बागलुङ, १२ असार– कोरोना महामारीको समयमा आर्युवेदिक औषधि, योग तथा साधनाको खोजी बढेसँगै धौलागिरी आर्युवेदिक औषधालयले सक्रियता बढाएको छ । औषधालयले गोष्ठी, सेमिनार, बैठक र चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
शिविरमार्फत आर्युवेदिक औषधिको वितरण र सर्वसाधारणमा आर्युवेदिक चिकित्साबारे जानकारी गराउने काम भैरहेको अस्पतालका प्रमुख डा. सरोज कुमार रायले बताए । औषधालयले गाउँघरमै पाईने जडिबुटीको पहिचान र त्यसको प्रयोग विधिका बिषयमा समेत सर्वसाधारणमा चेतना विस्तार अभियान थालेको छ ।
शुक्रबार औषधालयले स्थानीय स्तरमा उपलव्ध जडिबुटी पहिचान, संरक्षण र उपयोग सम्बन्धि एक दिने अभिमुखीकरण सम्पन्न गरेको छ । जडिबुटीको पहिचान र प्रयोग तथा प्रबद्र्धनका लागि कार्यक्रम महत्वपूर्ण भएको औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजीव घिमिरेले बताए । कार्यक्रममा जडिबुटी तथा आयुर्वेद सम्बन्धि कामहरु गरिरहेका सरोकारवालाको सहभागिता थियो ।
‘कुरिलो र अश्वगन्धाबारे जनस्तरमा चेतना पुग्नु जरुरी छ’ डा. रायले भने ‘हामीले जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि अश्वगन्धा र गर्भवती तथा सुत्केरी महिलाको लागि उपयोगी कुरिलोसँग सम्बन्धित औषधिहरु निशुल्क उपलव्ध गराईरहेका छौं ।’
अभिमुखीकरणमा सहभागीले आर्युवेद सम्बन्धि चेतनाको अभावका कारण विश्वास बढाउन नसकिएको बताएका थिए । अभिमुखीकरणमा आर्युवेदिक औषधी, स्थानीय जडिबुटीको विषयमा डा. रायले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कुरिलो दुध उत्पादनका लागि महत्वपूर्ण रहेकाले गर्भावास्था तथा सुत्केरीले प्रयोग गर्न उपयुक्त रहेको बताए । ‘बच्चाको लागि दुध नपुगेको कयौं गुनासो आउँछन्, हामीसँग औषधि छ कोही लिन आउँदैनन्’ रायले भने ‘अब स्थानीय तहले बच्चालाई खोप लगाउने समयमा नै स्वस्थ्य र दुग्धवर्धक औषधिहरु दिन जरुरी छ ।’
कम साईडइफेक्ट हुने आर्युवेदिक र जडिबुटीजन्य औषधिको सेवन बढाउनुपर्ने उनको तर्क थियो । पाँच हजार बर्ष पहिलेदेखि प्रयोग हुँदै आएका औषधिजन्य जडीबुटीको संरक्षण र प्रबद्र्धनमा लाग्न अध्यक्ष घिमिरेले आग्रह गरेका छन् ।





