बागलुङ, २५ असार– छिमेकी पर्वतको कुश्मा र बागलुङ दैनिक धेरै कर्मचारी आउजाउ गर्छन् । धेरै कर्मचारी पर्वतबाट बागलुङ आउनुपर्नेहरु छन् । बागलुङबाट कुश्मा जानेपनि केही छन् । काम बिशेषले दुई जिल्ला आउजाउ गर्नेहरु झनै धेरै छन् ।
तर मंगलबारदेखि नै कर्मचारी आउजाउ गर्न पाएका छैनन् । सहश्रधारा, अर्मादीसहित १३ किमी सडक खण्डमा दर्जन पहिरो खसेर कार्यालय जान समेत नपाएको उनीहरुले गुनासो गरे । असार मसान्तमा कार्यालयमा चाप बढी छ । तर यही समयमा उनीहरु आउजाउ गर्न पाएका छैनन् ।
‘दुइ घण्टासम्म पार गर्न खोजियो, पैदल जान पनि सकिएन’ कुश्मास्थित सरकारी कार्यालयका कर्मचारी कृष्णराज गौतमले भने, ‘काम धेरै थियो, सडक खुल्ने छाँटकाँट नदेखेपछि फर्कन बाध्य भयौं ।’ फोन र इन्टरनेट समेत नभएपछि जानकारी दिन नपाएको उनले गुनासो गरे । बुधबार रातीदेखिनै इन्टरनेट र टेलिफोन अबरुद्ध भएपछि बागलु, पर्वत र म्याग्दीतर्फ सम्पर्क बिच्छेद भएको छ ।
यो समस्या काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा पनि परेको छ । काठेखोलाका अधिकांस कर्मचारी र जनप्रतिनिधि समेत सदरमुकामबाट जानेआउने गर्छन् । मध्यपहाडी लोकमार्गको बोक्सेमा पनि सडक अबरुद्ध भएपछि जनताको काम प्रभावित भएको छ । ‘आउजाउ गर्दा पहिरोले जोखिम बढेपछि गाडी हिँडाउन सकिएको छैन’ गाउँपालिका अध्यक्ष अमर थापाले भने, ‘गाडी राखेर पैदल यात्रा गरिएको छ ।’ पैदलयात्रा समेत जोखिमको भएको उनले गुनासो गरे ।
काठेखोलाको गाउँपालिका केन्द्रदेखि रेश र लेखानी जाने सडक सातादेखि अबरुद्ध छ । लोकमार्गको बिहुँ खण्डमा पनि दैनिक दर्जनौं पहिरो खसेर घण्टौं जाम हुने अबस्था छ । ‘गलकोट बाट आउँदै थियौं, पहिरोले सडक पार गर्न नसकेपछि घोडाबाँधेमा गएर बास बसियो’ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘भोलीपल्ट एकतर्फी सडक खुलेपछि मात्रै बागलुङ फर्कन सकियो ।’
अत्यावस्यक काम परेर गलकोट, बुर्तिवाङतर्फ यात्रा गर्नेले पनि सास्ती खेपीरहेका छन् । मुख्य सडक खुलाउन आयोजनाको चासो कम हुने गरेको छ । बागलुङ बजारदेखि कुश्मीसेरा जाने दुइवटै सडक अबरुद्ध छन् । गत बर्ष गलुवाबाट भकुण्डे जानेगरी खनिएको ग्रामीण सडकको पहिरोले कालीगण्डकी करिडोर र कुश्मीसेरा सडक भत्केको छ । यो सडक बनेर सामान्य बन्न एकमहिना बढी लाग्ने यात्रीले बताए ।
यी पहिरोहरुको बिकल्पबारे अहिलेसम्म तालुक आयोजनाले सोच बनाएका छैनन् । यात्रीले सधैं सास्ती खेप्ने गरेको पर्वतको सहश्रधारा र बागलुङको बोक्सेको बिकल्प चाहिने स्थानीयको चासो छ । ‘बैकल्पिक बाटो भएन भने बर्षात्मा मात्रै हैन, हिउँदमा पनि जनताले दुःख पाउँछन्’ थापाले भने, ‘पहिरो नचल्ने गरी बिकल्पको बाटो नभई भएन ।’ सहश्रधारा र बोक्सेमा पहिरो कोतरेर सडक बनाउने पद्दतीको बिकल्पमा पुल वा बाढी पहिरो सजिलै तर्कने प्रविधि बनाउनुपर्ने उनले सुझाव दिए । दैनिक एम्बुलेन्स, दूध तथा पानीजन्य पदार्थको ढुवानी, दमकल, नियमित कर्मचारी आउजाउ गर्ने सडकहरु अबरुद्ध हुँदा धेरै दुर्घटना समेत भएको टिप्पणी बढेको छ ।
मध्यपहाडी लोकमार्गअन्र्तगत भारत सिद्धिशाही संयुक्त निर्माण कम्पनीका आयोजना व्यवस्थापक शिव लामिछानेले भने, ‘केही स्वार्थ बाझिएका र नियतबस बाटोमा पानी लगाइदिनेले सधैको सास्ती भएको देखिन्छ ।’ बागलुङको मुलपानीतर्फको पानी खोल्सामा तर्काउनु पर्नेमा बोक्से गैह्रामा तर्काइदिंदा पहिरो र जोखिम बढेको उनले टिप्पणी गरे ।
पानीको निकासभन्दा जथाभावी पानी तर्काउनेले ४ सय मीटर खण्डको सिंगो पहाडै खस्ने खतरामा पुगेको उनले बताए । उक्त खण्डमा सडक ढलान गर्ने योजन बनाएको तर मध्यपहाडी लोकमार्ग आयोजनाले स्टिमेट परिवर्तन नगरिदिएको उनले टिप्पणी गरे । ‘यो खण्डमा कालोपत्रे गर्ने भन्ने संभव छैन, दैनिक हिलो र पहिरो खस्ने स्थानमा ढलान आवस्यक हुन्छ’ उनले भने, ‘सडक डिभिजन वा आयोजनाले बिकल्पबारे सोच्नुपर्छ ।’ आयोजनाका इन्जिनियर उज्वल शर्माले भने तत्काल बिकल्पबारे केही सोच नभएको बताए ।





