बागलुङ, २५ असार– नेपाल टेलिकमले वितरण गरेको ल्यान्डलाइन फोन, इनटरनेट र मोबाइल फोनमा बेलाबेलामा समस्या आउँछ । सञ्चार सेवा अवरुद्ध हुँदा साविक धौलागिरिका चार जिल्लाका सर्वसाधारण प्रभावित हुने गरेका छन् ।
वर्षा, हावाहुरी, आगलागीजस्ता प्रकोप र विकास निर्माणका कामले गर्दा समेत टेलिकम प्रभावित हुने गरेको हो । पछिल्लो पटक नेपाल टेलिकमले प्रयोगमा ल्याएको फाइबर तारका कारण पहिलेभन्दा धेरै समस्या आउने गरेको छ । काठमाडौंदेखि हेटौंडा, भैरहवा र बुटवल, पोखराहुँदै बागलुङ ल्याइएको फाइबरमा बेला बेलामा चुडिँन्छ ।
तामाको तार हटाएर फाइबर प्रयोगमा ल्याएको टेलिकमले उच्च गतिको इनटरनेट र भ्वाइस डाटा दिएको छ । तर, लामो दूरीमा फैलिएको तार कुनै एक ठाउँमा टुट्दा त्यसअघिका सबै ग्राहक प्रभावित हुने गर्छन् ।
पहिरोले फाइबरको तार चुडिँदा साविकको धौलागिरि अञ्चलका ४ जिल्लामा बिहीबार बिहानैदेखि सञ्चार सेवा अवरुद्ध छ । टेलिकमले पोखरादेखि बागलुङ ल्याएको फाइबरको तार पर्वतको कुश्मा नगरपालिका–७ चुवामा पहिरोले चुँडाइदिएको हो ।
बिहीबार बिहानैदेखि तार मर्मतको काम भएपनि दिउँसो मात्रै तार जोड्ने काम सकिएको थियो । चुवामा तार जोडेको केही सयमै कुश्मा नगरपालिका–२ अर्मादीमा गएको पहिरोले तार चुँडिएको टेलिकम बागलुङका प्रमुख इन्जिनियर केशव शर्माले बताए ।
तार चुडिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चारसेवा अवरुद्ध छ । ‘फाइबरबाट फोन, इन्टरनेट र टिभीसमेत चल्ने हो, एउटै तार भएकाले चुडिँदा सबै अवरुद्ध हुन्छ,’ शर्माले भने ‘बाढी मिसिएको पहिरो बगिरहेकाले तत्काल मर्मत गर्न सकिएको छैन ।’
नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनसँगै नेपाल टेलिकमको फाइइबर तार विस्तार गरिएको छ । विद्युतको पोलमा पल्टिँदा वा आगलागी हुँदा र रुख विरुवा कटानको काम चल्ने बेलामा समेत तार चुडिँने गरेको छ । पहिरो खसेको ठाउँमा टेलिकमले प्राविधिकहरु पठाईसेको जनाएको छ । बर्षा भइरहेकाले तत्काल मर्मत असम्भव रहेको शर्माले बताए ।
इन्टरनेट र टेलिफोन सेवा नचलेका कारण बिहीबार विहानको समयमा मात्रै खुल्ने बैंक तथा बित्तिय संस्थाहरु प्रभावित भए । असार मसान्तको बेला भएकाले भुक्तानीका काम रोकिँदा सरकारी कार्यालयहरुमा समेत समस्या भएको छ । निजि कम्पनीका इन्टरनेट सेवा प्रदायकको इन्टरनेट समेत चलेको छैन । एनसेलको मोबाइल र डाटाले भने काम गरिरहेको छ । ‘लामो दूरीमा तार ल्याइएको छ, ठाउँ ठाउँमा समस्या आइरहन्छन्,’ शर्मा भन्छन् ‘चुँडिएको तार एउटा बिन्दुबाट अर्को विन्दुसम्म पूरै तार फेर्नु पर्छ, अन्यथा चुहावटको समस्या धेरै हुन्छ ।’





