बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मौसम आलुको, आलुकै भरमा गुजारा

मौसम आलुको, आलुकै भरमा गुजारा

बागलुङमा झण्डै पाँच हजार किसानले आलुको उत्पादन गर्छन् । तीमध्ये व्यवसायिक रुपमा आलुको उत्पादन गर्ने किसान ताराखोलामा छन् ।


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७८, शुक्रबार
फाईल तस्विर

बागलुङ, २५ असार– बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानका लागि भ्याइनभ्याई छ । बारीमा लगाएको आलु उकेरेर कोदो बाली लगाउन किसान दिनभर बारीमा भेटिन्छन् । बागलुङको तारराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ ।
हिउँदमा लगाएर बर्षाको समयमा उकेर्ने ताराखोलाको आलु बजारमा चर्चित छ । उच्च पहाडी भू–भागमा फलेको आलु स्वादिलो हुने भएकाले बजारमा माग राम्रो रहेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउँछन् । ‘लामो समय माटोमुनि रहेको आलु चिसोले बिग्रिँदैन,’ उनले भने ‘कार्बोहाईडेड संकलन शक्ति बढी हुने भएकाले चिसो ठाउँको आलु मिठो हुने हो ।’
बागलुङमा झण्डै पाँच हजार किसानले आलुको उत्पादन गर्छन् । तीमध्ये व्यवसायिक रुपमा आलुको उत्पादन गर्ने किसान ताराखोलामा छन् । ताराखोलाका किसानले फलाएको आलु बजारमा मुल्य राम्रो पाउने र खानाका लागि समेत स्वादिष्ट भएकाले त्यहाँका केही किसानले आलुकै भरमा घरगुजारा चलाएका छन् ।
रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बिउमात्रै लगाउने भएकाले ताराखोलाको आलु धेरैले खोज्ने गरेको ताराखोला गाउँपालिका वडा नं. ५ हिलेका किसान दमन रोकाको बुझाई छ । ‘घरायसी मल र छापो गाँडेर आलु लगाईन्छ’ रोकाले भने ‘स्थानीय जातकै बिउँ लगाईन्छ, विकासी बिउँको प्रयोग भएको छैन ।’
‘आलु मिठो ताराखोलाको’ ताराखोलाकै स्थानीय गायिका खिमा रोकामगर र गलकोटे सर्जक बसन्त थापाले गाएको लोकगीतको थेगोले भनेको जस्तै ताराखोलाको आलु स्वादिलो हुने भएकाले यहाँका किसानले आलुको उत्पादन व्यवसायीक रुपमा गर्दै आएका छन् । स्थानीय उत्पादनको प्रबद्र्धन, बजारीकरण र किसानलाई व्यवसायीक बनाउनका लागि ताराखोला गाउँपालिकाले योजना नै बनाएर लागेको छ ।
ताराखोला गाउँपालिकाले व्यवसायिक कृषिको उत्पादन बढाउने, बजारीकरण गर्ने र किसानलाई धनी बनाउने अभियानमा ५० प्रतिशत अनुदानको कार्यक्रम संचालन गरेको छ । जसका कारण किसान थप उत्साहित भएका छन् । चालु बर्षको बजेट कार्यान्वयन र आगामी बर्षको योजनासमेत उक्त लगानी र अनुदानको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->