बागलुङ, १४ असार– गण्डकी प्रदेशका ‘सेकेण्डरी ‘ए’ लेभल’का अस्पतालहरुमा बागलुङको धौलागिरी अस्पताल उत्कृष्ट भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले गरेको अध्ययनमा अस्पताल उत्कृष्ट घोषित हुँदै पहिलो भएको हो ।
सोमबार निर्देशनालयले गराएको जानकारी अनुसार प्रदेशभर रहेका ‘ए’ लेभलका तीन वटा अस्पतालमध्ये धौलागिरी अस्पतालले न्युनतम मापदण्ड पुरा गरेको पाईएको हो । बिभिन्न मापदण्ड बनाएर गरिएको सर्वेक्षणमा १ सय पूर्णअंकमा अस्पतालले ७३ नम्बर प्राप्त गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले बताए ।
‘हाम्रो अस्पतालको सबैभन्दा राम्रो अंक अप्रेसन थियटरमा आएको छ, क्यान्टिनको व्यवस्था नभएकाले १७ अंक गुम्यो’ शर्माले भने ‘अरु सबै मापदण्ड अनुसारको सेवा र पूर्वाधार रहेको भन्दै हामी उत्कृष्ट घोषित भएका छौं ।’ बेनी अस्पताल म्याग्दी र गोरखा अस्पताललाई गण्डकी प्रदेश सरकारले ‘ए’ तहका अस्पतालको रुपमा विकास गरिरहेको छ ।
निर्देशनालयका अनुसार बेनी अस्पतालले ६६ र गोरखा अस्पतालले ४० अंक प्राप्त गरेका छन् । कोभिड–१९ र अन्य रोगको उपचार तथा प्रशासन र पूर्वाधारको समेत मुल्यांकन गरेर अस्पतालहरुको स्तरीकरण गरिएको हो । गण्डकीमा रहेका अन्य सबै अस्पताल जिल्ला अस्पतालको रुपमा रहेका छन् भने गण्डकी अस्पताल पोखरा प्रादेशिक अस्पताल हो ।
प्रदेशभर रहेका जिल्ला अस्पतालहरुको स्तरीकरणमा जिल्ला अस्पताल पर्वत प्रथम भएको थियो । धौलागिरी अस्पतालमा रहेको जनशक्ति, उपलव्ध सेवा, सेवामा चुस्तता, पूर्वाधार लगायतका शिर्षकमा मुल्यांकन भएको थियो ।





