बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

किसानको बालीमा बाँदर आतंक

किसानको बालीमा बाँदर आतंक


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७८, आइतबार

बागलुङ, ३ साउन– बितेका तीन वर्ष यता जिल्लाको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेटको व्यवस्था गरेको छ । जंगलबाट आउने बाँदरको बथानले किसानको बाली मास्ने गरेकाले नगरपालिकाले बाँदर नियन्त्रणका लागि हरेक वर्ष पाँच लाख रुपैयाँ खर्चिने गरेको हो ।
वडाहरुलाई दामासाहीले बाँडिने बजेटले बाँदको नियन्त्रणमा भने कुनै काम नभएको किसानको गुनासो छ । बाँदर धपाउनका लागि कार्बनको पाउडर प्रयोग गरिने बन्दुकको प्रयोग गर्दा समेत बाँदरले नटेरेको गुनासो किसानको छ । ठुलो समुहमा खेतबारी र घरगोठमा समेत प्रबेश गर्ने बाँदरले निकै दुख दिने गरेको जैमिनी नगरपालिका–४ सर्कुवाका अनिल शर्माले बताए । ‘खेती गरेर खान नसकिने भयो, बाँदरकै कारणले बाँझो राखेर बस्नुपरेको छ’ शर्माले भने ‘भान्छामा पकाएर राखेको खानाको भाँडोसमेत बाँदर हिडाउँछ ।’ बाँदर नियन्त्रणका लागि एक्लैले प्रयास गरेर नहुने उनले बताए ।
घरभित्रै पस्ने बाँदरले बालबालिकालाई पिट्ने, लत्ताकपडा च्यात्ने र भाग्ने गरेको शर्माले गुनासो गरे । ‘खाने कुरा भेटे खान्छ नभए कपडा च्यातेर हिँड्छ’ शर्माले भने ‘अलि कमजोर देख्यो भने बाँदरले पिट्नै थाल्छ ।’ जैमिनीमा कृषि उत्पादन राम्रो हुने फाँटहरुमा यस पटक लगाईएको मकैमा समेत बाँदरले धेरै क्षति पु¥याएको छ । ठुलो समुहमा धपाउन पुगे मात्रै बाँदर भाग्ने अन्यथा नटेर्ने जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका रबिन्द्र शर्माले बताए ।
किसानले खेतबारीको डिलमा मुकुण्डो बनाउने गरेका छन् । पहिले पहिले मुकुण्डो देखेर तर्सिने बाँदर हिजोआज त्यही मुकुण्डोमा चढेर किसानलाई गिज्याउने गरेको जैमिनी–७ का स्थानीय बद्रि ढुंगानाले बताए । ‘मुकुण्डो बनाएर लगाईदिएको टोपी निकालेर बाँदरले लगाउँछ, एक दुई जनाले धपाउँदा टेर्नै छोड्यो’ ढुंगाना भन्छन् ‘लगाएको खेती उम्रिँदादेखि पाक्ने बेलासम्म बाँदरकै राज हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->