बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एक बर्खामै उप्किन्छन् कालोपत्रे सडक

एक बर्खामै उप्किन्छन् कालोपत्रे सडक


  • तारानाथ आचार्य
  • असार २० २०७८, आइतबार

बागलुङ, २० असार– दुई महिना पहिले कालोपत्रे भएको बागलुङ नगरपालिका–१३ पैञ्युपाटाको सडक चार ठाउँमा उप्किएको छ । यसबर्ष कालोपत्रे भएको झण्डै ५ सय मिटर खण्डको बिचमा कालोपत्रे उप्किएर खाडल बनेका छन् ।
सडक मुनीबाट खसेको पहिरो, सडक माथीबाट आउने पहिरो र जमिननै भाँसिएपछि कालोपत्रे उप्किएको हो । संघीय सरकारको रणनीतिक सडक योजनाअन्र्तगत कालोपत्रे भएको सडक उप्किएपछि सडक डिभिजन कार्यालय बागलुङले मर्मतको काम थालेको छ ।
निर्माण कम्पनीलाई जिम्मेबारी दिएर सडक मर्मतको काम भैरहेको इन्जिनियर अर्जुन गौतमले बताए । ‘निर्माणको जिम्मेबारी पाएको बिएमए निर्माण सेवाले पुनः निर्माणको काम गरिरहेको छ’ गौतमले भने ‘तलमाथी भाँसिएर कालोपत्रे उप्केको हो ।’ मालढुंगा–पाग्जा–अमलाचौर, कुश्मीशेरा बरेङ शान्तिपुर सडक नामाकरण गरेर यो सडकमा संघीय सरकारले दुई बर्ष पहिलेदेखि सडक मर्मत र कालोपत्रेको काम गरिरहेको छ । बागलुङमा यो बर्ष कालोपत्रे भएका अधिकांश सडकमा बाढी पहिरो र जमिन भाँसिने समस्या छ ।
संघीय सरकारकै रणनीतिक सडकअन्र्तगत बागलुङ नगरपालिका–१२ अमलाचौरमा सडक कालोपत्रेको काम चलिरहेको छ । कालोपत्रेको काम चलिरहेकै अवस्थामा अमलाचौरको सडक पनि उप्किएको सामाजिक सञ्जालमा गुनासो आउन थालेको छ । डिभिजन कार्यालय बागलुङले भने त्यहाँ काम नै पुरा भैनसकेकाले सडक उप्किएको भन्न नमिल्ने जनाएको छ । कालोपत्रेको काम चलिरहेकै समयमा सर्वसाधारणले खबरदारी गर्न भने छोडेका छैनन् ।
बागलुङ कुश्मीशेरा सडक खण्डअन्र्तगत बागलुङको बलेवा क्षेत्रमा १० किलोमिटर सडक कालोपत्रे भएको छ । जेठको दोस्रो साता कालोपत्रेको काम सकेको निर्माण कम्पनीले अन्य संरचना निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ । कालोपत्रे भएको एक महिना नबित्दै उक्त सडकमा समेत ठाउँ ठाउँमा कालोपत्रे उप्किएको छ ।
कतै खोला तथा खहरेको भल पसेर कालोपत्रेको मेटाएको छभने कतै उक्त सडकसँग जोडिएका स्थानीय सडकको स्तरोन्नतीका कारणले कालोपत्रेमा क्षति पुगेको स्थानीय बताउँछन् । यो सडकको नारायणस्थान खण्डबाट पैञ्युपाटा जोड्ने नयाँ सडक निर्माण गर्दा पानीट्याङकी नजिकै कालोपत्रे उप्किएको छभने ठाउँ ठाउँमा पहिरोले कालोपत्रे सडक पुरेर हिलाम्मे बनेको छ ।
बरेङ गाउँपालिकामा पहिलो पटक कालोपत्रे भएको सडक पनि बाढीको चपेटामा परेको छ । बरेङ बजारमा कालेपत्रे गरेको सडक छ महिनामै उप्किएर हिलाम्मे भएको हो । सडकको बिभिन्न ठाँउमा भासिएको छभने कालोपत्रे उप्किए दुर्घटना हुने जोखिम बढेको छ । लगातारको वर्षा र खेलमैदान निर्माणले गर्दा सडक माथिदेखि फालिएको माटोले कालोपत्रे उप्किएको र सडकको ठाउँ–ठाउँमा भाँसिएको स्थानीयको भनाई छ । कालोपत्रे गरेको वर्ष दिन नपुग्दै हिलाम्मे भएपछि यात्रुहरुलाई सास्ती खेप्नुपरेको छ ।
बागलुङ बजारको मुख्य चोक ट्राफिक चोकदेखि रामरेखासम्म मर्मत गरिएको कालोपत्रे समेत उप्किएर ठाउँ ठाउँमा खाडल बनेका छन् । कालोपत्रे भएको साँझदेखिनै निरन्तर भएको बर्षाका कारण सडकमा प्रयोग भएको अलकत्र र गिट्टी बगाएको छ । सडक नालीको उचित व्यवस्थापन नहुँदा बजारको मुख्य चोकहरुमा ठुलो बर्षा हुँदा नालीको पानी भल बनेर बग्ने गरेको छ । सडक निर्माण गर्दा पानीको उचित निकास र आसपासमा बन्नुपर्ने संरचनामा ध्यान नदिएका कारण कालोपत्र सडकहरुमा समेत ठुलो क्षति हुने गरेको सर्वसाधारणको गुनासो छ ।
‘बाटो बनेको छ तर नाली पानी नअट्ने खालको बन्छ, कस्ले हेर्ने कस्ले अनुगमन गर्ने’ बलेवाका स्थानीय भवानी शर्मा भन्छन् ‘सर्वसाधारणलाई प्राविधिक ज्ञान हुँदैन्, क्षति व्यहोर्नु पर्छ ।’ बाढी तर्काउने, पहिरोको व्यवस्थापन गर्ने र सडकका संरचना निर्माण गर्दादेखि नै ध्यान दिनुपर्ने सर्वसाधरणको सुझाव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->