बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोरोनासँगै डेंगु रोक्ने अभियान

कोरोनासँगै डेंगु रोक्ने अभियान


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७८, शुक्रबार

बागलुङ, १८ असार– कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने डेंगुको संक्रमण बढ्न सक्ने भन्दै बागलुङमा सचेतना अभियान थालिएको छ ।
बागलुङ नगर स्वास्थ्य शाखाले बुधबारदेखिनै थालेको अभियानमा सरसफाइ, सचेतना र डेंगुका लक्षणबारे जानकारी दिएर बच्ने उपायको खोजीमा पनि काम थालिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रासद खनालले बताए ।
यो अभियानअन्र्तगत स्वास्थ्यकर्मीलाई तालिम दिने कामसहित सचेतना अभियानमा जोड दिइएको हो । बिशेषगरी पानी जम्ने खाल्डाखुल्डी भएका स्थान, टायर र अन्य प्लाष्टिकजन्य फोहोर राखिएका स्थानमा जम्ने पानीमा डेंगु सार्ने लामखुट्टे हुने गर्छन् । ती लामखुट्टेले टोक्दा डेंगु सर्ने खतरा भएकोले त्यस्ता ठाउँ खोजेर सरसफाई अभियान चलाएको बागलुङ नगरपालिका वडा नं. २ का सदस्य अर्जुन घिमिरेले बताए ।
डेंगु लाग्दा पनि कोरोना जस्तै लक्षण देखिने स्वास्थ्यकर्मीले बताए । ज्वरो आउने यो रोगको प्रमुख लक्षण हो । लक्षण देखिएमा तत्काल परीक्षण गर्न पालिकाका स्वास्थ्य शाखा र धौलागिरी अस्पतालमा परीक्षण किटसमेत पठाइएको छ । रगत जाँचपछि मात्र डेंगु पत्ता लगाउन सकिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकोले सर्तकता अपनाउन सचेतना कार्यक्रम संचालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका श्रोतहरु ह्टाउने काम भैरहेको गुरौले जानकारी दिए । बिशेषगरी टायरमा जमेको पानी डेंगुका लागि बढी खतरा भएको सबैलाई सूचना प्रवाह गरिएको हो ।
‘धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेंगुको लक्षण हुन्’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘सर्तकता अपनाउन सकिएन भने कोरोना भाइरस भन्दा यो खतरा हुन सक्छ ।’ बिरामी बढी सिकिस्तै हुने भएकोले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उनले सुझाव दिए । अस्पतालले कोरोनाका लागि आइसोलेसन वार्ड बनाएझै डेंगुका बिरामी आएमा उपचार गर्ने र रगत परीक्षणका लागि ल्याब शाखालाई तयारी बनाएको डा. पोखरेलले बताए ।
पलिकाहरुले पनि स्वास्थ्य शाखालाई सक्रिय बनाएर सरसफाइमा लगानी बढाएको बताएका छन् । ‘अहिलेसम्म पोजेटिभ केश त भेटिएको छैन, तर जोखिमको समय भएकोले एकैपटक धेरै जनामा संक्रमण देखिन पनि सक्छ’ खनालले भने, ‘आम नागरिकसम्म सचेतना अभियान नै रोकथामको उपाय हो ।’ पानी जम्ने गरी बनेका खाल्डाखुल्टी पुर्ने र धेरै लामखुट्टे बस्ने ठाउँमा धुँवा लगाएर धपाउने कामपनि गर्न सकिने उनले सुझाव दिए ।
गत बर्ष म्याग्दी र बागलुङमा डेंगुका संक्रमित समेत देखिएका थिए । उनीहरुलाई साता दिनसम्म अस्पतालमा भर्ना गरेपछि मात्र निको भएर घर पठाइएको थियो । ‘सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेंगु लामखुट्टेकै टोकाइबाट सर्ने भएकोले झुल टाँगेर सुत्नुपर्छ’ खनालले भने, ‘एकपटक संक्रमण भएपछि दोहोरिने दर बढी भएकोले सचेत बन्नुपर्छ ।’ बसपार्क र ग्यारेज क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टायरहरु हटाउने र पानी नजम्ने गरी व्यवस्थापनका लागि प्रहरी, सेना र प्रशासनले पनि आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->