
बागलुङ, १६ असार- बस किन्दा ३० लाख ऋण थियो, दैनिक कमाइ गरेर उनले तिर्दै आएका थिए । तर पछिल्लो २ वर्षदेखि उनी बैंक तथा वित्तीय संस्थामा समयमै ऋण नतिर्ने खराब ऋणीका रुपमा चित्रित भएका छन् ।
कोरोना संक्रमणका कारण बागलुङको अर्जेवाका लालकाजी पुनजस्तै बस व्यवसायीहरुले समयमा किस्ता तिर्न सकेका छैनन् । बरु बेलाबेला बैंकको हप्की खान्छन् । ६ वर्षदेखि बागलुङ कुश्मा बस चलाउँदै आएका पुनजस्तै धेरै बस व्यवसायीहरु अहिले पलायन भएका छन् । अधिकांशलाई बैंकले फोन गरेर हैरान बनाएको छ ।
२०७६ चैतको ११ गतेदेखि निषेधाज्ञा लागेपछि बस व्यवसायीले कहिले पनि भनेजस्तो यात्री बोकेर हिँड्न नपाएको बताए । ‘खाली खाली कुद्नुपर्ने, करमा भने छुट नपाइने भएपछि मैले त माइक्रोबस बेचेर टिपर किनेको छु,’ व्यवसायी चन्द्रबहादुर कार्कीले भने, ‘बस र माइक्रोमा लगानी गरेकाहरु मरिरहेका छन्, राज्यले कुनै विकल्प दिएको छैन ।’
काठमाडौंमा जोरबिजोर प्रणालीमा खुलेको सूचना पाएकाहरु बागलुङमा पनि खुल्ने आशमा थिए । तर, सिसिएमसीको बैठकले २ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी राख्ने निर्णय गरेसँगै बागलुङमा सार्वजनिक बस नखुलेको हो ।
गत वर्षको चैत ११ गते लकडाउन सुरु हुनु ३ दिन पहिलेदेखि बसको यात्रा रोकिएको थियो । त्यसपछि बस व्यवसायीलाई सहज दिन फर्केर नआएको पुनले बताए । चैतदेखि असोजसम्म बस ठप्पै थिए । त्यसपछि पनि स्वास्थ्य मापदण्डको नियमित अनुगमन भयो । सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने स्वास्थ्य मापदण्डको पालना गर्दा यात्री चढेनन् ।
‘जिपमा ७ देखि १० जना कोचाकोच हिँड्दा कसैले पनि जाँच गरेनन् बसमा १०–१५ जना हुँदा पनि दिनदिनै अनुगमनमा परिन्थ्यो,’ पुनले भने, ‘तिनै जिपले दोब्बर भाडा असुल्थे, बसमा ५ रुपैयाँ बढी भाडा माग्न पाइएन ।’ निषेधाज्ञाको समयमा भने रातो प्लेटको सवारीले दश गुणासम्म भाडा लिएर यात्री ओसारेको कार्कीले टिप्पणी गरे ।
निषेधाज्ञामा ट्याक्सी चढेर पोखरा जाँदा ५ हजार भाडा तिर्नु परेको पत्रकार दिल शिरिषले गुनासो गरे । ‘अत्याश्यक कामले गएको थिएँ, ५ हजार भाडा लाग्यो,’ उनले भने, ‘ट्याक्सीमा अरु २ जना पनि राख्ने रहेछन् ।’ पोखरा गएर फर्कंदा उनीहरुले ३० हजार कमाएको उनले बताए । सार्वजनिक यातायाताकै नाममा २/४ सय रुपैयाँमै पोखरा लैजान सक्ने माइक्रोबस र बसलाई भने रोकिएको हो ।
खाद्य र निर्माण सामग्री बोक्ने निहुँमा हजारौं ठगी भएको पुनको टिप्पणी छ । ‘खाद्यान्न बोक्ने भनेका छन्, चर्को भाडा असुल्छन्, प्रहरी चेकिङ छलेर मानिस पनि ओसार्छन्’ पुनले भने, ‘उनीहरुलाई निषेधाज्ञा र चैते दशैं एउटै भएको छ ।’
पुनले ६ वर्षअघि ३० लाख रुपैयाँमा २५ सिटको बस किनेका थिए । बंैकबाट लिएको ऋणको किस्ता मासिक ४० हजार रुपैयाँ तिर्नुपर्छ । सुरुमा चालक राखेका थिए, पछि आफंैले चलाउन थाले । ‘चालकको खर्च ३५ हजार, खलासी खर्च १५ हजार, नियमित तेल खर्च र मर्मत त गर्नै पर्छ,’ उनले भने, ‘महिनाको १ लाख कमाइ भयो भने मुश्किलले २५ देखि ३० हजार बचाउन सकिन्छ ।’ त्यही बचतले घरपरिवार धान्ने गरेकोमा पोहोरको ६ महिना र अहिलेको २ महिना बन्दले ऋणको भारी बढेको उनले गुनासो गरे ।
पुन मात्र हैन बस व्यवसायी नन्दु घिमिरे, रामबहादुर श्रेष्ठ र लक्ष्मी शर्माले पनि लाखौंको बस ग्यारेजमा राखेर नियमित किस्ता, ब्याज र कर तिर्नु पर्दा घरपरिवारको उठीबास लाग्ने खतरा बढेको गुनासो गरेका छन् ।
यहाँको धौलागिरि गण्डकी यातायात कम्पनीमा ३ सय बस, भगवती यातायात कंपनीले जिप र बसमा झण्डै ५० करोड लगानी गरेको छ । बुर्तिबाङ यातायाता सेवा कम्पनीमा ८० सवारी सूचिकृत छन् । कम्पनीका वरिष्ठ उपाध्यक्ष कुलबहादुर सिञ्जालीका अनुसार ६० करोड लगानी छ । निषेधाज्ञाले लगानी डुबेको उनले गुनासो गरे । झण्डै ८ सय सवारी साधनमा प्रत्यक्ष २ हजार ४ सय जना रोजगार छन् ।





