दरबन्दी

कोभिड नियन्त्रणमा सीमित दरबन्दी

धेरै बिरामीको उपचारमा खटिने थोरै जनशक्ति थिए । त्यसमा पनि केही स्वास्थयकर्मी संक्रमित भएर आइसोलेसन बसेपछि एक्लै चौबिसै घण्टा खटिनु परेको थियो ।


  • ढोरपाटन सम्वाददाता
  • असार ११ २०७८, शुक्रबार

बागलुङ, ११ असार– सदरमुकामस्थित धौलागिरि अस्पतालमा दर्जन बढी डाक्टर र विशेषज्ञ छन् । दर्जनौं नर्स र अनमीको दरबन्दी पनि छ । करारमा पनि कतिपय भर्ना गरिएको छ । तर, ग्रामीण क्षेत्रमा कम दक्ष जनशक्तिले आइसोलेसन धानेका छन् ।
कोरोनाको उच्च जोखिम बढेको बेला पनि उनीहरुले चौबिसै घण्टा खटेर सेवा गरिरहेका थिए । अहिले पनि उनीहरु निरन्तर खटिएका छन् । बरेङस्थित कोभिड अस्पताल र विद्यालयमा राखिएको आइसोलेसनमा डा. लक्ष्मी पन्थी एक्लै थिइन् । अन्य २ नर्स र अनमीको भरमा उनले १ सय ६५ बढी बिरामीलाई उपचार गरिन् । कतिपय घरमा पुगेर कतिपयलाई अस्पतालमा ल्याएर उपचारपछि निको बनाएको उनले बताइन् ।
‘जटिल समस्या भएकालाई पोखरा र बागलुङ पठाउन खोजें, तर बेड छैन भन्ने जानकारी पाएर यहीं उपचार गराएँ,’ उनले भनिन्, ‘धेरै जना भएपछि अनुभव पनि आदानप्रदान हुन्छ, एक्लै हुँदा हतोत्साही भइन्छ ।’ तर सबैको साथ र सहयोग पाएर उपचारमा खटिएको उनले बताइन् । बरेङले स्वास्थ्य चौकी र सर्वोदय माविलाई आइसोलेसन बनाइएको थियो । नियमित घरभेट, बिरामीको उपचार र परामर्श पनि डा. पन्थीले काम गर्न भ्याएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
ढोरपाटन नगरपालिकाको कोभिड अस्पताल छैन । प्राथमिक स्वास्थ्य केन्द्रमै सबै उपचार गर्नुपर्छ । डा. मिलन मल्लले नियमित उपचार र खोप सेवासहित कोभिडका बिरामी पनि हेर्नुपरेको बताए । यहाँपनि धेरै बिरामीको उपचारमा खटिने थोरै जनशक्ति थिए । केन्द्रका केही स्वास्थयकर्मीसमेत कोभिड भएर आइसोलेसन बसेपछि मल्लले एक्लै चौबिसै घण्टा खटिनु परेको अनुभव सुनाए ।
यो समस्या ताराखोलादेखि बडिगाडसम्म पनि भयो । बडिगाडले कोभिडमा ठूलो समस्या र क्षति व्यहोर्नुपरेको स्वास्थ्य शाखाका प्रमुख चुडामणि कँडेलले बताए । घर घरमा पुगेर बिरामीको खोजपड्तालमा हामी सबै खटियौं,’ उनले भने, ‘ग्वालीचौर स्वास्थ्य चौकीका सिमित जनशक्तिबाटै सबै सेवा प्रवाह गर्नुपरेको थियो ।’ पछि त्रिभूवन माविमा बनाइएको आइसोलेसन सेन्टरमा समेत नियमित पुगेर उपचारमा खटिने काम चुनौतीको भएको उनको अनुभव छ ।
ताराखोलाले संक्रमण शून्य बनाइसकेको छ । दैनिक संक्रमितको घर घरमा भेटेर उनीहरुको समस्या बुझ्ने र उपचारमा खटिने कामबाट सफलता मिलेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिए । ‘जनप्रतिनिधिले पनि निरन्तर सहयोग गरेकाले सजिलो भयो,’ उनले भने, ‘सदरमुकाम पुगेर मैले आफंै औषधिसमेत बोकेर ल्याएँ ।’ आमा समूहले कोभिड संक्रमितको उपचारमा साथ दिएको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंका अनुसार, ग्रामीण क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको बताए । मुख्यमुख्य केन्द्र र पालिका कार्यालय रहेका स्थानमा एकएक जना डाक्टरको व्यवस्थापन गर्न सकेमा मात्रै कोभिडसहित अन्य उपचार सहज र छिटो हुने उनले बताए । ‘कोभिडले धेरै पाठ सिकाएको छ, अब सबै स्वास्थ्य संस्थामा अक्सिजनदेखि स्वास्थ्यका सामग्री प¥र्याप्त चाहिन्छ,’ उनले भने, ‘जनशक्ति पनि बढाउनु पर्छ ।’ अहिले पनि सबै स्वास्थ्य संस्थामा ओपिडी, इमरजेन्सी, खोप सेवा, सुरक्षित सुत्केरी सेवा लगायतका काम हुन्छन् । जटिल समस्या आएमा डाक्टर समेत भएमा स्वास्थ्यकर्मीको मनोबल उच्च हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->