बागलुङ, १४ असार– बागलुङका स्थानीय तहको आर्थिक क्षेत्र कृषि र पर्यटन हो । यहाँका स्थानीय तहले लनागी र राजश्व संकलनका क्षेत्रमध्ये सबैभन्दा धेरै कृषि र पर्यटनसँग जोडिएका कार्यक्रमहरु छन् ।
उद्योग कलकारखा नभएकाले यहाँको आर्थिक गतिविधि सञ्चालन हुने वा उत्पादन र रोजगारीसँग जोडिने क्षेत्र कृषि र पर्यटन भएको स्थानीय तहको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख छ । कृषिमा व्यावसायिक उत्पादन देखि आत्मभिर्नर बन्ने बाटो र पर्यटनमा पूर्वाधार बिकासदेखि रोजगारी सिर्जनालाई स्थानीय सरकारले आर्थिक उन्नयनको मेरुदण्ड मानेका छन् ।
जिल्लाको कुल भूभागको आधा भूभाग खेतीयोग्य जमिन रहेको छभने स्थापित र नयाँ पर्यटकीय गन्तव्यहरुको बिकास गरेर बागलुङले आर्थिक समृद्धिको बाटो लागेको छ । भूगोल अनुसार यहाँ थरीथरीका खेती हुन्छन् । बेसीमा धानदेखि लेखमा भाँगो खेतीसम्म बागलुङमा हुने गरेको जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले बताए । ।
कोरोनाको कहरका बीच बागलुङका स्थानीय तहले कृषि, पशुपालन र पर्यटन प्रबद्र्धनका कार्यक्रमलाई अग्रभागमा समावेश गरेर आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
बागलुङ नगरपालिकाले कृषि वाली तथा वागवानी विकास कार्यक्रम का लागि ८६ लाख रुपैयाँ बिनियोजन गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम र कृषि विकास रणनीतिक कार्यक्रमका लागि ४८ लाख रुपैयाँ र रायडाँडा विशेष कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजनको व्यवस्था गरिएको उपप्रमुख सुरेन्द्र खड्काले बताए ।
पशुबिकास कार्यक्रम, सहकारीहरुको प्रबद्र्धनका लागि समेत बजेट छ । एक घर एक फलफूलका बिरुवा कार्यक्रम बागलुङ नगरले ल्याएको छ । किसानलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम महत्वका साथ अघि सारिएको खड्काले जानकारी दिए । बलेवा भैरवस्थान, पञ्चकोट, मदन आश्रीत पार्क सुधार कार्यक्रम, वीरेन्द्र ऐश्वर्य पार्क पुनःसंरचना र भकुण्डे पर्यटन प्रवर्धन गर्ने योजना बजेटमा समावेश भएको छ ।
ताराखोलाले कृषि र पशु पालनलाई व्यवसायिक बनाउने कार्यक्रम ल्याएको छ । पर्यटन पूर्वाधारको निर्माण, प्राकृतिक स्रोतहरूको समुचित उपयोग, कृषि र पर्यटनबाट रोजगारी सृजना गर्दै गरिबी निवारण तर्फ जोड दिन ‘कृषि, वन, खनिज, उद्यमशीलताको लागि सबल पूर्वाधार, समृद्ध र समन्यायिक ताराखोला विकासको मूल आधार’भन्ने दीर्घकालीन योजना र बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।
‘ताराखोला कृषि बगैंचाः युवालाई रोजगारी; उत्पादन थरीथरी’ कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । पर्यटन प्रवद्र्धन गर्न आगामी आर्थिक वर्षमा संघीय सरकारले गण्डकी प्रदेशमा ताराखोला गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा सूचिकृत गर्ने कार्यक्रम रहेको उपाध्यक्ष पुनले बताइन् ।
तमानखोलाले आर्थिक विकासको लागि कृषिमा आधुनिकिरण र व्यावसायिकरण गरी उत्पादकत्व वृद्धि गर्ने नीति ल्याएको छ । कृषिमा यान्त्रिकीरण प्रवर्द्धनका लागि आधुनिक कृषि यन्त्रहरुको प्रयोगलाई प्रोत्साहन गर्न अनुदानको कार्यकम संचालनका लागि बजेट विनियोजन भएको छ । बाली विकास कार्यक्रममार्फत् उन्नत जातको खेतीको विकासको लागि उन्नत वीउ, बिरुवा वितरण र व्यावसायिक खेती सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
जैमिनी नगरपालिकाको आर्थिक विकासको मुख्य मेरुदण्डको रुपमा पनि कृषि तथा पशु पालनलाई लिइएको छ । कृषिवाट सम्वृद्धि तथा कृषिवाट गरिबी निवारण जस्ता कार्यक्रमलाई नगरले प्राथमिकतामा राखेको छ । कृषि र पशु सेवाका लागि एक वडा एक प्राविधिक कार्यक्रमलाई थप प्रभावकारी वनाउने उल्लेख छ ।
एक गाँउ एक उत्पादनका लागि पकेट तथा ब्लक कार्यक्रम, कफि, कागती, सुन्तला, अलैंची मह खरिद तथा ब्यवस्थापन कार्यक्रमको क्षेत्र विस्तार, लसुन, प्याज, अदुवा, बेसार र टिमुरलाई समेट्ने गरी कार्यक्रम ल्याईएको उपप्रमुख लिला रानाले बताए । नगर प्रमुख पशु परियोजना र नगर प्रमुख कृषि परियोजना र कृषि पशु आयोजना संचालन गर्ने महत्वकांक्षी कार्यक्रम नगरले ल्याएको छ ।
बडिगाडले खाद्यान्न उत्पादन बृद्धि तथा कृषि उपज भण्डारण सम्बन्धि कार्यक्रम संचालन गर्ने भएको छ । भौगोलिक अवस्थिति र वातावरण अनुसार व्यावसायिक खेती तथा पशु पालनको लागि बजेट व्यबस्था गरेको उपाध्यक्ष अम्बर बहादुर श्रीषले बताए । पशु आहारा मिसन, मासु मिसन कार्यक्रममा बजेट, साना तथा गरीब किसानहरुलाई लक्षित गरी बाख्राको पाठी वितरण, करेसा बारी स्थापना, मिनि किट वितरणमा बजेटको ब्यबस्था गरिएको छ ।
काठेखोला गाउँपालिकाले एक वडा एक उत्पादन कार्यक्रम ल्याएको छ । वडाको भूबनोट, माटोको उब्जाउ शक्ति र बसोबासीको चाहना तथा परम्परागत खेती बाली अनुसार वडाहरुमा खेती सुरु गरिने गाउँपालिका अध्यक्ष अमर थापाले बताए । पर्यटन क्षेत्रमा गाउँपालिकाले एक वडा एक पर्यटकीय स्थलको पहिचान गरी प्रचार प्रसार र प्रबद्र्धनको कार्यक्रम ल्याएको छ ।
बरेङले कृषि र पशु पालन क्षेत्रबाटनै स्वरोजगारी सिर्जनागर्ने नीति बनाएको छ । खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि खेती प्रणालिमा सुधार, एक घर एक करेसाबारी कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । दूध, अलंैची, आलु र भैंसी, बाख्रा र कुखुरा पालनलाई उत्पादनमा जोड दिइएको अध्यक्ष शर्माले बताए ।





