बागलुङ, १४ असार– सामुदायिक वन उपभोक्ता महासंघ बागलुङले काठेखोला गाउँपालिका भित्रका कोरोना प्रभावितकालागि व्यवसाय प्रवद्र्धनकालागि लगानी गरेको छ ।
टिएफ परियोजना अन्र्तगत कोरोना संक्रमित र परिवारका सदस्यको मृत्यु भएकाको आर्थिक अबस्था सुधार गर्ने र व्यवसायमा प्रेरित गर्न उक्त लगानी गरेको अध्यक्ष राज थापाले बताए । लेखानी, रेश र भीमापोखराका पीडित तथा संक्रमितलाई बाख्रा पालन, कुखुरा पालन सहितको व्यवसायमा लगानी गरिएको हो ।
शनिवार महासंघका अध्यक्ष थापा सहितको टोलीले पीडितको घरघरमा पुगेर सहयोग हस्तान्तरण गरेको छ । पीडित परिवार मध्ये भीमापोखराका कर्णबहादुर थापा, रेशकी देवी थापा र रनमाया थापा तथा लेखानीको कादेशका गोबिन्द क्षेत्रीलाई बाख्रा पालनकालागि सहयोग गरिएको थापाले जानकारी दिए । लेखानीकै कोदशका दिलबहादुर बिकलाई कुखुरा पालनकालागि सहयोग गरिएको हो । उनीहरु सबैलाई २० हजार रुपैयाँको दरले महासंघले लगानी गरेको हो ।
ती मध्ये देवी थापाका श्रीमानको कोरोनाका कारण मृत्यु भएपछि एकल भएकी छिन् । अन्य आँफै कोरोना प्रभावित हुन् । ‘आर्थिक रुपमा बिपन्न भएकै कारण कोरोना प्रभावित भएपछि रोजगारी र रोजीरोटीमा असर परेकाहरुलाई सहयोग गर्नु परेको हो’ थापाले भने, ‘उनीहरुलाई सदरमुकामा बोलाउँदा खर्च बढ्ने भएपछि घरघरमा पुगेर सहयोग गरिएको हो ।’ घरमै पुग्दा पीडितको अबस्था बुझ्न पाएको र लगानीपनि सदुपयोग भएको उनले बताए ।





