बागलुङ, २५ असार– जिल्ला प्रशासन कार्यालय बागलुङले खुकुलो बनाउँदै १० दिनकालागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयको आधारमा असार २५ देखि साउन ४ गतेसम्म निषेधाज्ञा अवधि बढाउने आदेश जारी गरेका हुन् ।
निषेधाज्ञा खुकुलो भएसंगै शुक्रवारदेखि निजी तथा सार्वजनिक सवारीसाधन जिल्ला भित्र सञ्चालनमा ल्याउन दिईएको छ । फलफुल, तरकारी, खाद्यान्न लगायतका पसल बिहान दश बजेसम्म र अन्य व्यवसायिक पसलहरु बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि बिहान १२ बजेसम्म बजार खुल्थ्यो ।
यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन । होटल तथा रेष्टुँराहरुकालागि बेलुका ७ बजेसम्म अनलाईन र होमडेलिभरी गर्न पाउने व्यवस्था गरिएको छ । बिद्यालय र कलेज तथा शैक्षिक संस्थाहरु पूर्ण बन्द हुनेछन् । मठ मन्दिर तथा धार्मिक स्थलमा नित्यपूजा गर्न भने छुट दिइएको छ । सार्वजनिक यातायात चलेपनि सार्वजनिक कार्यक्रम गर्न भने पूर्ण निशेष गरिएको छ ।
जिल्ला सदरमुकाममा रहेका सरकारी कर्यालयहरु र बुर्तिबाङमा रहेका इलाका प्रशासन तथा मालपोत कार्यालयले स्थानीय तहअनुसार प्रशासनले बनाएको तालिका अनुसार सेवा प्रदान गर्ने भएका छन् ।





