बेनी, २३ असार– म्याग्दीको ग्रामीण क्षेत्रमा फेरि कोरोना संक्रमतिको संख्या बढ्न थालेको छ । बेनी नगरपालिका५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
समुदायमा कोरोनाका लक्षण भएका बिरामीको संख्या बढ्दै थान थालेपछि बेनी नगरपालिका स्वास्थ्य शाखाले परीक्षण गरेको थियो ।७५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ जना पुरुष र ५ जना महिलामा कोरोना पुष्टि भएको बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला गौतमले बताइन् । ‘सानो गाउँमा भेटिएको कोरोना संक्रमतिको संख्या धेरै हो । आवश्यक सर्तकता अपनाउन अनुरोध गरेका छौ,’ गौतमले भनिन् ।
उनले कोरोना पुष्टि भएकालाई घरमा सुरक्षित बस्न अनुरोध गरिएको छ ।एन्टिजेन परीक्षणमा पोजेटिभ आएका मध्ये २० जनाको स्वाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइने बताइन् । कोरोना पुष्टि भएकालाई जनस्वास्थ्यको मापदण्ड पालना गरी घरमै बस्न अनुरोध गरिएको छ ।
टोल सुधार समितिका संयोजक अर्जुन भण्डारी र क्लवका सल्लाहकार प्रेम क्षेत्रीले बिरामीलाई नियमित स्वास्थ्य परीक्षण तथा आवश्यकतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । डडुवाको छिमेकी मंगला गाउँपालिका१ कुहुँमा समेत कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि १० दिनका लागि वडा सिल गरिएको छ ।
त्यस्तै मंगलबार नै रघुगंगा गाँउपालिकामा ३ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । जिल्लाको ग्रामिण क्षेत्रमा धमाधम कोरोना संक्रमित भेटिन थालेको उनले बताए ।
कोरोना संक्रमणको जोखिम मानिएका क्षेत्रहरुमा समेत लापरवाही बढेको, लक्षण देखिएकाहरु समेत परीक्षणका लागि आउन आनाकानी गर्ने गरेकाले संक्रमणको दर पुनः उकालो लागेको लम्सालको भनाइछ । योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार ५६० जना पुगेको छ । मंगलबार नै ४२ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् । जिल्लामा १७२ जना सक्रिय संक्रमित छन् । जिल्ला कोभिड व्यवस्थापन समितिले असार २३ गतेसम्म केही क्षेत्र खुकुलो बनाउने गरी लकडाउन गरेको छ ।
क्याप्सन
म्याग्दीको बेनी नगरपालिका५,डडुवामा मंगलबार गरिएको एन्टिजेन परीक्षणमा सहभागी स्थानीय । तस्वीर सौजन्य ः प्रेम क्षत्री





