बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्यटकीय क्षेत्रको प्रचार गर्न ‘मिडिया मिसन’

पर्यटकीय क्षेत्रको प्रचार गर्न ‘मिडिया मिसन’

ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र, रिखुवा, महखोला झरना लगायतको प्रचारप्रसार तथा संरक्षणमा जोड ।


  • ढोरपाटन सम्वाददाता
  • असार २१ २०७८, सोमबार

बागलुङ, २१ असार– पर्यटकीय स्थलहरुको प्रचार प्रसार र आर्थिक गतिविधि सञ्चालनमा सहयोग गर्न बागलुङको ढोरपाटन नगरपालिकाले मिडिया मिसन सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि ढोरपाटन नगरपालिका क्षेत्रमा रहेका सञ्चारमाध्यमको सहायता लिएर पर्यटकीय क्षेत्रको प्रचार थालिने भएको हो ।
पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवर्धनका लागि ‘मिडिया मिसन, गन्तव्य ढोरपाटन’ कार्यक्रम सञ्चालन गर्न थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताए । ‘पर्यटकीय क्षेत्रको प्रचार र सञ्चारमाध्यामको सवलीकरण दुर्व लक्ष राखेका छौं,’ नेपाली भन्छन् ‘हाम्रो विकासको आधार कृषि र पर्यटन नै हो ।’
नगरभित्रका पर्यटकीय स्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचार प्रसारका लागि स्थानीय सञ्चार माध्यमहरुसँग आवश्यक सहकार्य गरिने उनले बताए । नगरका महत्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले डकुमेन्ट्री तयार गर्ने योजना बनाएको छ ।
आउँदो आर्थिक वर्षको नीति कार्यक्रममा पर्यटनको पूर्वाधार विकासमा स्थानीय संघसंस्था, समुदाय तथा निजी क्षेत्रको नेतृत्व तथा सहभागितालाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइने उल्लेख छ । नेपालका विभिन्न पर्यटकीय स्थलमध्ये महत्वपूर्ण गन्तव्य रहेको ढोरपाटन क्षेत्रको इतिहास, भूगोल, धर्म, संस्कृति झल्किने खालका कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने नेपालीले बताए ।
यस्तै कोभिड १९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिने नीति नगरले बनाएको छ । सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिएका मेलाहरुले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास नगरको छ । पर्यटन प्रवद्र्धनसँग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्वपुर्ण स्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदलमार्ग निर्माण गरिने व्यवस्था नीति कार्यक्रममा उल्लेख छ ।
ढोरपाटन नगरपालिकामा पर्यटन क्षेत्रलाई रोजगारी एवं आय–आर्जनसँग जोड्न विभिन्न वडाहरुमा सञ्चालित होमस्टेहरुलाई व्यवस्थित बनाउँदै लगिने तथा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइने भनिएको छ ।
ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नं. ४ स्थित रिखुवा, महखोला झरना लगायतका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा संरक्षणमा जोड दिइने भनिएको छ । नगर क्षेत्रभित्रका विभिन्न पर्यटकीय स्थानमा पर्यटकीय पदमार्ग निर्माण गर्ने, सम्भाव्यता अध्ययन गरिने नगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->