बागलुङ, ३ साउन– अबैध गर्भधारण गरेर भ्रुण हत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी नगरपालिका–१० की २६ बर्षिया युवतीले चार महिनाको भ्रूर्ण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।
ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भूर्ण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटेपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए ।
‘शनिवार दिउँसो स्थानीयले देखेपछि बरेङ प्रहरी चौकीमा खवर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रुणराखेर गाडेको अबस्थामा थियो’ हवारीले भने ‘स्थानीयकै आशंकाका आधारमा हामिले उनलाई पक्राउ गरेका हौं ।’ ती महिलाका श्रीमान ३ बर्षदेखि रोजगारीको शिलशिलामा साउदी अरेवीयमा छन् ।
केही दिन देखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भ्रुण हत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिवार रातीनै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए । उनले कसको गर्भ पतन गराईन् भन्ने बिषयमा खुलेको छैन् ।





