
बागलुङ, २३ असार– सदरमुकाम बागलुङ बजार र राष्ट्रिय राजमार्गमा जोडिने बागलुङमा मुख्य २ सडक छन् । सडक निर्माण भएदेखि नै हरेक वर्षको बर्षामा ती सडकमा पहिरोको समस्या आउँछ ।
मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ खण्ड र कालीगण्डकी करिडोर तथा बागलुङ–कुश्मीशेरा सडक सोमबार रातिदेखि पहिरोका कारण अवरुद्ध छन् । लोकमार्गको बागलुङ नगरपालिका ३ बोक्सेमा पहिरो खसेको छ । यो सडक राजमार्गलाई नेपाल सरकारले गौरवको योजना भनेको छ । तर सडकमा सधैं समस्या आउँदा यात्रुले सास्ती खेप्ने गरेको सवारीचालक गोविन्द शर्माले बताए ।
बोक्सेमा पहिरो नियन्त्रण गर्न प्रयास भएपनि मुलको पानी र बर्षाको पानीले रातो माटो बगाउँदा समस्या हुने गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । ‘त्यहाँ समस्या भैरहन्छ, हाम्रो मेसिनहरु तयारी अवस्थामा छन्,’ कार्कीले भने, ‘बेला बेलामा खसिरहने पहिरोले अवरुद्ध हुने र खुल्ने भैरहन्छ ।’
बागलुङ बजारदेखि खहरे निस्किने गरी बोक्सेको पहिरो छल्न बनाइएको वैकल्पिक सडकमा सोही पहिरोले अबरुद्ध गर्ने गरेको स्थानीय बनताउँछन् । यो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका ७ वटा स्थानीय तहमा सडक सञ्जाल टुट्ने गरेको छ ।
कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध गर्नेगरी बागलुङ नगरपालिका १० भकुण्डेको एक्लेसालमा ठूलो पहिरो खसेको छ । बोक्से र एक्लेसालको पहिरो नयाँ भने होइनन् । मध्यमखालको बर्षा हुँदामात्रै दुवै ठाउँमा पहिरोले सडक अवरुद्ध हुने गरेका छन् । ‘पानी प¥यो कि बाटो पाइँदैन, बन्द भयो होला भन्ने पहिलै भन्न सकिन्छ,’ सवारी चालक लोकप्रसाद शर्माले भने, ‘४ वर्षदेखि गाडी चलाइरहेको छु, सधैं बर्खामा सास्ती हुन्छ ।’
सडकले नै जमिन कमजोर बनाएका कारण पहिरोको समस्या आइरहने गरेको प्रजिअ कार्की बताउँछन् । ‘तत्काल दीगो व्यवस्थापन गर्न सकिने देखिँदैन, ठूलै प्रोजेक्ट चाहिन्छ,’ कार्कीले भने, ‘ठूलो भूभागमा ग्वाविन जाली नलगाएसम्म यो सडकको दीगो समाधान हुँदैन ।’ जिल्लाको दक्षिण जोड्ने दुबै सडक अवरुद्ध हुँदा जैमिनी, बागलुङ नगरपालिका र बरेङ गाउँपालिका क्षेत्रका सर्वसाधारण प्रभावित हुने गरेका छन् ।
‘२६ वर्ष भयो बाटो बनाउन थालेको, कहिल्यै ठिक छ भन्ने दिन आएन,’ बलेवाका स्थानीय नन्दप्रसाद घिमिरेले भने, ‘बिरामी पर्दा अस्पताल पुग्न, आपतकालमा बाटो रोकिँदा समस्या हुने ।’ लोकमार्गको बोक्से खण्डमा कालोपत्रेको काम थालेको ५ वर्ष भयो । तर, निर्माण कम्पनीले म्याद थप्ने र सरोकारवालाको कम चासोका कारण हरेक वर्ष समस्या दोहोरीने सर्वसाधारणको गुनासो छ । कालोपत्रे भइसकेको बागलुङ कुश्मीशेरा सडकमा आएको पहिरोको दिगो उपाय हिउँदको समय नखोज्दा समस्या कायम रहेको घिमिरेले गुनासो गरे ।





