बागलुङ, १ साउन– गलकोट नगरपालिकाभित्रका ४ वटा बजार क्षेत्र ढलान भएका छन् । बर्षातमा हिलाम्मे, हिउँदमा धुलाम्मे भएर बजारको सौन्दर्य नराम्रो भएको थियो । नगरपालिका र स्थानीय उपभोक्ताको सहलगानीमा ती बजार सबै ढलान भएका हुन् ।
वडा नं २ को नरेठाँटी बजार, वडा नं. ३ को हटिया बजार, वडा नं. ५ को हरिचौर बजार र वडा नं. ८ को कांडेवास बजार ढलान गरिएको हो । नगरपालिकाले लागत मूल्यको ७० प्रतिशत र स्थानीयले ३० प्रतिशत लगानी गरेपछि ढलान संभव भएको हो । ‘हामीले श्रमदान गरेर भएपनि बजार आर्कषक बनाउने भन्ने चाहना राखियो, त्यसपछि नगरपालिकाले लगानी गरेको हो’ वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले भने, ‘अहिले बजारको आर्कषण नै छुट्टै भएको छ ।’ नरेठाँटी बजारो ढलान गर्न पहिलो बर्ष ३० लाख, गत बर्ष २५ र यो बर्ष १० समेत गरी ६५ लाख लगानी भएको हो ।
त्यस्तै वडा न.. ५ स्थित हरिचौरमा १ करोड बढी लगानी गरेर १ किमी सडक ढलान गरिएको छ । ‘अझै केही खण्ड बाँकी छ, उपभोक्ताले पनि कतिपय काम गरेका छन्’ वडा अध्यक्ष नारायणध्वज मल्लले भने, ‘ऐतिहासिक बजारमा हिलोले आउजाउ गर्नपनि गाह्रो थियो, पाहुनाले पनि नराम्रो मान्थे, अहिले राम्रो भयो ।’ बजार क्षेत्रमा कालोपत्रे गरेपनि नटिक्ने भएपछि ढलानको अवधारणा ल्याएको उनले बताए ।
हटिया बजारमा गत बैशाखदेखि नै काम थालेर असार मसान्तमा ढलान गरिएको छ । यहाँ पनि झण्डै १ किमी सडक ढलान गरिएको हो । नगरपालिकाको ७० लाख र स्थानीयको ३० लाख गरी १ करोड लगानी भएको वडा अध्यक्ष बिरजंग भण्डारीले बताए । ढलान गरिसकेपछि बजार क्षेत्रहरु आर्कषक भएका छन् ।
पुराना बजारको व्यवसायहरु घटेको, बसाई सराइ हुन थालेको लगायतको कारण देखेपछि नगरपालिकलो ढलान गरेर आर्कषण बनाउने योजना राखेको थियो । उक्त योजना अनुसारनै अहिले भने बजार क्षेत्रहरु राम्रो देखिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले ग्रामीण सडक खण्डमा पनि उकालो, हिलो र सहजै सवारी गुड्न नसक्ने अबस्थाका स्थानमा पनि ढलानको योजना बनाएको छ । सोही अनुसार कतिपय स्थानमा ढलान पनि भएका छन् ।
वडा न.. १ को दुदिलाभाटी, वडा नं. ७ को सप्ताहघाट लगायतका स्थानमा पनि छिटफुट ढलान गरिएको हो । वडा नं. ४ को कार्यालय पुग्ने स्थान भने कालोपत्रे नै भएको छ । नगर गौरवको योजनामा सूचिकृत वडा नं. ४ कार्यालयसम्म पुग्ने बाटो कालोपत्रे भएको छ । यो सडक बन्दा वडा कार्यालय मात्र नभइ खरुवा मावि र चमुवा सम्म जाने यात्रीलाई समेत सहज भएको छ ।
वडा नं. २ ले मध्यपहाडी लोकमार्गको काफलठूटादेखि झाक्रीस्थान जाने तर्फको सडकलाई बिकल्प दिन ग्रामीण सडकलाई ग्राभेल समेत गरेको छ । झण्डै ५ किमी लामो यो सडकको आधाबढी ग्राभेल भैसकेको हो । लोकमार्ग अबरुद्ध भएमा जिप तथा हलुका सवारीले यो सडक उपयोग गर्न थालिसकेका छन् ।





