
बागलुङ, २७ असार– उमेरले ७५ बर्ष काटे । छोरानातीले दिएको खाने, आराम गर्ने उमेर हो । तर कर्णबहादुर बुढामगरका कोही आफन्त छैनन् ।
आफन्त मात्र हैन, खेतबारी पनि छैन । कमाइ गर्ने कुनै पेशा व्यवसाय छैन । घरको छाना चुहिंदा छाइदिने मानिस समेत पाउन सकेका छैनन् । निसीखोला–६ का ७५ बर्षिय बुढामगरले ७ बर्षदेखि एक्लो जीवन कटाइरहेका छन् । ७ बर्षअघि पत्नि नौमतालाई बोक्सी आरोपमा छिमेकीले हत्या गरेका थिए । त्यसपछि उनी एक्लिएका छन् । ढुंगाले हानेर हत्या गरेकाहरु फरार छन् । अहिलेसम्म प्रहरीले खोजी समेत नगरेको उनले बताए ।
एक्लिएका बुढामगरले नाम्लो बुनेर दैनिकी चलाएका छन् । गाउँघरमा नाम्लो बेचेर कमाएको पैसा र सामाजिक सुरक्षा भत्ताबाट पाएको पैसाले दैनिकी चलेको उनले बताए । ‘कहिले खान्छु, कहिले भोकै बस्छु, एक्लै भएपछि खान पनि मन लाग्दैन’ उनले भने, ‘बुढीलाई मारिदिए, मार्नेले कारवाही पनि पाएनन् ।’ दैनिकी चलाउन उनले कष्ट भएको गुनासो गरेका छन् । ‘खरको छाना चुहिएको छ, आँफू केही गर्न सक्दिन, बनाइदिने पनि कोही छैन ।’ उनका छिमेकीले तीन बर्षअघि घर छाएपछि फेरी चुहिने भैसकेको हो ।
उनको घरमा खाने अन्न पनि छैन । नजिकमा बजार छैन । नजिकको बजार पुग्न बुर्तिवाङ झर्नुपर्छ । जिप चढेर गए ३ सय रुपैयाँ भाडा तिर्नुपर्छ । निशेधाज्ञाको बेला गाडी समेत पाइदैन । त्यसैले उनले नाम्लो बुनिदिएका घरबाट मकै संकलन गर्छन् । घट्टमा लगेर पिसेपछि आँटो बनाएर खाने गरेको उनले बताए । ‘पानीसँग जति निलिन्छ त्यसैले बाँच्ने हो’ उनले भने, ‘मर्न पनि सकिएन, बाँच्न गाह्रो छ ।’ उनको छाप्रोमा कोही नआउने भएपछि बिरामी पर्दा औषधी खुवाइदिने समेत हुँदैनन् । सक्ने बेलामा जडिबुटी राखेर बिरामी पर्दा खाने गरेको उनले बताए ।
उनको समस्या देखेर ग्रामीण स्वास्थ्य सुधार परियोजनाले राहत दिएको सामाजिक परिचालक ज्ञानकुमारी बुढाले बताइन् । ‘कहिलेकाहीँ युवाहरुले खाद्यान्न संकलन गरेर दिने गरेका छौं, कहिले आँफै किनेर पनि ल्याउनु हुन्छ’ उनले भनिन्, ‘सामाजिक सुरक्षा भत्ताबाट आएको पैसाले मात्रै उहाँको दैनिकी चलेको हो ।’
बुढाका छोराछोरी समेत छैनन् । आफन्त पर्नेहरु पनि बसाइ सरेर अन्यत्रै गएकोले चासो दिएर सहयोग गर्ने कोही नभएका हुन् । यहाँको समाजमा एकआपसमा सहयोग गर्ने चलन छैन । गाउँभरी शैक्षिक, सामाजिक र आर्थिक चेतनाको अभाव भएको वडा अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।





