बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बर्खा बौरियो, बेलैमा बस्ती बनेनन् !

बर्खा बौरियो, बेलैमा बस्ती बनेनन् !

१०/१५ वर्षअघिदेखिका घटना हेर्दा बागलुङका अधिकांश बाढी, पहिरो पीडित पुनर्निर्माण भएका छैनन् । बेलैमा पुनर्निर्माण नहुँदा धेरै बस्ती छाडेर पलायन भइसकेका छन् ।


  • ढोरपाटन संबाददाता
  • असार १७ २०७८, बिहिबार

बागलुङ, १७ असार- गत साल भदौ १७ गते आएको पहिरोले ढोरपाटन नगरपालिकामा १ सय २६ घर बगायो । पहिरोमा परी २२ को मृत्यु भयो, १५ जना अझै बेपत्ता छन् । पहिरोले घर बगाएको एक वर्ष भइसक्दा पनि उनीहरुको सुरक्षित बासको ठेगान छैन ।
कोही ढोरपाटनतिर गोठ बनाएर बसेका छन्, कोही छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । मौका मिले बसाइँ सर्ने योजना बनाउने पनि धेरै भएको बताउँछन् ढोरपाटन नगरपालिका ९ का वडाध्यक्ष हरिबहादुर घर्ती ।
‘पीडितले बास नपाएपछि सजिलो ठाउँ खोज्दैछन्,’ उनले भने, ‘राज्यले नहेरेपछि उनीहरुले सुरक्षित स्थान खोज्नु नौलो भएन ।’ उनले ५ वर्षअघि पहिरोले पुरेको अधिकारीचौर, चामेद्वारका बासिन्दा पनि सुरक्षित स्थान खोज्दै बसाइँ सर्न थालेको बताए ।
गत साउनमै घर पुरिएका जैमिनी नगरपालिका १ का मात्रै १२ घर बसाइँ सरेका छन् । वडा ९ को पैयुँथन्थाप, वडा ५ बिमामारे लगायतका स्थानबाट पनि धेरैले घर छाडेर चितवन झरेका छन् । ‘बाढी पहिरो कारण भएपनि पीडितले जोखिम मोलेर बसिरहन चाहेका छैनन्,’ जैमिनी नगरपालिका १ का भेषराज पौडेलले भने, ‘फेरि पनि जोखिम हुने देखेर बसाइँ सरेको देखियो ।’
जिल्ला विपद व्यवस्थापन समिति बागलुङले पनि बागलुङलाई जोखिम जिल्लामा सूचिकृत गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । समितिले मनसुन आपतकालीन कार्ययोजना समेत बनाएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
२ वर्ष अघि काठेखोला गाउँपालिका ५ को काउले बस्ती भाँसिएपछि १४ घरलाई भूकम्प पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्ती बनाएर सारेको छ । समितिले १० पालिकाका २८ वडा उच्च जोखिममा राखेको छ । २४ वडा मध्यम र ८ वडा सामान्य जोखिममा सूचिकृत गराएको हो ।
बाढी पहिरोले मानवीय र भौतिक क्षतिसँगै सामाजिक बिखण्डनसमेत ल्याएको छ । बाढी पहिरोका कारण विस्थापित भएका, परिवार गुमाएका र घर भत्केकाहरु अधिकांशले पुनर्निर्माणलाई भन्दा बसाइँसराइको बाटो रोजेका छन् । बसेका पनि सदरमुकाम र बजार केन्द्रित भएका छन् ।
धेरै खोला र जटिल भूगोल भएकोले घटना हुँदा समयमा उद्दार गर्न नसकिएको जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना बताउँछन् । ‘मध्यपहाडी र कालीगण्डकी करिडोर निर्माणाधीन छन्, ग्रामीण सडक झनै जोखिममा छन्,’ ढुंगानाले भने, ‘समयमा उद्दारमा खटिन सहज सडक आवश्यक छ ।’
बर्षेनि भएका क्षतिमा समयमा उद्दार अभाव भएको उनले बताए । गत वर्ष सरकारले बागलुङलाई जोखिम क्षेत्रमा सूचिकृत गरेपनि संरक्षणका योजना भने केहीपनि नपरेको ढुंगानाले टिप्पणी गरे । जिल्लाको अधिकांश जोखिमको क्षेत्रमा प्राविधिक अध्ययन नभएको वरिष्ठ भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठ बताउँछन् । ‘जलाधार क्षेत्रको अध्ययन गर्ने र हिउँदमा तटबन्धका काम गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘जोखिम न्युनीकरणका लागि केन्द्रीय तहबाटै योजना बनाउनुपर्छ ।’
प्रहरीका अनुसार गत वर्ष मात्रै बाढी र पहिरोले बागलुका ५१ जनाको ज्यान गएको थियो, सयौं घरबाविहीन भएका थिए । १०÷१५ वर्षअघिदेखिका घटना हेर्दा बागलुङका अधिकांश बाढी, पहिरो पीडित पुनर्निर्माण भएका छैनन् । अधिकांश अझै पीडित भइरहेका छन् भने कतिपय बस्ती छाडेर पलायन भइसकेका छन् ।
२०६४ को ग्वालीचौर घटनादेखि २०७३ को अधिकारीचौर देखि बुर्तिबाङ बजारसम्म बाढीपहिरोको चपेटामा परेकाहरु अधिकांश बसाइँ सरेका छन् । पुनर्निर्माणका काम नभएपछि पीडितहरु विस्थापित भएका हुन् । धेरैजसो बसाइँ सर्दै चितवन र बुटवल झरेको ढोरपाटन नगरपालिका ५ का वडाध्यक्ष लक्ष्मण पुनले बताए । स्थानीय नभएपछि पहिरोले बचेका खेतबारीसमेत बाँझो भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->