बेनी, २६ असार– नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न महासंघले म्याग्दीका सबै स्थानीय तहहरुलाई प्रस्ताव गरेको थियो । म्याग्दीका ६ वटा स्थानीय तहहरुले ३ लाख ६० हजार मूल्य बराबरका सामग्री खरिद गरेर उपलब्ध गराएका छन् ।
नागरिकले आफ्ना गुनासा, समस्या मिडिया सेन्टरको सहजिकरणमा पत्रकार र सञ्चारमाध्यमबाट सार्वजनिक गर्न, सरोकारवालाहरुलाई पत्रकार तथा सञ्चारकर्मीसँग समन्वय गर्न महासंघको बेनी बालमन्दिरचोकमा रहेको कार्यालयमा प्रबिधियुक्त मिडिया सेन्टर सञ्चालन गर्न लागिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताए । आपतकालिन अवस्थामा सञ्चारकर्मी तथा पत्रकारहरुलाई समाचार सम्प्रेषण गर्न सहयोग पुग्नेछ ।
बेनी नगरपालिकाले खरिद गरेका एक लाख मूल्य बराबरका सामग्री शुक्रबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शाखा सचिव सन्तोष गौतम र कार्यसमिति सदस्य जेनिसा पुरीलाई हस्तान्तरण गरे ।
महासंघको भवन निर्माणका लागि ४ आना जग्गा भाडामा दिएको नगरपालिकाले मिडिया सेन्टर स्थापना गर्न एक थान इन्भटर, एक थान ब्याट्री, इन्टरनेट र टेलिफोन जडानका साथै फर्निचर सम्बन्धी सामग्री उपलब्ध गराएको हो । रघुगंगा गाउँपालिकाले रु. असी हजार मूल्य बराबरको एक सेट ब्रान्डेड कम्प्युटर, मंगला गाउँपालिकाले ६० हजार रुपैयाँ बराबरको सोफा सेट लगायत फर्निचर, अन्नपूर्ण गाउँपालिकाले ५० हजार रुपैयाँ बराबरको एक वटा प्रिन्टर र एक वटा कुर्ची, धवलागिरि गाउँपालिकाले ४० हजार बराबरको एक थान कुर्ची र एक थान टेबल, मालिका गाउँपालिकाले ३० हजार बराबरको एक थान दराज उपलब्ध गराएको छ ।
शाखा अध्यक्ष पौडेलले सहयोगीहरुप्रति धन्यवाद ब्यक्त गरे ।कोरोनाको जोखिममा समाचार संकलनमा खटिएका पत्रकारहरुका लागि मास्क, स्यानीटाइजर लगायत स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरेको शाखाले गत महिना प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले आपतकालिन कोष स्थापना गरेको थियो ।
शाखाका पदाधिकारी, सदस्य र सल्लाहकारहरुबाट कोषमा एक लाख रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएको आपतकालिन कोषको रकम बढाउँदै लैजाने र ब्याजबाट आवश्यकताका आधारमा कार्यविधिअनुसार पत्रकारहरुलाई सहयोग गर्ने कोषाध्यक्ष अमित विश्वकर्माले बताए । शाखाले नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माणका लागि स्रोत जुटाउन र प्राविधिक काम अघि बढाएको उपाध्यक्ष हरिकृष्ण गौतमले बताए । महासंघले तीनबर्षे कार्यकालमा संस्थागत विकासलाई उच्च प्राथमिकता दिएको उपाध्यक्ष गौतमको भनाई छ ।





