बागलुङ, १४ असार– कतिपय स्थानमा होमस्टे प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ । तर काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा सामुहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ ।
रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरनामा जाने झण्डै १ किमी लामो पदमार्ग निर्माण गरिएको हो । उक्त पदमार्ग बनेपछि स्थानीयले झरनामा पुगेर घुम्ने क्रम शुरु भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको १० लाख र अन्य श्रोत समेत परिचालन गरेर १५ लाख रुपैयाँमा उक्त पदमार्ग निर्माण भएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए ।
यो पदमार्गबाट झरनामा पुगेपछि सानो टहरा र फलामे पुल समेत बनाइएको छ । घुम्न गएकाहरुले यो पुल तरेर वारी र पारीको दृश्यावलोकन गर्न सक्छन् । ‘शितल र आनन्द लाग्ने स्थान रहेछ, यो बनभोज जानेका लागि पनि उपयुक्त स्थान हो’ वडा सदस्य कृष्णबहादुर थापाले भने, ‘वडा अध्यक्षले यस्ता महत्वपूर्ण स्थान हेरेर सही लगानी गर्नु भएको रहेछ ।’ आगामी हिउँदमा बनभोज स्थल समेत राख्ने योजना लामिछानेले सुनाए ।
डोटे देउरालीमा ८ घर होमस्टे छन् । जिल्ला र बाहिरबाट आएका २० जना सम्मको समूहलाई अर्गानिक खाना खुवाएर राख्न सक्ने गरी यो होमस्टे निर्माण भएको हो । ‘घर सरसफाइ, अर्गानिक खाना र शुद्ध पानीको व्यवस्था घरघरमै भएको छ’ लामिछानेले भने, ‘एक दिने घुमाइका लागि आउनेलाई पनि यो राम्रो गन्तव्य बन्छ भनेर लगानी गरियो ।’ होमस्टेबाट धौलागिरि र माछापुच्छ्रे हिमाली श्रृंखला पनि देख्न सकिन्छ ।
पर्यटन प्रवद्र्धनकै लागि होमस्टे नजिकै मदन भण्डारी पार्क समेत निर्माण भएको छ । घुम्न आएका पाहुनाहरु यहाँ बसेर हिमाली दृश्य र रेशका अधिकांस बस्ती हेर्न सक्छन् । यहाँबाट बिहुँ, भीमापोखरा, पञ्चकोट सहितका क्षेत्र देखिन्छ । वडाको बजेटबाट गत बर्ष बनाइएको यो पार्क सम्पन्न गर्न ५ लाख रुपैयाँ मात्रै खर्च भएको लामिछानेले जानकारी दिए ।
‘बिहान बेलुकी काम गरेर थाकेका स्थानीयले थकाइ मार्न पनि पार्क पुग्ने गर्छन्’ स्थानीय रनमाया थापाले भनिन्, ‘यो पार्कले गाउँको मुहारै फेरिदिएको छ ।’ यहाँ कम्पाउण्ड तारबार लगाएर घेरिएको छ । बिचमा पोखरी र पानीको फोहोरा राखिएकोले धेरैको आर्कषक बनेको हो । राष्ट्रिय झण्डा राखिएकोले फोटो खिच्नेका लागि पनि उपयोगी भएको छ ।
वडाभित्रका पर्यटकीय गन्तव्य, मठमन्दिर र गाउँ जोड्ने पदमार्ग र सडकहरु स्तरीय बनाउन समेत वडाले लगानी गरेको छ । सबै टोलमा पुग्ने स्तरीय सडक बनाइएकोले बर्षातमा पनि नियमित सवारी संचालन भएको लामिछानेले बताए । रेशकै जिरेदीमा भने पहिरोले केही घर जोखिममा परेका छन् । तत्काल पहिरो पन्छाएर सडक चलाएपछि घर संरक्षणका लागि पहल भएको उनले जानकारी दिए ।





