बागलुङ, १८ असार– कोरोना महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको जिल्लाको काठेखोला गाउँपालिकामा पत्रकार महासंघ बागलुङले स्वास्थ्य सचेतनासहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महासंघका पदाधिकारीसहित पत्रकारको समुहले गाउँपालिका विभिन्न गाउँमा पुगेर स्वास्थ्यका मापदण्ड सम्बन्धि सचेतनामुलक सन्देश बाँडेको हो ।
गाउँपालिकालाई महामारीबाट बच्नका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको महासंघका अध्यक्ष नरेश कँडेलले बताए । महासंघले बिभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । वडातहमा पुगेर विकास निर्माण र त्यसको प्रभावका विषयमा खोजी गर्ने योजना बनाएको महासंघले कोरोनाका कारण आफ्नो कार्यक्रम परिवर्तन गरेर स्वास्थ्य सचेतनामा लागेको कँडेलले बताए ।
गाउँपालिकाको स्वास्थ्य शाखामा रहनेगरी एक थान अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको छ । काठेखोलाकै लेखानी स्वास्थ्य चौकीका लागि अर्को एक थान कन्सनटेटर उपलव्ध गराईने कँडेलले जानकारी दिए ।
त्यस्तै, तीन थान अक्सिमिटर, २ थान थर्मल गन र २ हजार ५ सय थान मास्क लगायतका सामग्री सहयोग गरेको उपाध्यक्ष नविन शिशिरले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष अमर थापाले असजिलो परेका बेला सघाएको भन्दै पत्रकार महासंघ र गाउँपालिकाको सहकार्य सधैं रहिरहने बताए ।
महासंघले बिहिबार गलकोट नगरपालिका र त्यसअघि ताराखोला गाउँपालिकामा स्वास्थ्य सचेतनाका साथै स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको थियो ।





