बागलुङ, ११ असार– गाउँपालिकाबाट विनियोजन भएर काम सकिएका योजनाको भुक्तानीका लागि असार मसान्त नकुर्न दक्षिण बागलुङको बरेङ गाउँपालिकाले आग्रह गरेको छ । उपभोक्ता समितिलाई असार २० गतेभित्र योजनाको भुक्तानी लिइसक्न गाउँपालिकाले ताकेता गरेको हो ।
‘असार मसान्त कुर्ने र समयमा काम नगर्ने परिपाटीको अन्त्यका लागि हामीले यो कदम चालेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने, ‘अधिकांश योजनाको काम सकिएको छ, प्रगति विवरण राम्रो छ ।’ योजनाको काम सकिएर फरफारक गर्न बाँकी रहेका योजनाका उपभोक्ता समितीलाई गाउँपालिकाले समयमा नै फरफराक गर्न अनुरोध गरेको हो ।
कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थिती र बन्दाबन्दीबीच पनि आर्थिक वर्ष ०७७÷०७८ मा सम्पन्न योजनाहरुको भुक्तानी लिन बाँकी रहेका उपभोक्ताहरुलाई असार २० गतेभित्र भुक्तानी लिन थापाले अनुरोध गरेका हुन् ।





