बागलुङ, २२ असार– राष्ट्रिय युवा संघ बागलुङले जडिबुटीका विरुवा रोप्न सुरु गरेको छ । नेकपा एमाले निकट युवा संघले बागलुङका विभिन्न पार्क तथा सामुदायिक वनक्षेत्रमा जडीबुटीका बिरुवा लगाएको हो ।
‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ वृक्षारोपणको कार्यक्रम सुरुवात गरिएको युवा संघ बागलुङका संयोजक बुद्व बोहोराले बताए । वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य तथा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले दैविक प्रकोप र वातावरणीय सन्तुलनका लागि वृक्षारोपण महत्वपूर्ण काम भएको बताए ।
‘हामीले हाम्रो हावापानीलाई प्राकृतिक हिसाबमा राख्नका लागि पनि प्रकृति जोगाउन आवश्यक छ’, पौडेलले भने ‘विकासले निम्त्याएको विनासलाई रोक्न वन र वातावरण सुन्दर हुनुपर्छ ।’ युवाहरुले बाङ्गेचौरमा रहेको शहिद पार्क, मदन स्मृति पार्क लगायत आसपासका सामुदायिक वनक्षेत्रमा वृक्षारोपण गरेका हुन् ।
डिभिजन वन कार्यालय बागलुङको सहयोगमा प्राप्त हर्रो, बर्रो, अमला, कपुर लगायतका बिरुवा लगाईएको युवा संघ जिल्ला सचिव दिपेन्द्र रेग्मीले बताए । युवाहरुलाई रचनात्मक काममा सक्रिय बनाउन यस्ता कार्यक्रमहरुले सहयोग गर्ने रेग्मीको भनाई छ । कार्यक्रम बोहराको अध्यक्षता र सचिव दिपेन्द्र रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।





