शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

रुपाको नीति : गाउँभरी फ्रि वाइफाइ (पूर्ण पाठ)

रुपाको नीति : गाउँभरी फ्रि वाइफाइ (पूर्ण पाठ)


  • ढोरपाटन सम्वाददाता
  • असार १२ २०७८, शनिबार

पोखरा, १२ असरा– कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को बजेट पेश गर्दै गाउँपालिकामा निःशुल्क वाइफाइको व्यवस्था गर्ने घोषणा गरेको छ । गाउँपालिकाले पालिकाका ५२ ठाउँमा निःशुल्क वाइफाई जोन बनाउन १० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार गाउँवासीलाई सूचना प्रविधिसँग जोड्ने उदेश्यले यो निर्णय गरिएको हो ।
पालिकाले अस्पताल, स्वास्थ्य चौकी निर्माणमा १ करोड ९५ लाख विनियोजन भएको छ । टुक्रेभन्दा ठूला आयोजनामा जोड दिँदै आएको पालिकाले एउटै सडकमा ४ करोडभन्दा बढी विनियोजन गरेको छ । रामकोट–रामदी सडकका लागि २ करोड ८२ लाख विनियोजन गरिएको छ भने सोही सडकको देउराली मज्र्याङकोट खण्डका लागि १ करोड ५० लाख छुट्टै विनियोजन भएको छ । अन्य सडकका लागि २ करोड ९० लाख छुट्याइएको छ ।गाउँपालिकाले व्यावसायिक कृषिका माध्यमवाट स्वरोजगार बनाउँदै उत्पादन र उत्पादकत्व बढाउनको ‘एक घर ः एक उत्पादन’भन्ने लक्ष्यका साथ यस वर्ष ‘एक घर ः एक टनेल’ कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ भने पानी, हावा र असिना समेतबाट जोगाउनुका साथै सानो जग्गामा बढी उत्पादन लिन सकिने टनेल प्रति कृषकको आकर्षण बढेसंँगै गाउँपालिकाले एक घर एक टनेलको अवधारणा अघि सारेको हो ।

 

 “रुपाको पहिचान सबै क्षेत्रमा समृद्धिको अभियान”

 रूपा गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट (पूर्ण पाठ)

आदरणीय गाउँसभाका सदस्य ज्यू, आमन्त्रित महानुभाव, कर्मचारी एवम् पत्रकार मित्रहरु, एवम् सम्पुर्ण उपस्थित मित्रहरु,

म अब हाम्रो कार्यकालको संक्षिप्त समिक्षा गर्न चाहन्छुः-

रूपा गाउँपालिकाको नेतृत्व गरेको चार वर्ष पूरा भएर अन्तिम वर्षमा आउँदा सम्म धेरै महत्वपूर्ण उपलब्धीहरु हासिल गरेका छौं । गाउँपालिकाको विकासको लागि जनप्रतिनीधि, कर्मचारी लगायत सम्पूर्ण सामाजिक, राजनितीक एवम् रूपा बासी सम्पूर्ण जनसमुदायसँग समन्वय गरी काम गर्न सक्नु नै हाम्रो प्रमुख सफलताको कडी हो ।”रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान” भन्ने मूलनारालाई सार्थक बनाउन गाउँपालिकाको सबै शक्ति परिचालन गरी संघ, प्रदेश र अन्य संघसंस्थाहरुसँग समन्वय गरी जनताको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक, राजनैतिक रूपमा समृद्धिका बनाउनको लागि हामी सबैले अनुभुति गर्ने गरी आधारशिला खडा गरेका छौं ।

हामि निर्वाचित हुँदा भर्खरै मात्र विनाशकारी महाभुकम्पले थिलो-थिलो पारेको थियो । पिडितले पहिलो किस्ताको रकम समेत पाउन सकिरहेका थिएनन् । हाम्रो पहल पछि घर बनाउन ईच्छुक भुकम्प पिडित लाभग्राहीमा नाम समाबेश भएकाहरुको रकम निकासा भई अधिकांश घर निर्माण भएका छन् । यही विचमा महाभुकम्पले पिल्सएका रूपा बासी जनताहरुको घाउमा मलम पट्टी लगाउँदै गर्दा तपाईं हामी कसैले नसोचेको विश्व जगतका मानव समुदायलाई नै बन्दी र आतङ्कित बनाउने कोरोना भाईरस कोभिड-१९ ले द्रुत र तिव्र गतिमा सञ्चालन भइरहेका विकास निर्माण लगायतका अन्य कामहरूलाई ठप्प पार्ने गरी हाम्रो गाउँपालिकालाई पनि अछुतो राख्न सकेन यसको रोकथामको लागि सचेतना, प्रचार-प्रसार, क्वारेन्टाईन सञ्चालन, प्रत्येक विरामीको घरमा आयुर्वेद ‌­औषधी पुर्‍याउने, स्वास्थ्य सामाग्री वितरण गर्ने, स्वास्थ्यकर्मीलाई निगरानी गराउने, पोषणयुक्त खानेकुराहरु वितरण गर्ने लयागतका काम गरि कोरोना भाईरस कोभिड-१९ रोगको रोकथाम गर्न सकिएको यहाँहहरूलाई अवगत नै छ । यस कार्यमा खट्नुहुने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सबैलाई उच्च सम्मान सहित धन्यबाद ज्ञापन गर्दछु ।

यस कार्यकालमा अत्याधिक मात्रामा परेको वर्षाको कारणले पनि घरहरु विस्थापित हुने, बाटो अबरुद्ध हुने र धेरै खेतीयोग्य जमिन कटान भई नष्ट भएको छ । यसको लागि संघ, प्रदेश सँग समन्वय गरी हाम्रो स्थानीय तहबाट गरी क्षतिपूर्ती र संरक्षणको काम गरिएको छ । विभिन्न समस्याको बाबजुद पनि स्थानीय तहको पहिलो अभ्यास भएकाले ऐन कानुन, नियमावली, कार्यविधि निर्माण गरी गाउँपालिकामा सुशासन युक्त सेवा प्रवाह गर्न सफल भएका छौं ।सडकको पिचको नाम नै नरहेको गाउँपालिकामा ९० कि.मी. बाटो निर्माण गर्नु, ९०% घरमा एक घर एक धारा खानेपानी पुर्‍याउनु, गरिव तथा निमुखा जनताहरुको खरले छाएको छानो विस्थापन गरी टिनले छाउने कार्यक्रम सञ्चालन, प्राविधिक शिक्षा, स्वास्थ्य संस्थामा ल्याब सहितको स्वास्थ्य सेवा, डाक्टर फार्मसी सहितको १५ शैयाको अस्पताल सञ्चालन, सबै वडामा स्वास्थ्य संस्था विस्तार, पर्यटकीय हिसाबले पहिचान बनाउन अग्रसर हुने, कृषी तथा पशु विकासमा करोडौं लगानी भित्र्याई ८ वटा मात्र फर्म र सहकारी संस्था रहेको रूपालाई ४०० भन्दा  बढी  फर्म तथा सहकारी समूह खोली  स्वरोजगार र उत्पादन गर्न सक्ने बनाउनु नै सफलता हो भन्न सकिन्छ ।महिला, दलित, जनजाति तथा लक्षित वर्गहरुमा समाबेशि कार्यक्रमहरु मार्फत उनीहरुको  सशक्तिकरण र आर्थिक समृद्धिको लागि कार्य सञ्चालन गर्नु र न्यायीक पद्धतिलाई स्वच्छ बनाउनु समृद्धिको दिशा तर्फ लागेको अनुभुती गर्न सकिन्छ ।स्थानीय तहले न्याय निरूपण गर्नाले जनतालाई अदालत सम्म पुग्नु पर्ने वाध्यताको अन्त्य भएको छ । सिँचाईका कुलो, तटबन्ध, भू-संरक्षण, सामुदायिक वनको विकास लगायत धेरै कार्यहरु गरिएको छ । यसै आ.ब.मा सम्पन्न हुने गरि नेपाल सरकार सशर्त अनुदान पुँजीगत कार्यक्रम तर्फ लोदी झो.पु., तालबेशी झो.पु., चोरगौंडा वास्कोट दोवान खोला झो.पु, विर्दी दोभान खोला झो.पु, थातिहर पिप्ले लाग्दी खोला झो.पु, दुलैकोट झो.पु, खाल्टे खोला ट्रस्ट पुल को काम तिब्र रूपमा अगाडी बढाईएको छ । रूपा गाउँपालिकामा रहेका शहिद, वेपत्ता जनआन्दोलनको घाईते परिवारलाई सम्मान गर्ने र श्रष्टाहरुलाई सम्मान गर्ने र उनिहरुको क्षमता विकासमा प्रोत्साहन गर्ने कार्य गरिएको छ । सुकुम्बासी, भुमिहिन व्यक्तिहरूको लागि भोगचलन गर्दै आईरहेको जग्गाको लालपुर्जा वितरणका लागि प्राविधिकहरूद्धारा जग्गा नापजाँच कार्य तिब्र रुपमा अगाडी बढाईएको छ ।

हुन त चार वर्ष सम्म अहोरात्र खटेर गरेको कामको वृहत रूपाको संगालो मा प्रकाशन गरिएको छ । दृढ ईच्छा शक्ति, समन्वय र सबै शक्तिलाई परिचालन गर्न सकियो भने केहि गर्न सकिन्छ भन्ने हाम्रो समृद्धिको यात्रा ज्वलन्त उदाहरण देखाउन सकिएको छ ।

आदरणीय गाँउ सभा सदस्य ज्यूहरु

अब म आ.ब. २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छुः-

रूपाको समृद्धिको आधार वर्षको रूपमा यस वर्ष उत्पादनमूलक र लगानी मैत्री वातावरण सिर्जना गर्न प्रयाप्त ध्यान दिदै कृषि वर्षको रुपमा मनाउने र पर्याप्त स्वरोजगार सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको छ । जनताको आयस्रोत बृद्धिका लागि कृषि, पशु, खाद्य सुरक्षा,स्वच्छ खानेपानी, स्वास्थ्य, ,शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानी आवश्यक बजेट विनियोजन गर्ने नीति लिईने छ  ।

श्रम तथा युवा रोजगार :–

  • रूपा गाउँपालिकाका युवाहरुलाई स्वरोजगार बनाउनको लागि गाउँपालिकाको तर्फबाट वित्तीय संस्थाहरुसंग समन्वय गर्दै सामाजिक उत्तरदायित्व पूरा गरि आफ्नो पेशा व्यवसायलाई सफल बनाउनको लागि “हातमा सिप: सबै ठाउँमा ठिक” नाराका साथ गाउँपालिकाको तर्फबाट मागको आधारमा तालिमको व्यवस्था गरिनेछ ।
  • व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्नको लागि सहकारी स्थापना गरी त्यस मार्फत बेरोजगारी तथा युवाहरुलाई उनीहरुको लगानी तथा उत्पादन भएका वस्तुहरुको व्यवस्थापन गर्ने र पुँजी कम भएका व्यवसायीहरुलाई न्यूनतम व्याजदरमा व्यवसाय गर्ने वातावरण सिर्जना गरिने छ ।
  • वैदेशिक रोजगारबाट कोभिड-१९ का कारण रोजगार गुमाएर फर्किएका युवाहरुलाई उनीहरुको चाहना अनुसारको कृषि, पशुपालन तथा अन्य व्यवसाय गर्ने वातावरण मिलाई आवश्यक सहजीकरण गरिनेछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विकास निर्माणमा जोडी युवाहरूलाई स्वरोजगार बनाई परिचालन गरिने छ ।

कृषि :–

  • रूपा गाउँपालिका भित्र “एक घर एक उत्पादन” भन्ने उद्देश्यका साथ यस वर्ष “एक घर एक टनेल” कार्यक्रमको व्यवस्था मिलाईने छ । जसका कारण गाउँपालिकाको तरकारीको उत्पादनमा उल्लेख्य वृद्धि हुनेछ ।
  • कृषिलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री कृषिलाई प्रोत्साहन गरी यान्त्रीकरणमा जोड दिने व्यवस्था मिलाई “एक वडा एक नर्सरी” मार्फत किसानलाई व्यवसायमूलक बनाई स्वरोजगारको सिर्जना गरिनेछ ।
  • गुणस्तरीय बेर्ना उत्पादन गरी किसानको सहज पहुँच हुने गरी आवश्यकता अनुसार उपलब्ध गराउने व्यवस्था गरिने छ ।
  • संघ, प्रदेश निजी र अन्य संघ/संस्थाहरुसँग समन्वय गरी गाउँपालिका भित्रका उत्पादनशिल जग्गामा व्यवसायिक खेती गर्न पकेट, ब्लक तथा ठूला फर्म सञ्चालन गर्ने वातावरण मिलाईने छ ।

पशु :–

  • पशुपालनमा रूपा गाउँपालिका अत्यन्त सम्भावना भएको क्षेत्र हो । यसलाई मध्यनजर गर्दै पशुपालनमा NLSIP प्रोजेक्ट संग समन्वय गरी २० करोडको सम्झौता गरी १० समूहका ३०० जनालाई प्रत्यक्ष लाभ पुगेको यो कार्यालाई प्रभावकारी बनाउनको लागि गाउँपालिकाले वित्तीय संस्था संग समन्वय गरी गाउँपालिकाको तर्फबाट कोष खडा गर्ने कामको व्यवस्था मिलाईने छ ।
  • पुँजीको अभावमा व्यवसाय गर्न चाहने युवालाई युवा तथा स्वरोजगार कोष मार्फत सस्तो व्याज दरमा ऋण उपलब्ध गराई स्वरोजगार बनाइने छ ।
  • किसानलाई व्यबसायिक पशुपालन प्रेरित गर्नको लागि “एक टोल एक कृषक समूह” गठन गरी व्यवसायलाई व्यापक बनाउने नीति लिइने छ ।
  • अत्यन्त न्यून रूपमा रहेको उन्नत जातको पशुपालन व्यवसायलाई न्यूनतम १० प्रतिशत बनाउन कृत्रिम गर्भाधारणमा शतप्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिईने छ ।
  • बैंक तथा वित्तीय संस्थाहरूसंग समन्वय गरी किसानहरुलाई सहुलियत दरमा ऋण प्रबाह गर्नको लागि आवश्यक समन्वय गरी व्यवसायिक पशुपालन र कृषि उत्पादनमा प्रोत्साहन गरिने छ ।
  • कृषि र पशुपालन गर्ने किसानलाई समस्या नपरोस भन्ने उद्देश्यले घर घरमा कृषि प्राविधीक पुर्‍याउन मोबाइल/मोटरसाईकल सेवा प्रवाह गरिने छ । जसले गर्दा जुन किसानहरु समस्यामा परेका छन् कृषकले तत्काल कृषि प्राविधिक सेवा प्राप्त गर्नेछन् ।

पर्यटनः-

  • रूपा गाउँपालिका लाई पर्यटनको गन्तब्य बनाउनको लागि यहाँको भौगोलिक, धार्मिक, सांस्कृतिक रूपमा रहेको रूपाको सम्पत्तिलाई अधिकतम प्रयोग गरी पर्यटनको विकास गर्न सबै डाँडाहरु जोडेर बहुउद्देश्यीय पदमार्ग सहित शान्ति पार्क निर्माणको बृहत् कार्य अगाडि बढाइने छ ।
  • यस गाउँपालिकाको पौराणिक महत्वका रुपमा रहेका मठ, मन्दिर, मस्जिद, गुम्बाको संरक्षण गर्दे एक वडा तीन चौतारी निर्माण कार्यक्रम सञ्चालन गरिने छ । जसले गर्दा बर पिपलको संरक्षणमा योगदान पुग्नेछ ।
  • आन्तरिक तथा बाह्य पर्यटनलाई लक्षित गरी विभिन्न वडाहरुमा होमस्टे सञ्चालनमा आइरहेका छन् भने बाँकी रहेका स्थानहरुमा व्यबस्थित होमस्टे सञ्चालन र प्रवर्द्धन गरिने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • पर्यटनको सम्भावना बोकेको यस गाउँपालिकाभित्र विभिन्न वडा तथा स्थानहरुमा भ्यू टावर निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् भने बाँकी स्थानहरुमा भ्यू टावरहरुको निर्माण यस वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । साथै कृषि, वन,पर्यटनलाई समेत प्रवर्द्धन गर्ने नीति लिइने छ ।

वन :–

  • “सामुदायिक वन जनताको आर्थिक समृद्धिमा योगदान” भन्ने मूल नाराका साथ सबै सामुदायिक वनमा १ हजार गुर्जो उत्पादन कार्यक्रम लागू गरिने छ ।साथै अन्य जडीवुटी उत्पादनमा जोड दिई प्रशोधन गरि बजार सम्म पुर्‍याउने व्यवस्था मिलाइने छ ।
  • वन सँग काम गर्ने संघ संस्था सँग समन्वय गरी वनमा आधारित उद्यम सञ्चालन गरी सिजनिङ्ग मेशिन, दिगो वन व्यवस्थापन गरिने छ ।
  • लालीगुराँस संरक्षित क्षेत्र घोषणा मार्फत मनोरम ठाउँको निर्माण गरी पर्यटकीय हिसाबले आवश्यक व्यवस्थापन गरिने छ ।
  • “सामुदायिक वन जनताको आय आर्जनमा योगदान” भन्ने मूल नाराका साथ यहाँ भएका काठ, दाउरा, जडीबुटी लगायतका वस्तुको अधिकतम प्रयोग तथा वनको दिगो व्यवस्थापन गरी जनताको आयस्तर बढाउनको लागि वन सम्बन्धी सबैको साझा लगानीमा सिजनिङ्ग उद्योगको रूपमा स्थापना गरी युवाहरुलाई रोजगारीमा जोडिने छ ।
  • वन संरक्षण र प्रवर्द्धन गर्दे व्यबस्थित वन सौन्दर्यकरण गरी वन्यजन्तु व्यबवस्थापन सँगै वन पर्यटनलाई प्रवर्द्धन गरिनेछ । साथै एक सामुदायिक वनलाई नमूना  वन नर्सरी  उत्पादन गर्न लगाइने छ । साथै डढेलो नियन्त्रणका लागि तथा औजार खरिद गरिने छ ।
  • सामुदायिक वनको संस्थागत विकासमा आवश्यक काम गरिने छ ।

खानेपानी :–

  • रूपा गाउँपालिका भित्र ९५ प्रतिशत घरमा एक घर एक धारा सम्पन्न भएको छ । बाँकी स्थानमा योजनाको सञ्चालन भईरहेको छ । यस वर्ष सबै स्थानमा स्वच्छ र सफा पानी पुर्‍याउनको लागि खानेपानी मुहान तथा मुल संरक्षणको नीति लिइने छ । 

सिँचाईः-

  • गाउँपालिका अन्तर्गत खेती योग्य जमिन रहेका ठुला टारहरुको सौर्य लिफ्टीङ्ग सिँचाईको लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरि योजना अगाडी बढाईने छ भने साना सिँचाई अन्तर्गतका साना कुलोहरुको गाउँपालिकाबाट नै योजनामा समाबेश गरी कार्य सञ्चालन गरिने छ ।

स्वास्थ्य :–

  • कोभिड १९, कोरोना भाइरसका कारण विश्वमा नै प्रभाव पारेको यो अवस्थामा रूपाबासी जनतालाई सुरक्षित बनाउनको लागि कुनै पनि कसुर बाँकी नराखी रोगको रोकथाम, उपचार तथा सहयोगको लागि रकम व्यवस्थापन गर्ने नीति लिइएको छ । स्वास्थ्यकर्मी लगायतको सुरक्षामा विशेष सतर्कता अपनाउने नीति लिइएको छ ।
  • विपद व्यवस्थापन कोष खडा गरिएको छ र खाद्य सुरक्षा साथै स्वास्थ्य व्यवस्थापन गर्ने नीति लिइने छ ।
  • रूपाका जनताको स्वास्थ्यमा पहुँच पुगोस भन्ने हेतुले सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
  • गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुलाई स्तरोन्नती गरिने छ ।
  • यस वर्ष बजारसम्म विरामी लैजाने बाध्यात्मक परिस्थीतिलाई कम गर्न र स्वास्थ्य सेवामा जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नको लागि रूपाकोट अस्पताल सञ्चालनमा ल्याईएको छ ।जसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको लागि चमेना गृह, फार्मेसी, एम्बुलेन्स, ल्याब व्यवस्थापन गर्ने नीति लिइने छ । साथै अस्पताललाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न १५ शैयाको अस्पताल भवन निर्माण र व्यवस्थापन गर्न क्रमागत योजनाको रुपमा बजेट विनियोजन गरिने छ ।

शिक्षा :–

  • रूपा गाउँपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने नीति लिइएको छ । जसको लागि यसै बर्ष “एक्काइसौं शताब्दीको शिक्षाको आधार प्रविधिपूर्ण शिक्षाको उपहार” का लागि लागत साझेदारीमा एक शिक्षक एक ल्यापटप उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईने छ । साथै विद्यालयहरुमा इन्टरनेटको पहुँच विस्तार गरिनेछ ।
  • माध्यामिक तहसम्म निशुल्क शिक्षा प्रादन गर्ने नीति लिईने छ ।
  • तालिम प्राप्त शैक्षिक जनशक्ति उपलब्धीपूर्ण नतिजाको प्राप्तीका लागि तालिम कार्यशाला सञ्चालन गरिनेछ । स्थानीय विषयबस्तुको पहिचानका लागि स्थानीय पाठ्यक्रमको कार्यान्वयन गरिनेछ ।
  • हालको विषम परिस्थितीमा शैक्षिक गतिविधी सञ्चालन गर्न बैकल्पिक विधिलाई अबलम्बन गरिने छ । स्वास्थ्य र सक्षमताका लागि खेलकुद विकासका कार्यक्रम तय गरिनेछ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बालविकास सहजकर्ता, कक्षा शिक्षक तथा प्र.अ. प्रोत्साहन, अंग्रेजी माध्ययमको पाठ्यपुस्तक, शैक्षिक क्लालेण्डर, शिक्षक डायरी, पोशाक लगायतका कार्यलाई निरन्तरता दिइएको छ ।
  • दक्ष जनशक्ति नै रूपाको विकासको मुल आधार हो, तसर्थ प्रदेश स्तरीय प्राविधीक शिक्षाको लागि रूपा गाउँपालिका भित्रका ३ वटै विद्यालयको प्रविधि शिक्षालाई गुणस्तरीय बनाई शिक्षा प्रदान गर्ने नीति लिइने छ ।
  • विषयगत शिक्षक समुह गठन परिचालन मार्फत विषयगत सिकाई, उपलब्धी वृद्धि गर्ने नीति लिइने छ ।

पूर्वाधार विकासः- 

  • सबै जनताको पहुँच कार्यालय सम्म हुनुपर्छ भन्ने उद्देश्यले वडा नं.१,४,६ र ७ सम्म पुग्ने बाटो पक्की बनाई वडा कार्यालय सम्म सहजै बाटो पुग्ने नीति बनाई सबै वडा कार्यालय सम्म पक्की बाटो बनाईने छ ।
  • अधुरा रहेका योजनाहरूलाई सम्पन्न गर्नको लागि विशेष प्राथमिकतामा राखि सम्पन्न गर्ने गरी व्यवस्था मिलाईने छ ।
  • रूपा गाँउपालिकाका रणनीतिक महत्वका मुख्य सडकहरु मध्ये शिशुवा पोल्याङटार सडक खण्डमा हाल पिच गर्ने कार्य सम्पन्न भएको छ भने केही स्थानहरुमा मर्मत कार्य सञ्चालन भईरहेको छ।
  • वेगनास भोर्लेटार सडक खण्ड पिच गर्ने कार्य सम्पन्न भई सकेको छ ।
  • रूपा रिङरोड, हाङगे वाङगे , शिवचण्डी मोटरबाटो, देउराली, फेदी, रामदी, माउडाँडा, फैँचोक मोटरबाटो, मादि करिडोर केन्द्रिय योजनामा परि कार्य अगाडी बढाईएको छ । यस वर्ष पनि संघीय सरकारबाट बजेट थप भएको छ ।
  • रूपा गाँउपालिकाको केन्द्र फालभञ्जाङ जोड्ने रामकोट रामदी स्तरोन्नती गरी ५.१ कि.मी. अस्फाल्ट पिच गर्नको लागि द्रुत गतिमा काम अगाडी बढेको यसै आ.ब.मा सम्पन्न गरिने छ । सोही सडक खण्ड अन्तर्गत बाँकी रहेको देउराली देखि रामदी सम्मको सडक खण्ड पनि यसै वर्ष स्तरोन्नती गर्ने गरी बजेट विनियोजन गरिने छ ।
  • फालभञ्ज्याङ्ग चिसापानी मो.बा.द्रुत गतिमा पिच गर्ने कार्य सम्पन्न भइ सकेको छ ।
  • गाउँपालिका स्तरीय प्याराफिट सहितको स्टेडियम द्रुत गतिमा निर्माण कार्य अगाडी बढिरहेको छ साथै सम्पन्न गर्नका लागि क्रमागत रुपमा बजेट विनियोजन गरिने छ।
  • गाउँपालिका भित्रका सबै वडामा खेल मैदान बनाउने कार्यक्रमलाई निरन्तारता दिइनेछ ।
  • साथै विकास निर्माणको कामको लागि गुणस्तरीयता कायम गर्नको लागि अधिकतम पहल गर्ने नीति लिइने छ ।

सामाजिक विकास 

  • महिला तथा बालबालिकाको आय आर्जन, क्षमता विकासका लागि उपाध्यक्षसँग महिला कार्यक्रम सञ्चालन गरिने छ ।
  • लक्षित वर्गको आयआर्जन तथा जीवनस्तर उकास्नका लागि सहकारी स्थापना गरी कार्यक्रम सञ्चालन गरिने छ ।
  • दलित समुदायको परम्परागत पेशालाई संरक्षण र आय आर्जनमा उक्त पेशाको प्रयोगका निमित्त आधुनिकीकरण गर्नका लागि आवश्यक तालिम तथा कार्यक्रम राखिने छ । साथै दलित,जनजाति, अल्पसंख्यक वर्ग कुमाल, बोटे जलारी, मुश्लिम, अपाङ्ग,सहिद परिवारको आय आर्जन अभिवृद्धि गर्ने उदेश्यले लागत सहभागितामा आधारित ब्यवसायीकरण अनुदान तथा तालिमको ब्यवस्था मिलाईने छ ।
  • अपाङ्गता भएका व्यक्तिहरुको आय आर्जन लाई लक्षित गरी गाउँपालिका र गैरसरकारी संस्थाको समन्वयमा विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्ने प्रवन्ध गरिने छ ।
  • रूपा गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरु गाउँपालिकाका सम्पत्ति भएकाले उनीहरुको पारिवारिक दायित्व बोध गराउनको लागि पारिवारिक मिलान सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

भाषा तथा संस्कृति प्रवर्द्धनः-

  • रुपा गाउँपालिकाको संस्कार तथा संस्कृतिलाई जगेर्ना गर्नको लागि “सबै जातजातीको संस्कार पछिल्लो पुस्तालाई हस्तान्तरण” भन्ने मुल नाराका साथ रूपा गाउँपालिका भित्रका सबै जातजातिको दैनिक प्रयोगका बस्तु, भेषभुषा, सांस्कृतिक सामाग्री ऐतिहाँसिक सम्पत्तिको संरक्षण गर्ने गरी रुपा ७ हंसपुरमा ऐतिहाँसिक सांस्कृतिक संग्रहालयको स्थापना गरिने छ ।
  • यो प्रदेशको सबैभन्दा ठुलो र पुरानो गुठी भक्ती थापाको गुठी संरक्षणको लागि आवश्यक पहल गरिने छ ।साथै सबै खालका साँस्कृतिक सम्पदाको संरक्षण गरिने छ ।

वातावरण तथा विपद् ब्यवस्थापन

  • कोरोना महामारीले विश्व नै आक्रान्त बनाएको यस विषम परिस्थितिमा रुपा गाउँपालिकाका जनताका जिउधनको रक्षा गर्नको लागि सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने, PCR गर्ने तथा औषधी व्यवस्थापन गरी सबै क्षेत्रमा प्रभावकारी ढंगले उपचार र रेखदेखको व्यवस्था मिलाइने छ ।
  • यस वर्ष बाढी पहिरोले क्षति बनाएको घर विस्थापितहरुको पुर्नःस्थापना तथा राहतमा प्रभावकारी ढंगले व्यवस्थापन गर्न “विपद् प्रतिकार्य योजना” बनाई लागु गरिने छ ।
  • थुम्कि रुपाकोट लगायतका सडक तथा सार्वजनिक स्थलहरुमा सोलार बत्ती व्यवस्था गरिनेछ ।
  • भुकम्प प्रभावित भई विस्थापित भएका घरहररू निर्माण गर्ने कार्य द्रुत गतिमा चलेको छ ।
  • विपद्का दृष्टिले जोखिम क्षेत्रको पहिचान गरी आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरी विपद् बाट हुने क्षति न्यूनीकरण गरिने छ ।
  • गाउँपालिकामा विपद् व्यवस्थापन कोष खडा भई सञ्चालनमा आइसकेको छ । विपद्को बेला खोज, उद्धार, राहत र पुनस्थापना गर्न विपद व्यवस्थापन कोषमा रकम थप गरी विपद् पछिको उद्धार, राहत र पुर्नलाभमा खर्च गरिने छ । साथै विपद् व्यवस्थापन तथा उद्धारका लागि हरेक वडामा तालिम सञ्चालन गरिने छ ।
  • विकास निर्माणका काम गर्दा वातावरणमैत्री विकास गर्न जोड दिइने छ । जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन गरिने छ ।
  • वातावरण मैत्री स्थानीय शासनका मुलभूत मान्यतालाई आत्मसाथ गरिने छ । भू-संरक्षण र जलाधार संरक्षणमा जोड दिइने छ ।
  • बाढी पहिरो नियन्त्रणको लागि लागत सहभागितामा आधारित भई तारजालिको वितरण गरिने छ ।

सुशासन ,संस्थागत विकास, सेवा प्रवाह र विविध

  • रूपा गाउँपालिकामा आगामी वर्ष सबै वडाहरुमा डिजिटल वडापत्रको व्यवस्था गरिने छ ।
  • सार्वजनिक सेवा प्रवाह र सुशासन नतिजामूलक व्यवस्थापनको नीतिलाई अवलम्बन गरी सेवा प्रबाहलाई नागरिक र विकासमैत्री बनाईने छ ।
  • सार्वजनीक सेवालाई पारदर्शी, जवाफदेही, उत्तदायी र नागरीकमैत्री बनाइने छ । गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाको गुणस्तर सुनिश्चित गरिने छ । सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई सरलीकृत गरिने छ ।
  • गाउँपालिकाको नियमित सार्वजनिक सुनुवाई र सामाजिक लेखा परिक्षणका कार्यक्रम निरन्तरता दिइने छ ।
  • स्थानीय तहको बजेट तर्जुमा, खर्चको लेखाङ्कन र एकिकृत प्रतिवेदन गर्ने प्रयोजनका लागि SUTRA लगायतका सफ्टवयरहरु लागु गरी लेखाङ्कन व्यवस्थित गरिने छ ।
  • सार्वजनिक सेवालाई विद्युतीय प्रणाली मार्फत् सञ्चालन गर्न जोड दिइने छ ।
  • जनताले पाउने न्याय सम्बन्धी सेवा पाउनका लागि न्यायिक पद्धतिलाई प्रभावकारी बनाइने छ । साथै हरेक वडाहरुमा मेलमिलाप कर्ता साथै मेलमिलाप केन्द्रहरुको स्थापना गरिने छ ।
  • स्रोत साधनका अबैध र अत्याधिक दोहनको नियन्त्रण र ब्यवस्थापन गर्न उपयुक्त नीति बनाई व्यवस्थित गरिनेछ ।
  • सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै जनप्रतिनिधि र कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गरिने छ ।
  • गाउँपालिका अन्तर्गत विभिन्न (५४) स्थानहरुमा Free Wifi Zone स्थापना गरिने छ ।
  • विकास योजना तथा सेवा प्रवाहको कार्यान्वयन पक्षलाई प्रभावकारी, नतिजामुखी, गुणस्तरीय, जवाफदेही बनाउन अनुगमन र मूल्याङ्कन प्रणाली थप प्रभावकारी बनाइने छ ।
  • डिजिटल भिलेज प्रोफाइललाई पूर्णता दिई सो को तत्थ्याङ्कका आधारमा लक्षित बर्गका कार्यक्रम सञ्चालन गरिने छ ।

अन्त्यमा,

अहिलेको कोभिड १९ कोरोना भाइरसबाट उत्पन्न यस विषम परिस्थितिमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, संघ संस्था लगायत सबैमा पुन: धन्यबाद दिन चाहन्छु ।

समृद्ध रूपा बनाउनको लागि सुशासन, पारर्दशिता, जवाफदेहिता र विकासका निमित्त अन्य योजना समावेश गर्दे “ समृद्ध नेपाल सुखी नेपाली ” नारालाई सार्थक बनाउन सबै क्षेत्रमा विकास गर्नको लागि सबै पक्षलाई समेटी प्रदेशको नीति अनुसारको उद्देश्य पूरा गर्न प्रदेश तथा केन्द्रको समन्वयमा स्मार्ट रूपाको विकास गरिने विश्वास दिलाउँदै नीति तथा कार्यक्रम बनाउनका लागि सहयोग गर्नुहुने जनप्रतिनिधी कर्मचारी, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि तथा रूपाबासी जनसमुदाय सबैलाई धन्यबाद ज्ञापन गर्दछु ।

धन्यबाद ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->