बागलुङ, १९ असार– जिल्लाको काठेखोला गाउँपालिकाले पढाई सञ्चालनका लागि वैकल्पिक विधिहरुको खोजी थालेको छ । शुक्रबार गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठक राखेर गाउँपालिकाले एक साताभित्र कार्ययोजना निर्माण गर्न निर्देशन दिएको हो ।
विद्यालयले पठनपाठन सञ्चालन गर्न सक्ने आधारहरु तयार भएमा त्यसको विधिका विषयमा कार्ययोजना निर्माण गर्न भनिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए ।
विद्यालयहरुले भर्ना अभियान सञ्चालन गरिरहेको भएपनि कोरोना महामारीका कारण तत्काल पठनपाठन गराउन सकिने अवस्था छैन । सबै विद्यालयका प्रअहरुको सुझावका आधारमा पछिल्लो पटक थपिएको निशेधाज्ञाको अवधिपछि विकल्पको खोजी गरिने अध्यक्ष अमर थापाले बताए । बागलुङमा असार २५ गतेसम्म निशेधाज्ञा गरिएको छ ।
‘गतवर्ष टोल शिक्षाको अभ्यास भयो, तर प्रभावकारी देखिएन’, थापाले भने ‘अनलाइन कक्षाका लागि सबै इन्टरनेटको पहुँचमा छैनन् र विद्युतले पनि दुःख दिन्छ ।’ लामो समय पठनपाठनमा सहभागि नभएका बालबालिकालाई तत्काल वैकल्पिक विधिबाट पढाउन समेत कठीन रहेको सुझाव प्रअले राखेका थिए ।
बर्खाको समयमा पटक पटक विद्युत जाने र इन्टरनेटमा समेत समस्या देखिने गरेकाले अनलाइन कक्षा सञ्चालनमा कठिनाइ हुने विद्यालयहरुको गुनासो छ । सबै अभिभावकसँग स्मार्ट फोनको सुविधासमेत नभएकाले केही विद्यार्थी अनलाइन कक्षा लिनबाट बञ्चित हुने गरेको अनुभवसमेत शिक्षकहरु सुनाएका थिए ।
‘लामो समय शैक्षिक गतिविधि नै भएका छैनन्, यो शिक्षक र विद्यार्थी दुबैका लागि क्षतिको विषय हो’, रेश नुन्थला माविका प्रधानाध्यापक ओम बहादुर थापाले भने,‘निशेधाज्ञा पछिको पढाई कसरी सञ्चालन गर्ने भन्ने बिषयमा केन्द्रित हुन्छौं ।’ थोरै विद्यार्थी भएका विद्यालयले भौतिक दूरी कायम गरेर कक्षाकोठामै पढाई सञ्चालन गर्न सकिने विकल्पको बिषयमा पनि छलफल सुरु भएको छ । विद्यार्थी संख्या धेरै भएका विद्यालयमा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर पठनपाठन सञ्चालन गर्नुपर्ने सुझाव समेत आएका छन् ।
सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने काम भैरहेको शिक्षा शाखाले जनाएको छ । स्वास्थ्य शाखासँग समन्वय गरेर विद्यालयलाई स्वास्थ्य सामग्री उपलव्ध गराइने शाखाले जनाएको छ । संक्रमणको दर केही घटेको भएपनि तत्कालका लागि पठनपाठन सुरु गरिहाल्दा भीड बढ्ने शिक्षक विद्यार्थीको आँकलन छ । कोरोनाका कारण काठेखोला गाउँपालिकामा मात्रै हालसम्म दश जनाले ज्यान गुमाएका छन् । विभिन्न कामको शिलशिलामा काठेखोला बसोबास गरेका अर्का एकजनाको पनि मृत्यु भएको तथ्यांक गाउँपालिकासँग छ ।





