बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खुंगाको धिरीमा बर्थिङ सेन्टर

खुंगाको धिरीमा बर्थिङ सेन्टर


  • ढोरपाटन संवाददाता
  • असार २९ २०७८, मंगलबार

बागलुङ, २९ असार– ढोरपाटन नगरपालिका ४ को धिरीमा सामूदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । प्रसूती व्यथा लागेपछि डोकोमा बोकिएर बुर्तिबाङ झर्नुपर्ने बाध्यता बर्थिङ सेन्टर स्थापनाले हटाइदिएको छ । यो गाउँ भौगोलिक र पहुँचको आधारमा अत्याधिक दुर्गममा पर्छ ।
भौगोलिक रुपमा कठिन भएकोले धिरी, फलामखानी लगायतका गाउँबाट मानिसहरु सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि ४ घण्टा पैदल यात्रा गर्नुपथ्र्यो । वडाभित्रको स्वास्थ्य चौकी खुंगाको छोरेगाउँमा छ । उक्त स्थानमा पुग्नु र बुर्तिबाङ पुग्नु समान दूरीको रहेकोले धेरैले स्वास्थ्य चौकीको सेवा लिन सकेका थिएनन् ।
यो इकाइ स्थापनापछि सुत्केरी हुने महिला, गर्भ जाँच, अन्य बिरामीको प्राथमिक उपचारसमेत यही हुन थालेको इकाइकी प्रमुख हिरा गैरेले बताइन् । ‘एक वर्षपनि भएको छैन, यहाँबाट सेवा लिनेहरु सयौं पुगिसकेका छन्,’ गैरेले भनिन्, ‘समयमा स्वासथ्य संस्थामा आएपछि मातृ तथा शिशु मृत्युदर पनि घटाउन सकिने भयो ।’
जिल्ला समन्वय समितिले बनाएको सामूदायिक भवनलाई इकाई बनाएर स्वास्थ्य कार्यालय बागलुङले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो । ‘गाउँमै स्वास्थ्य संस्था खुलेकोले नियमित गर्भ परीक्षण र सुत्केरी हुन पाएँ, खर्चपनि जोगियो, ज्यान पनि सुरक्षित भयो,’ स्थानीय प्रमिला गोतामेले भनिन्, ‘बुर्तिबाङमा पुगेर डेरा बस्ने अवस्था थिएन, घरमै सुत्केरी हुँदा जेसुकै जोखिम हुन सक्थ्यो ।’
आमा र बच्चालाई राम्रो हुने गरी बर्थिङ सेन्टरमा फेयरमेड फाउन्डेसन र बिवाइसी बागलुङले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाले यहाँ सुत्केरी गराउने बेड, अत्यावश्यक उपकरण र औषधीसमेतको व्यवस्थापन गरिदिएको छ । ‘घरमा सुत्केरी हुँदा बच्चालाई नुहाउने चलन थियो, यहाँ आएपछि त्यस्तो गर्न हुँदैन भन्नेपनि जानियो,’ गोतामेले भनिन्, ‘शिशुलाई न्यानो पार्ने तरिकाबारे पनि जान्न पायौं ।’
परियोजनामार्फत तमानखोला गाउँपालिकाको नर्जाखानी स्वास्थ्य इकाइमा पनि बर्थिङ सेन्टरमा आवश्यक सामग्री र सुत्केरी बेड सहयोग भएको छ । सरकारी तहबाट भवन बनाएर छाडेपनि उपकरण नहुँदा कतिपय स्वास्थ्य संस्थाले सुत्केरी गराउन सकेका थिएनन् । ‘उपकरण अभावमा जोखिम हुने भएपछि बुर्तिबाङ पठाउनुपथ्र्यो, अहिले यही गराउन सकिन्छ भन्ने विश्वास पलायो,’ अनमी नरिता बुढाले भनिन्, ‘स्वास्थ्यकर्मीमा विश्वास बढाउने काम पनि भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->