आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेल परिषद्को वक्तृत्वकला विवादित

खेल परिषद्को वक्तृत्वकला विवादित

विद्यालयद्वारा छानविन गर्न माग ।


  • विजय नेपाली/खगेन्द्र पराजुली
  • असार १४ २०७८, सोमबार

पोखरा/नवलपुर, १४ असार– केही समयअघिमात्रै गठन भएको गण्डकी प्रदेश खेलकुद परिषद् सुरुमै विवादमा तानिएको थियो । विदेशमा भएको व्यक्तिलाईसमेत उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै सर्वत्र विरोध भएको थियो ।
तत्पश्चात परिषद्ले वक्तृत्वकला प्रतियोगिता गरेको छ । तर, उक्त प्रतियोगिता पनि विवादमुक्त भने हुन सकेन । परिषद्ले भर्खरैमात्र अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा गण्डकी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना ग¥यो । प्रतियोगितामा चरम मनोमानी र लापरवाही गरेको भन्दै विवादित बन्न पुगेको हो ।
प्रतियोगिताको सम्पर्क व्यक्ति मध्येका एक तारा थापाले नवलपुरकी विज्ञान संकाय विद्यार्थीलाई उत्कृष्ट १० मा परेको भन्दै फोन गरिन् । उनको नम्बरबाट फोन गएको देवचुली माध्यमिक विद्यालयका प्राचार्य राजन गौतमले जानकारी दिए । गौतमका अनुसार थापाले नै सम्पर्क गरेर दोस्रो चरणका लागि तयारी गर्न आग्रह गरेको बताए ।
सोही अनुसार छात्रालाई समेत खबर पुग्यो । केही समय पश्चात पुनः थापाकै नम्बरबाट अर्को महिला बोल्दै ‘नामबारे गलत सूचना गएको’ भन्दै फोन राखिन् । प्राचार्य गौतमले नाम फरक हो या नम्बर मिल्न गएको भन्ने प्रश्न पनि गरेका थिए । तर, ती महिलाले नाम मिलेकाले गल्ती भएको प्रष्टीकरण दिइन् ।
त्यसअघि तारा थापाले फोनमा देवचुली माध्यामिक विद्यालयको नाम नै किटान गर्दै प्रमिला पराजुलीकै नाम उच्चारण गरेकी थिइन् । प्राचार्य गौतमका अनुसार परिषद् सदस्यले पराजुलीको नाम नभई सोही विद्यार्थी मञ्जिता खड्काको नाम उत्कृष्टा १० मा परेको जानकारी दिएका थिए ।
तर, उत्कृष्ट १० भित्र प्रमिला र मन्जिता खड्का दुवैको नाम नदेखेपछि प्रतियोगिताको कुरा बाहिर आएको हो । उक्त विषयमा बुझ्ने क्रममा तारा थापाले भने आफ्नो स्टाफले फोन गरेको बताउँदै उम्किन खोजिन । ‘गल्तीले फोन गएको रहेछ । स्टाफ बैनीले गल्ती गरेकी हुन्,’ उनले भनिन्, ‘निर्णायकको कुरामा हामीले के गर्न मिल्छ र ? प्रियंका बर्माले फोन गरेकी हुन् ।’
तर विद्यालयलाई भने थापाकै नम्बरबाट फोन गएको देखिएको छ । पहिले बधाइसहित उनैले फोन गर्दै जानकारी दिएको र पछि अकै महिलाको आवाज आएको फोन रेकर्डमा स्पष्ट छ । सरकारी लगानीमा गरिएको उक्त प्रतियोगिताको प्रत्यक्ष प्रशारण विभिन्न मिडियादेखि गरिने उल्लेख थियो । तर, परिषद्कै पदाधिकारी केशव पाठकको मिडियामा मात्र प्रत्यक्ष प्रशारण भएको भन्दै सरोकारवाला निकायलेसमेत आपत्ति जनाएका छन् ।
भर्चुअल भएको प्रतियोगितामा २ सय २४ भन्दा धेरै सहभागी थिए । असार १० गतेबाट शुरु भएको प्रतियोगितामा ती प्रतिस्पर्धीको पहिलो राउन्ड सकिएपछि आयोजकले शनिबार दिउँसो ३ बजेसम्ममा दश उत्कृष्ट घोषित गरेर अर्को राउन्डमा प्रवेश गराउनुपर्ने थियो । प्रतियोगितामा कृष्ण तिमिल्सिना, रिम रानाभाट र राजेश घिमिरे थिए ।
देवचुली माविद्वारा छानविनको माग
प्रतियोगितामा लापरवाही भएको भन्दै देवचुली माविले छानविन गर्न माग गरेको छ । प्रतियोगिता विवादास्पद र शंकास्पद भएको भन्दै विद्यालयले आयोजकलाई ध्यानाकर्षण पत्र बुझाएको हो । प्रदेश खेलकुद परिषद् गण्डकीका प्रमुखलाई विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले छानविन र कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै पत्राचार गरेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->